कालाजग्रा घुम्न जाँदा बोका उपहार
पर्यटकीय गन्तव्य बाजुराको कालाजग्रा डाँडाको भ्रमण गर्ने पर्यटकलाई स्थानीय सरकारले बोका उपहार दिने योजना ल्याएको छ।
बडीमालिका नगरपालिका-७ स्थित तीन हजार २०० मिटर उचाइको कालाजग्रा डाँडामा परापूर्वकालदेखि नै देवीको मन्दिर छ। स्थानीय बासिन्दाका लागि मन्दिर धार्मिक तथा पर्यटकीयस्थलका रूपमा परिचित छ। जिल्ला बाहिरका पर्यटकलाई आकर्षित गर्न बोका उपहार दिने योजना ल्याइएको वडाध्यक्ष धर्मराज पाध्यायले बताए।
यो योजना ल्याएपछि आन्तरिक पर्यटकको एक समूहले कालाजग्रा डाँडाको भ्रमण गरिसकेको छ। मंसीर २३ गते मात्रै एउटा समूहलाई पहिलो उपहारका रूपमा बोको दिएको स्थानीय व्यवसायी लोकेन्द्र रोकायाले बताए।
“कालाजग्राको मन्दिर हाम्रा बाउबाजेको पालादेखिकै हो। वर्षमा दुई पटक जनैपूर्णिमा र दशैंको कोजाग्रत पूर्णिमाका दिन मेला लाग्छ,” कालाजग्रा होटल एन्ड लजका सञ्चालक समेत रहेका रोकायाले भने, “अहिले भने बाहिरका मान्छे पनि घुमफिरका लागि आउन थालेका छन्।”
यो डाँडा धार्मिक तथा सांस्कृतिकसँगै पर्यटकीय हिसाबले पनि सुन्दर रहेको वडाध्यक्ष पाध्यायले बताए। यो स्थानबाट बडीमालिका, साइपाल हिमाल नजिकै देखिन्छन्। अर्कातिर, हिउँ पर्ने भएकाले पनि आन्तरिक पर्यटकको रोजाइमा पर्दै आएको छ।
पहाडी पाटन क्षेत्रमा रहेको कालाजग्रामा ताल सहित गुफा पनि छ। यहाँ रहेको चट्टानी पहरोबाट २२ वटा धारा बग्ने गरेका छन्। जसले गर्दा आन्तरिक पर्यटक आइरहने गरेको उनले बताए।
कालाजग्रामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आन्तरिक पर्यटक लक्ष्यित बोका उपहार कार्यक्रम ल्याइएको वडाध्यक्ष पाध्यायको भनाइ छ। “यस वर्ष पर्यटकलाई १० वटा बोका उपहार दिन एक लाख ५० हजार बजेट विनियोजन गरेका छौं,” वडाध्यक्ष पाध्यायले हिमालखबरसँग भने, “पर्यटकको संख्या बढ्दै गयो र हामीले सोचे जस्तै पर्यटक आकर्षित भए भने बजेट थप्न सकिनेछ।”
कालाजग्रा देवीलाई दूध र चामल चढाउने परम्परा छ। यस मन्दिरमा बलि भने चढ्दैन।
यहाँ आउने श्रद्धालुका लागि बडीमालिका नगरपालिका-७ स्थित कालाजग्रा मन्दिरको फेदमै वास बस्ने व्यवस्था मिलाइएको छ। डाँडाको फेदमा रहेको ढम्कनेमा पर्यटक बस्ने होटल तथा लज उपलब्ध छन्। एक हजार ४०० मिटरको उचाइमा रहेको यस क्षेत्रबाट दुईदेखि तीन घण्टाकाे यात्रामा डाँडाको टुप्पोमा पुग्न सकिन्छ।
यसको सेरोफेरोमा नौ वटा स्थानीय तह छन्। अन्य स्थानीय तहका लागि पनि यो स्थान महत्त्वपूर्ण रहेको वडाध्यक्ष पाध्यायको भनाइ छ। “जिल्ला बाहिरका आगन्तुकलाई कालाजग्रा क्षेत्रमा एक रात बस्न प्रेरित गर्न पनि बोका उपहारको योजना बनाइएको हो,” उनले भने, “पर्यटक बस्दा कोदो, आलु, सिमी लगायत स्थानीय उत्पादनको पनि प्रवर्द्धन हुने भयो।”
यस योजनाले स्थानीय पशुपालकलाई पनि फाइदा हुने उनको भनाइ छ। स्थानीय तहले खरीद गर्ने भए पनि बोकाको पैसा गाउँमै रहने उनी सुनाउँछन्। त्यस्तै, २० जना बाहिरबाट आउँदा अन्य व्यापार व्यवसाय पनि हुने वडाध्यक्ष पाध्यायको जिकिर छ। यसले पर्यटन प्रवर्द्धनसँगै स्थानीय बासिन्दाको आर्थिक उपार्जनमा सहयोग पुग्ने उनको विश्वास छ।
यसका लागि जिल्ला बाहिरबाट आउने पर्यटकको संख्या कम्तीमा २० हुनुपर्ने शर्त राखिएको छ। बोका बिक्री गर्ने किसानले बढीमा १० हजार रुपैयाँ पाउनेछन्।
बाजुरा बाहिरका पर्यटकले सजिलै ढम्कनेको यात्रा गर्न सक्छन्। सदरमुकाम मार्तडीबाट गाडीमा १६ किलोमिटर पूर्वतिर हुइँकिएपछि ढम्कने गाउँ आउँछ। त्यहाँबाट बल्ल पदयात्रा शुरू हुन्छ। दुईदेखि तीन घण्टा हिंडेपछि कालाजग्रा डाँडा टेक्न सकिन्छ।