प्रदर्शनअघि नै प्रशंसा बटुलिरहेको हजुरआमाको कथा
विदेशमा प्रशंसा बटुलेर घर फर्किएको ढोरपाटनका हजुरआमाहरूको कथा नो विन्टर होलिडेजले नेपाली दर्शकको प्रशंसा त पाएको छ नै, अवार्ड पनि जितेको छ।
जाडो याम शुरू भएपछि ढोरपाटन गाउँका बासिन्दा बेंसी झर्छन्। रतिमा विक र कालिमा विक भने गाउँमै बस्छन्।
फसफस हिउँ पर्छ। चिसो बढ्दै जान्छ। तैपनि उनीहरू गाउँको रखबारी गर्छन्। छुट्टीमा बस्दैनन्।
निर्देशकद्वय राजन कठेत र सुनिर पाण्डेले यिनै दुई महिलाको साहसिक कथा समेटेका छन्, नो विन्टर होलिडेजमा।
एकै श्रीमान्का यी दुई श्रीमती एकअर्कालाई रुचाउँदैनन्। हुन पनि दुवैको व्यक्तित्व नै भिन्न छ।
रतिमा खाइलाग्दो ज्यानकी छन्। उनको खुट्टाले खासै हिंड्न दिंदैन। कालिमा हलक्क परेको ज्यानकी छन्, अलि अलि नक्कली पनि। क्रिमस्रिम लगाउन मन पराउँछिन्।
कालिमालाई गाईवस्तु चराउँदै डुलेर हिंड्न मन पर्छ। चौकीदारको भूमिका पनि मजाले भ्याउँछिन्।
रतिमा भने त्यति छरिती छैनन्। आफ्नै लागि दाउरा बटुलेर ल्याउन पनि सक्दिनन्। रतिमाका छोराछोरी छैनन्। कालिमाका तीन छोरी छन्।
रतिमालाई जाँड खान, गीत गाउन र रमाइलो गर्न मन पर्छ। कालिमाका लागि भने गाईवस्तु र उनका छोरी नै संसार हुन्छ।
जति भिन्नता भए पनि दुवैमा एउटा समानता छ, उमेरमा। ७० वर्ष कटेका दुवैको जीवनमा बुढ्यौली र एक्लोपनलाई नजिकबाट नियाल्ने अवसर जुटाएका छन्, निर्देशकद्वयले।
७९ मिनेट लामो वृत्तचित्रको रङ र स्वरूप पनि त्यस्तै छ। जाडो याम यसै पनि उराठलाग्दो हुन्छ, वृत्तचित्रको कथावस्तु पनि हिउँदकै वेलाको भएर होला रङ पनि फिक्का खालको छ। बाँझो जमीन र नांगा रूखले पनि खालीपन नै महसूस गराउँछन्।
सेतो हिउँले ढकमक्क पारेका लोभ्यलाग्दा दृश्यले पनि मनलाई फुरुङ्ग पारिहाल्दैनन् हतास पनि बनाउँदैनन्।
निर्देशकद्वयले यस वृत्तचित्रलाई कथावस्तु र पात्रमा मात्र सीमित नगरी कलात्मक ढंगले प्रस्तुत गरेका छन्। सीमित संवादसँगै कथा पनि सुस्तरी अगाडि बढ्छ।
प्रायः बुढेसकाललाई दुःखपीडा भोग्ने वयका रूपमा हेर्ने गरिन्छ। यसले त्यो भाष्य बदल्छ, फरक ढंगले बुढ्यौलीलाई देखाउँछ।
हो, बुढ्यौलीमा एक्लोपन र खालीपन त हुन्छ नै तर रतिमा र कालिमालाई बिचराका रूपमा देखाइएको छैन। बुढेसकालमा पनि उमंगसँग उनीहरूले बाँचिरहेको जीवन कलात्मक ढंगले प्रस्तुत गरिएको छ। कसैको सहारा विना नै उनीहरूले बाँचिरहेको जीवन जस्ताको तस्तै अनभूत गर्न सकिन्छ।
सन् २०१८ देखि निर्माण थालिएको वृत्तचित्रलाई यो रूप दिन करीब पाँच वर्ष लागेको निर्देशकद्वय कठेत र पाण्डे सुनाउँछन्। एक वर्ष जति लेख्नमै खटिएका थिए। अर्को वर्ष ग्रीष्म, शरद् र शिशिर ऋतुमा अध्ययन तथा अनुसन्धानका लागि तीन पटक ढोरपाटन पुगेका थिए।
सन् २०१९ को अन्त्यतिरको जाडो याममा ७५ दिन लगाएर यो वृत्तचित्र खिचेको उनीहरू बताउँछन्। “फिल्म भनेको अभिव्यक्त गर्ने एउटा माध्यम न हो। कथा त छँदै छ तर यो कथा पाइसकेपछि हाम्रो भूमिका भनेकै सक्दो समय पात्रहरूसँग बिताएर जिम्मेवारीपूर्वक देखाउने थियो,” कठेत भन्छन्।
कथाशैली, विषयवस्तु र निर्माणलाई पनि सक्दो ध्यानमा राख्दा लामै समय लागेको अर्का निर्देशक पाण्डे बताउँछन्।
बेलायतको प्रतिष्ठित शेफिल्ड डकुमेन्ट्री फेस्टिभलमा यही वर्ष नो विन्टर होलिडेज पहिलो पटक प्रदर्शन गरिएको थियो। कोरिया, जापान, सर्बिया र भारतका चर्चित चलचित्र महोत्सवमा पनि प्रदर्शन भएको वृत्तचित्रले प्रशंसा पाएको थियो। हालै काजखस्तानको अल्टरनेटिभा फिल्म अवार्डस्मा ‘नेटिभा अवार्डस्’ जितेको थियो।
“विदेशका दर्शकबाट राम्रो प्रतिक्रिया पायौं,” पाण्डे सम्झन्छन्, “नेपाललाई विदेशीहरू प्रायः हिमाल र प्राकृतिक सौन्दर्यले चिन्ने गर्छन् तर हाम्रो वृत्तचित्रमा उनीहरूले नेपालको फरक पाटो देख्न पाएको भन्दै तारीफ गरेका थिए।”
विदेशको चक्कर लगाएर घर फर्किएको नो विन्टर होलिडेजले नेपालमा पनि प्रशंसा पाएको छ। काठमाडौंमा सम्पन्न नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘बेस्ट फिचर डकुमेन्ट्री’ को अवार्ड जितेको छ।
“विदेशमा जति राम्रो प्रतिक्रिया पाए पनि आफ्नै देशका दर्शकलाई चाहिं कस्तो लाग्ने हो भन्ने एक किसिमको डर थियो। यो पुरस्कार जित्दा आफनो कामले जस पाएको महसूस भएको छ,” निर्देशक कठेत हाँस्दै थप्छन्।
अहिलेसम्म चलचित्र महोत्सवमा प्रदर्शन भइरहेको नो विन्टर होलिडेज अब सिनेमाघरमा पनि हेर्न पाइने भएको छ। छिटै प्रदर्शनमा ल्याउने तयारी भइरहेको निर्देशक कठेत बताउँछन्।