मूल्यवृद्धि दर दुई वर्षयताकै न्यून बिन्दुमा ओर्लिएको राष्ट्र ब्यांकको दाबी
नेपाल राष्ट्र ब्यांकले उपभोक्ता मूल्यवृद्धि दर पछिल्लो दुई वर्षयताकै न्यून बिन्दुमा ओर्लिएको दाबी गरेको छ।
केन्द्रीय ब्यांकले बिहीबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै कात्तिकमा मूल्यवृद्धि दर ५.३८ प्रतिशतमा सीमित रहेको जनाएको छ। यो २५ महीनायताकै न्यून मूल्यवृद्धि दर हो।
२०७८ असोजमा मूल्यवृद्धि दर ४.२४ प्रतिशत थियो। त्यसपछि मूल्यवृद्धि दर उकालो चढ्न शुरू गरेर दुई वर्ष उच्च बिन्दुमा कायम थियो। गत असोजमा मूल्यवृद्धि दर ७.५ प्रतिशत थियो। गत आर्थिक वर्ष २०७९/८० मा मूल्यवृद्धि दर ७.७४ प्रतिशत थियो।
राष्ट्र ब्यांकका अनुसार खाद्य तथा पेयपदार्थ समूहको मूल्यवृद्धि दर ६.०१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ४.८९ प्रतिशत छ।
सरदरमा मूल्यवृद्धि दर घटे पनि कैयौं उपभोग्य वस्तु र सेवाको मूल्यवृद्धि दर उच्च नै छ। जस्तै- कात्तिकमा मरमसलाको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ३६.४६ प्रतिशत पुगेको छ।
त्यसैगरी, चिनी तथा चिनीजन्य वस्तुको मूल्य १४.५९ प्रतिशत, फलफूलको मूल्य १४.०१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको मूल्य १२.०२ प्रतिशत र दुग्ध पदार्थ तथा अन्डाको मूल्य ११ प्रतिशतले बढेको छ। औसत मूल्यवृद्धि दर निकाल्ने डालोमा यी वस्तुको भार कम भएका कारण सरदर मूल्यवृद्धि दर कम देखिन पुगेको हो।
कात्तिकमा घ्यू तथा तेल र तरकारीको वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि दर क्रमशः १४.२३ प्रतिशत र ५.३५ प्रतिशतले घटेको छ।
केन्द्रीय ब्यांकका अनुसार गैरखाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृतिको वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि दर १२.८४ प्रतिशतले बढेको छ। त्यसैगरी, विविध वस्तु तथा सेवाको मूल्य १०.७६ प्रतिशत, शिक्षाको मूल्य ८.९२ प्रतिशत, फर्निशिङ तथा घरायसी उपकरणको मूल्य ५.२७ प्रतिशत र कपडाजन्य तथा जुत्ताचप्पलको मूल्य ४.९६ प्रतिशतले बढेको छ। कात्तिकमा यातायातको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य भने १.८६ प्रतिशतले घटेको छ।
कात्तिकमा सबैभन्दा धेरै मूल्यवृद्धि दर हिमाली क्षेत्रको ८.७९ प्रतिशत रहेको राष्ट्र ब्यांकले जनाएको छ। काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६ प्रतिशत, तराईको मूल्यवृद्धि दर ४.४२ प्रतिशत, पहाडको मूल्यवृद्धि दर ६.०७ प्रतिशत छ।