भारतीय संसद् छिरेका युवाले धूवाँ छोडे
भारतको लोकसभाभित्र पसेका दुई युवकले धूवाँ छोडेर संसद् अवरुद्ध पारेका छन्।
उनीहरूले बुधबार अपराह्न संसद् चलिरहेको वेला दर्शक बस्ने च्याम्बरबाट लोकसभा च्याम्बरमा प्रवेश गरेर धूवाँ उत्पन्न हुने डब्बा (क्यानिस्टर) खोलेका हुन्। लोकसभाको सीसीटीभी फूटेजमा एक जना युवकले डेस्कबाट हाम फालेर सुरक्षाकर्मीलाई पन्छाएको र अर्काले धूवाँ फैलाएको देखिएको छ।
दुवै जनालाई सांसद र सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।
घटना लगत्तै लोकसभाका सांसद दानिस अलीले दुवैको अनुमतिपत्र अनुसार एक जनाको नाम सागर शर्मा रहेको बताएका छन्। उनलाई भारतीय जनता पार्टीका सांसद प्रताम सिम्लाले सिफारिश दिएको बताएका छन्।
यो घटनापछि संसद् स्थगन भएको छ।