एकै दिन तीनको डुबेर मृत्यु
प्रदेश १ का झापा, पाँचथर र ताप्लेजुङमा शनिबार राति डुबेर तीन जनाको ज्यान गएको छ ।
उनीहरूको कुलो, पोखरी र खोलामा गरी अलग–अलग स्थानमा डुबेर मृत्यु भएको हो।
पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ स्थित थाम्सुङ खोलाबाट थाम्सुङ गाउँमा सिंचाइका लागि लगिएको कुलोमा डुबेर स्थानीय पूर्णबहादुर राई (५४) को मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार राति १० बजे कुलोबाट राईको शव प्रहरीले निकालेको थियो ।
यस्तै ताप्लेजुङको सिरिजंगा गाउँपालिका–४ की सीता भट्टराई (४७) को नागदेवा खोलाले बगाएर मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार, छिमेकीको घर गएकी भट्टराई बेलुकासम्म नफर्किएपछि खोजतलास गर्ने क्रममा राति ८ बजे खोलामा शव फेला परेको थियो ।
यसैगरी झापा भद्रपुर नगरपालिका–१० का १२ वर्षीय सुमन जोगीको पोखरीमा डुबेर मृत्यु भएको छ ।
शनिबार दिउँसो घरबाट हिंडेका बालकलाई खोज्ने क्रममा राति ८ः३० बजे विष्णु कन्स्ट्रक्सनको माछा पोखरीमा मृत अवस्थामा फेला पारिएको प्रहरीले बताएको छ ।