देशको अर्थतन्त्रले सही बाटो समाएको छ : अर्थमन्त्री महत
अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रले सही बाटो समाएको जिकिर गरेका छन्।
अर्थ मन्त्रालयमा बिहीबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा अर्थमन्त्री महतले सरकारको निरन्तर प्रयासले अर्थतन्त्रले लय समातेको र चाँडै निर्णायक मोडमा पुग्ने बताए। “समग्र अर्थतन्त्रले सही बाटो समाएको छ,” महतले भने, “सबै सुधारका प्रयासले नतीजा दिन केही समय लाग्नेछ।”
चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिबाट लिएका सुधारका कार्यक्रमले नतीजा देखाउन थालेको उनको भनाइ थियो। “मैले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा अर्थतन्त्रका धेरै सूचक सकारात्मक थिएनन्। कोभिड-१९ का वेला सहज मौद्रिक नीति अपनाउँदा त्यसले देखिएका असर व्यवस्थापन गर्न कसिलो नीति लिनुपर्दा केही समस्या सिर्जना भएका थिए,” महतले भने, “समग्रमा आर्थिक सूचक सकारात्मक हुँदै गएका छन्। शेयर बजारले सकारात्मक लय समातेको छ र जग्गा कारोबार पनि बढ्ने क्रममा छ। तर उत्पादन वृद्धि, रोजगार वृद्धिका लागि केही समय लाग्छ।”
अर्थ मन्त्रालयले नेपाल राष्ट्र ब्यांकसँग मौद्रिक नीतिबारे निरन्तर छलफल गरेपछि अहिले केही निर्णय आएको र यसले ब्यांक तथा वित्तीय संस्थामा ब्याजदर घटाउन मद्दत पुगेको उनको भनाइ थियो। “राष्ट्र ब्यांकले नीतिगत दर घटाएपछि ब्यांकको ब्याजदर पनि घट्दो क्रममा छ। ऋणीका समस्यालाई पनि सम्बोधन गर्न खोजिएको छ,” अर्थमन्त्री महतले भने, “पूँजीबजार र घरजग्गा कारोबारमा सुधारका संकेत देखिएका छन्।”
वित्त नीतिले अवलम्बन गरेका सुधारका कार्यक्रमले पनि बिस्तारै नतीजा देखाउँदै गएको महतको जिकिर थियो। “वित्त नीति कार्यान्वयनका लागि विभिन्न कार्यविधि बनेका छन्। केही बन्ने क्रममा छन्। ठेक्का प्रक्रिया छिटोछरितो रूपमा अघि बढिरहेका छन्,” उनले भने, “यसबाट पनि बजारमा प्रशस्त पूँजी प्रवाह हुने हाम्रो अपेक्षा छ। विदेशी सहायताका क्षेत्रमा पनि हाम्रो नीति र प्राथमिकता बदलिएको छ।”
आगामी आर्थिक वर्षको बजेट मार्फत अर्थतन्त्र सुधारका थप कार्यक्रम ल्याउने गरी सरकारले आन्तरिक तयारी गरिरहेको उनले बताए। “संसारमा यस्तो कुनै अर्थतन्त्र छैन, जहाँ समस्या नदेखिएको होस्। हामीकहाँ वर्षौंदेखि थपिंदै र बढ्दै आएका समस्याको पहाड थियो। त्यसलाई एकै पटक हल गर्छु भन्नु सम्भव थिएन। तर समस्या बिस्तारै हट्दै छन्,” उनले भने, “अहिलेका उपलब्धिबाट हामी सन्तुष्ट छौं भन्ने होइन तर अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको छ।”
सरकारले आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ। लगानी सम्मेलनअघि नै लगानीसँग सम्बन्धित कतिपय नीतिगत र कानूनी सुधार अगाडि बढाइने उनको भनाइ थियो।