खाणको मुद्दा न्यायाधीश कोइरालाको इजलासमा
पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि छोड्ने भन्ने टुंगो लगाउन आज पेशी तोकिएको छ।
मुद्दा उच्च अदालत, पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा पेशी तोकिएको छ। उनको इजलासमा आज एउटा मात्रै मुद्दा रहेको छ। यसअघि उनलाई छोड्ने कि नछोड्ने भन्नेमा न्यायाधीशको राय बाझिएको थियो।
मंसीर १५ गते भएको सुनुवाइमा उच्च अदालतका न्यायाधीश जनक पाण्डे र न्यायाधीश प्रकाश खरेलको राय बाझिएको हो। न्यायाधीश पाण्डेले खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने राय दिएका थिए।
अर्का न्यायाधीश खरेलले जिल्ला अदालत, काठमाडौंको आदेशलाई नै सदर गरेका थिए। दुई न्यायाधीशको राय बाझिएपछि आज तेस्रो न्यायाधीशको इजलासमा पेशी तोकिएको हो।
आज पेशी तोकिएका न्यायाधीश कोइरालाको इजलासले गर्ने आदेशका आधारमा खाणलाई पुर्पक्षका लागि थुनामा राख्ने कि छोड्ने भन्ने तय हुनेछ।
यसअघि काठमाडौं जिल्ला अदालतले खाणलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो। त्यस विरुद्ध उनी उच्च अदालत पुगेका हुन्।
नक्कली भूटानी शरणार्थी सम्बन्धी प्रकरणमा उच्च अदालतले पूर्व उपप्रधानमन्त्री रायमाझी सहित नौ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश सदर गरेको थियो। रायमाझीसँगै सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पा, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी र सञ्जय शर्मालाई थुनामा पठाउने आदेशलाई सदर गरेको हो।
त्यस्तै, भूटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो। भूटानी शरणार्थीको नेता भएर नेपालमा शरण लिइरहेको र भागेर अन्यत्र जाने अवस्था पनि नभएको जनाउँदै रिजाललाई थुनामा राख्न नपर्ने आदेश गरिएको थियो।
यसैगरी, पूर्व उपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीपलाई रु.३० लाख, हरिभक्त महर्जन र शरण केसीलाई रु.१५-१५ लाख, नरेश केसी र शमशेर मियाँलाई रु.१०-१० लाख र आशिष बुढाथोकीलाई रु.३० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। उच्च अदालतले टंककुमार गुरुङ, केशव तुलाधर र लक्ष्मी महर्जनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको थियो। पूर्व गृहमन्त्री खाणको विषयमा मात्रै राय बाझिएको थियो।