पूर्व मन्त्री किराती विरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा
खोटाङमा सडक बन्द गराउनेका क्रममा पक्राउ परेका पूर्व मन्त्री गोपाल किराती सहित पाँच पहिचानवादी नेतालाई अभद्र व्यवहार सम्बन्धी मुद्दाको अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राखिने भएको छ।
नेकपा (एमाले)ले शुरू गरेको ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ लाई लक्ष्यित गर्दै मध्यपहाडी राजमार्ग बन्द गराएपछि किराती सहित पाँच जना मंसीर २६ गते पक्राउ परेका थिए। पक्राउ पर्नेमा जनता समाजवादी पार्टी, खोटाङका सचिवालय सदस्य राजेश राई, गन्धमान राई, नेपाल आदिवासी जनजाति महासंघ, खोटाङका सचिव उदिम चाम्लिङ र वाईसीएलका हलेसी तुवाचुङ नगर कमिटी इन्चार्ज विजय राई थिए।
उनीहरू विरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए। पहिचान पक्षधरले पाँचै जनालाई विना शर्त रिहाइको माग गरिरहेका वेला प्रहरीले थप पाँच दिन हिरासतमा राख्न अनुमति लिएको हो।
समृद्धिका लागि संकल्प यात्राका क्रममा एमालेले मंसीर २६ गते ओखलढुंगाको हर्कपुरमा जनासभा आयोजना गरेको थियो। प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले पनि सोही दिनदेखि अनिश्चितकालीन घुर्मी-लेगुवाघाट सडक बन्द आह्वान गरेको थियो। रूख ढालेर राजमार्गमा सवारी आवागमनमा अवरोध गरेको, सडकमा शंकास्पद वस्तु राखेर शान्ति सुरक्षालाई चुनौती दिएकाले पहिचान आन्दोलनका पाँच अभियन्तालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
पहिचान पक्षधर पार्टी तथा जातीय संगठन पुनर्नामांकन संयुक्त संघर्ष समितिमा संगठित भएर प्रदेशको नामांकनको विषयमा विमति राख्दै आन्दोलन गरिरहेका छन्। उनीहरूले कोशी नामकरणका पक्षमा हस्ताक्षर गर्ने ८२ सांसद र पहिचान विरुद्ध अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली, नेता योगेश भट्टराई र महेश बस्नेत लक्ष्यित विरोधका कार्यक्रम गरिरहेका छन्।
पक्राउ परेका पाँच जनाको रिहाइका लागि मंसीर २७ गते बसेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी), राप्रपा र नेपाल कम्युनिस्ट पार्टीको बैठकले विना शर्त रिहा गर्नुपर्ने सहमति गरेको थियो। प्रदेशका मुख्यमन्त्रीले पहिचान पक्षधरसँग संवाद, वार्ता र सहमतीय ढंगबाट प्रदेशको अन्योल, अस्थिरता, अराजकता र सरकारी दमन अन्त्य गर्न उनीहरूलाई रिहा गर्नुपर्ने कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले बताए।