शेखर-गगन समूहका यस्ता छन् तीन निष्कर्ष
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहको बैठक आफ्नै पार्टी र सरकारको आलोचना गर्दै सकिएको छ।
काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फूडल्यान्डमा बुधबार बसेको बैठकमा कोइराला र थापा निकट नेताहरू सहभागी थिए। आजको बैठक कोइराला र थापाबीच देखिएको मतभिन्नता हटाउन सहयोगी बनेको जनाइएको छ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले आफू र थापाबीच कुनै मतभिन्नता नभएको जिकिर गरे। “मेरो र महामन्त्रीबीच कुनै मतभिन्नता छैन,” कोइरालाले भने, “अजेन्डामा महामन्त्री र मेरो कुनै मतभिन्नता छैन। उमेरले गर्दा काम गर्ने शैलीमा केही फरक भएको होला। अजेन्डामा फरक छैनौं।”
तीन घण्टा चलेको बैठकमा पार्टी र सरकारका विषयमा छलफल भएको कोइरालाले बताए। “नेपाली कांग्रेस ठीकसँग चलिरहेको छैन, देश पनि ठीक चलिरहेको छैन,” कोइरालाले भने।
आजको बैठकमा तीन वटा विषयमा छलफल भएको महामन्त्री थापाले बताए। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले भने, “पार्टी नेतृत्व एउटा समूहको संरक्षक जस्तो मात्रै भयो,” थापाले भने।
शेखर-गगन समूहको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा मापदण्ड बनाउनुपर्ने निष्कर्ष निकालेको छ। यसका लागि पहिले अवसर नपाएका, लामो समय पार्टीमा योगदान गरेका नेतालाई उम्मेदवार बनाउनुपर्ने महामन्त्री थापाले बताए।
त्यस्तै, राष्ट्रिय सभाका उम्मेदवारका लागि टिकट वितरण गर्दा न्यायपूर्ण हुनुपर्ने बैठकको निष्कर्ष छ। “आफ्नो पक्षका व्यक्तिलाई टिकट दिने, अरूलाई नदिने गर्नु हुँदैन, न्यायपूर्ण हुनुपर्छ,” महामन्त्री थापाले भने।
त्यस्तै, बैठकले निकालेको तेस्रो निष्कर्ष सुशासनका विषयमा छ। सरकारले सुशासन कायम गर्न नसकेको शेखर-गगन समूहको ठहर छ। “सुशासनका विषयमा छलफल गरेका छौं, हामी सरकारमा भएका वेला एकपछि अर्को काण्ड आइरहेका छन्,” महामन्त्री थापाले भने, “यो विषयमा दबाब सिर्जना गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छौं।”
मुख्य तीन विषय सँगसँगै कांग्रेस महासमितिको बैठक समयमै गर्नुपर्ने विषयमा पनि छलफल भएको छ। त्यस्तै, समसामयिक राजनीतिका विषयमा पनि प्रारम्भिक छलफल भएको थापाले बताए।