फर्जी कागज बनाएर विदेश पठाएको आरोपमा ३२ जना पक्राउ
फर्जी कागज बनाएर पर्यटक भिसामा विदेश पठाउने गरेको आरोपमा प्रहरीले दुई सरकारी कर्मचारी सहित ३२ जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारी सहित ३२ जनालाई पक्राउ गरेको हो। गत असोज १९ गतेदेखि अहिलेसम्म पर्यटक भिसामा विदेश पठाएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।
पक्राउ पर्नेमा नेपाल वायुसेवा निगममा कार्यरत अधिकृत अरविन्द यादव र अध्यागमन विभागमा कार्यरत अधिकृत नरवीर खड्का छन्। उनीहरूले फर्जी कागजात बनाएर पर्यटक भिसामा विदेश पठाउने गिरोहसँग मिलेर आर्थिक लाभ लिने गरेको पाइएको प्रहरीको भनाइ छ।
यस्तै आरोपमा यसअघि नेपाल वायुसेवा निगममा कार्यरत अधिकृत होमनाथ पोखरेल पक्राउ परेका थिए। “त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले संकलन गरेर पठाएका एक हजार ३२ वटा भिसा सहितका कागजातबाट अनुसन्धान गर्दा गिरोहले पर्यटक भिसाका लागि फर्जी कागजात बनाई विदेश पठाउने गरेको भेटिएको हो,” कार्कीले भने।
त्यस्तै, कन्सल्टेन्सी सञ्चालक ६ जना, एक जना प्रहरी, एक जना पूर्व प्रहरी, एअरलाइन्सका दुई जना कर्मचारी र अन्य ११ जना रहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ। कार्यालयका अनुसार नौ जना विरुद्ध संगठित अपराधमा र १२ जना विरुद्ध लिखत सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ। आठ जना भने धरौटीमा छुटेका छन्।
पक्राउ पर्नेमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टूर्स एन्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, होलिडेज एन्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल र एड्भान्स म्यानेजमेन्ट मल्टिट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे छन्।
कागजात मिलाए बापत ट्राभल एजेन्सीहरूले प्रतिव्यक्ति १५ हजार लिने गरेको र अध्यागमन विभागका कर्मचारीले नयाँको हकमा ५५ हजार र पुरानो (एक पटक विदेश पुगेर फर्किएका) हरूको हकमा भने ४० हजार लिने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाइ छ।