संसद्का महासचिवको राजीनामा चार दिनपछि स्वीकृत
संघीय संसद्का महासचिवको राजीनामा चार दिनपछि स्वीकृत भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का महासचिव भरतराज गौतमले दिएको राजीनामा बुधबार स्वीकृत गरेका छन्। गौतमले यही मंसीर २४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका थिए।
उनले राजीनामा दिएसँगै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद्मप्रसाद पाण्डेयलाई महासचिवमा सिफारिश गरेका थिए। राजीनामा स्वीकृत नहुँदै नयाँ महासचिव सिफारिश गरिएपछि विवाद उत्पन्न भएको थियो। यसमा विषयमा अध्ययन गर्ने भन्दै राष्ट्रपति पौडेलले राजीनामा स्वीकृत गरेका थिएनन्।
बुधबार राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले प्रेस विज्ञप्ति जारी गरी मंसीर २४ गतेदेखि नै लागू हुने गरी राष्ट्रपतिले राजीनामा स्वीकृत गरेको जनाएकी छन्।