‘क्षमता छ भने कसैले पनि रोक्न सक्दैन’
‘अहिले यो देशमा केही पनि छैन, केही हुँदैन, प्लस टू गर्ने बित्तिकै विदेश उडिहाल्नुपर्छ भन्ने गरेको सुनिन्छ। तर मलाई चाहिं त्यो हदसम्मको निराश हुनुपर्ने अवस्था आएको छ जस्तो लाग्दैन। देशमै गर्न सकिने काम धेरै छन्।’
नेपाली आख्यानको संसारमा भर्खरै झुल्किएका युवा लेखक हुन्, सागर खड्का। यसै वर्ष उनको उपन्यास राइपाली भन्ज्याङ प्रकाशन भएको छ। कृषिका विद्यार्थी उनी अहिले आक्वा कल्चरमा स्नातकोत्तर गर्दै छन्। हिमालखबरको पाक्षिक प्रस्तुति किताबका कुरामा लेखक खड्कासँग शमशाद अहमदले गरेको कुराकानीको सम्पादित अंश:
धेरै लेखकको लेखन र प्रकाशन यात्राको शुरूआत कविता वा कथाबाट भएको पाइन्छ। तपाईंको पहिलो कृति नै उपन्यास आयो नि!
प्रकाशनका हिसाबले पहिलो कृति उपन्यास आए पनि यसअघि मैले प्रेमकथा लेखेको थिएँ। त्यो कथालाई उपन्यास बनाउने गरी ५०-६० पृष्ठ लेखिसकेको थिएँ। त्यसपछि यो उपन्यास लेख्न शुरू गरें र यसैलाई अघि बढाएँ। त्यसैले प्रकाशनका हिसाबले पहिलो भए पनि लेख्न शुरू गरेको यो दोस्रो उपन्यास हो।
उपन्यासमा ग्रामीण परिवेशका विविध पाटा र पात्रहरू समेटिएका छन्। भर्खरको युवा लेखकलाई गाउँका कुरा टिप्न कत्तिको गाह्रो भयो?
मेरो घर लमजुङको परेवा डाँडामा पर्छ। म गाउँले परिवेशमा जन्मे/हुर्केकाले उपन्यासमा आएको कथा र परिवेश त मैले बाँचिसकेको छु। गाउँका बालबालिकादेखि वृद्धवृद्धासम्मसँग घुलमिल पनि छु। त्यस कारण लेख्न गाह्रो भएन।
गाउँले ठेट शब्दको प्रचुर प्रयोग गर्नुभएको छ। भाषागत मिठास ल्याउन कत्तिको चुनौती भयो?
जुनसुकै ठाउँको कथा लेख्दा त्यहाँको भाषा र लवज सर्लक्क ल्याउनु चुनौतीपूर्ण हुन्छ। आफू बसेको वा आफूले बुझेकोभन्दा फरक भूगोलबारे लेख्दा त्यस्तो चुनौतीले अझ बढी च्याप्छ। जस्तै- म पहाडको गाउँको मान्छेलाई तराईको परिवेश र भाषा बुन्न गाह्रो हुन्छ। तर यो उपन्यास मैले आफ्नै गाउँठाउँको परिवेशमा लेखेको हुँदा असहज भएन।
किताबबारे कस्ता प्रतिक्रिया पाइरहनुभएको छ?
यसमा मुख्य दुई वटा आयाम पाएँ। एउटा, राम्रा लेखक र समीक्षकहरूबाट किताब राम्रो भनेर प्रतिक्रिया आएका छन्। अर्को, पाठ्यपुस्तक बाहेक अरू नपढेका अर्थात् साहित्यिक वृत्त बाहिरका मान्छेहरूले एकै बसाइमा पढिसिध्याएको बताउनुभयो। विशेष गरेर नयाँ पुस्ताबाट यस्तो प्रतिक्रिया आउनु धेरै महत्त्वपूर्ण लाग्यो। नयाँ पाठकलाई तान्न सके जस्तो महसूस भयो।
नयाँ पुस्ताको कुरा गर्नुभयो। युवामा पठन संस्कृति कस्तो देख्नुहुन्छ?
युवामा पठन संस्कृति नभएको होइन। पाठकहरू लुकेका छन्, खुलेर आउन सकेका छैनन् जस्तो लाग्छ। किताब पढिरहने तर त्यसबारे लेखेर वा बोलेर बाहिर नल्याउनेहरू धेरै छन्।
तपाईंलाई चाहिं कस्ता किताब र लेखक मन पर्छन्?
मलाई सरल भाषा भएको किताब मन पर्छ। नेपाली लेखकहरूमध्ये बुद्धिसागरको ठूलो प्रशंसक हुँ। अन्य समकालीन लेखकमा अमर न्यौपाने, सुबिन भट्टराई र पुरानामा पारिजात, विश्वेश्वरप्रसाद कोइरालाको लेखन रुचाउँछु।
तपाईंले ग्रामीण परिवेशमा आधारित उपन्यास लेख्नुको उद्देश्य के हो?
यसको मुख्य ध्येय आज प्रविधि र अनेक सुविधाबीच हुर्किरहेको नयाँ पुस्तालाई विगतको गाउँघरका कुरा बुझाउनु हो, जुन वेला सडक, मोबाइल फोन थिएनन्। आजको युवा पुस्तालाई ‘भ्यू पोइन्ट’ थाहा छ, भन्ज्याङ भनेको थाहा छैन। सडकको विकास नभएको समयमा बटुवा र लाहुरेहरूले विश्राम गर्न भन्ज्याङको ठूलो महत्त्व थियो। कुनै वेला पहाडी भेगको पहिचान बनेका ती कुरा सडकको विकाससँगै हराउँदै गएका छन्।
पुर्खाको पालामा यस्तो थियो है भनेर हाम्रो परम्परा र अभ्यास उजागर गर्न यसको कथा लेखेको हुँ। उपन्यासमा ३०-४० वर्षअघिको मध्यपहाडी भेगको कथा छ। खास गरी लैंगिक विभेद, महिला हिंसा, छुवाछूत, अन्धविश्वास लगायत विषय यसमा समेटिएका छन्।
यो किताब लेख्नुपर्छ भन्ने सोच कसरी आयो? पृष्ठभूमिबारे बताइदिनुस् न।
म स्नातक तह प्रथम वर्ष पढ्दै गर्दा रेडियो कार्यक्रम ‘श्रुति संवेग’ मा उपन्यासहरू सुन्थें। बुद्धिसागरको कर्नाली ब्लुज सुनेपछि म पनि लेख्छु भन्ने लाग्यो। अर्को चाहिं, अवचेतन मनमा दाइको कुरा गढेर बसेको थियो। म एसएलसी परीक्षा दिएर ब्रिजकोर्स पढ्न लमजुङबाट काठमाडौं आएको थिएँ। दाइ मोटरसाइकल दुर्घटनामा बित्नुभएछ। मैले सात दिनपछि खबर पाएँ र घर गएँ।
१५-२० दिनपछि कसैले घरमा एउटा झोला ल्याइदियो। झोलामा दाइका सरसामान र कपडाहरू थिए। त्यसभित्र एउटा डायरी पनि थियो। दाइ राम्रो फूटबल खेलाडी हुनुहुन्थ्यो। पढ्न चाहिं कृषि विषय पढ्दै हुनुहुन्थ्यो।
डायरीमा दाइले आफ्नो र मध्यमवर्गीय परिवारको संघर्षबारे लेख्नुभएको रहेछ। १८-२० पृष्ठ जति पढ्दा मलाई एकदम छोएको थियो। डायरी पढ्दै गर्दा त्यसैमा आफूले पनि केही थपूँ कि भन्ने लागेको थियो। आफ्नो गाउँसमाजको कुरा र त्यहाँको धूलो-माटोबारे लेखूँ कि भन्ने खुनखुन भएको थियो। त्यसले दिमागको एउटा भाग ओगटिरहेको रहेछ र यसरी किताब लेख्न सकें।
किताब लेख्न शुरू गर्दादेखि प्रकाशित हुँदासम्मको यात्रा कस्तो रह्यो?
त्यो बडो रोमाञ्चक छ। यो उपन्यास लेख्दै गर्दा म १७-१८ वर्षको थिएँ। किताब सक्न लगभग चार वर्ष लाग्यो। किताब मैले हातैले कापीमा लेखेको थिएँ। साना-ठूला धेरै वटा कापीमा लेखेको थिएँ। धन्न कुनै पनि कापी हराएन। सबै लेखिसकेपछि टाइप गर्न बसें तर दिनभरिमा एक पेज पनि टाइप गर्न सकिनँ। नेपाली टाइपिङ सिकेकै थिइनँ, बानी नै थिएन।
यसरी त हुँदैन भन्ने लाग्यो र लेखेका सबै कापी लगेर एउटा छापाखानामा टाइप गराएँ र एकसरो आफैंले सच्याएँ। प्रिन्ट गरेको पाण्डुलिपि प्रकाशन संस्था फाइनप्रिन्टको कार्यालयमा बुझाएँ। पछाडिको पानामा चार-पाँच पंक्ति केही लेखेको थिएँ, ती हरफ फाइनप्रिन्टका अजित बराललाई मन परेछन्।
यस्तै, किताबको पहिलो च्याप्टर शुरू हुनुअघि चार-पाँच पृष्ठ लेखेको थिएँ। त्यसको केही अनुच्छेद पनि पढेर भोलिपल्ट अजित दाइले फोन गर्नुभयो। उहाँले ‘पूरै पाण्डुलिपि पढ्न अहिले सम्भव नहोला, मिल्छ भने स्याम्पल च्याप्टर र समरी इमेल गरिदिनू’ भन्नुभयो।
म सोह्रखुट्टेस्थित डेरामा थिएँ। त्यति खबर पाउने बित्तिकै खुशीले कुन तालमा कोठाको चाबी लगाएर कसरी बाहिर निस्किएँ, थाहा छैन। हिंड्दै लैनचौरसम्म पुगेको थिएँ, फेरि दाइको फोन आयो। भन्नुभयो, “स्याम्पल, समरी केही चाहिंदैन। मैले अरू दुई-तीन पेज पढें, भाषाशैली एकदम मीठो लाग्यो। मिल्छ भने दाजुभाइ कफी पिउन भेटौं।”
त्यो भेटपछिको नतीजा हो यो किताब।
तपाईंले किताबमा लाहुरे संस्कृतिको कुरा पनि बुन्नुभएको छ। अहिले पनि युवा अध्ययन र रोजगारीका लागि विदेशिइरहेका छन्। यो विदेशिने लहरबारे के भन्नुहुन्छ?
अहिले देशमा ‘ब्रेन ड्रेन’ (प्रतिभा पलायन) को स्थिति आइरहेको छ। देशबाट युवा रित्तिंदै गएको दृष्टान्त दिन एउटा कुरा जोड्छु। अहिले म लमजुङमा केन्द्रित भएर परियोजना चलाउने एक गैरसरकारी संस्थामा प्रोजेक्ट कोअर्डिनेटरका रूपमा कार्यरत छु। यो कृषिसँग पनि सम्बन्धित छ। युवालाई कृषि उद्यमी बनाएर कसरी नेपालमा राख्ने त्यसको उद्देश्य हो। तर हामी गाउँ गाउँ जाँदा युवा नै भेटिंदैनन्, बूढा आमाबुबाहरू मात्र हुन्छन्। यसले विदेशिने समस्या विकराल रहेको देखाउँछ।
अहिले यो देशमा केही पनि छैन, केही हुँदैन, प्लस टू गर्ने बित्तिकै विदेश उडिहाल्नुपर्छ भन्ने गरेको सुनिन्छ। तर मलाई चाहिं त्यो हदसम्मको निराश हुनुपर्ने अवस्था आएको छ जस्तो लाग्दैन। राम्रो र सहज परिस्थिति पनि छैन तर ज्यादै खराब पनि छैन। ठ्याक्कै त्यस्तो स्थिति पनि आएको छैन। देशमै गर्न सकिने काम धेरै छन्।
एउटा उदाहरण दिन्छु। कृषिमा स्नातक गरेको मान्छेले गाउँठाउँमा खुलेको सीटीईभीटीका आंगिक क्याम्पसमा पढाउने ४०-५० हजार रुपैयाँको जागीर पाउँछन्। तर अहिले सरकारी क्याम्पसमा कृषि पढ्ने विद्यार्थी खासै छैनन्। धेरै वटा प्रोजेक्ट चलिरहेका छन्, त्यसमा पनि काम पाउने अवसर हुन्छ। तर यो पर्याप्त नहोला। सरकार र सम्बन्धित निकाय बृहत् रूपमा सहज परिस्थिति र अवसर सिर्जना गर्न चुकिरहेका छन्।
किताब आइसकेपछि आफूलाई गाउँसमाजले हेर्ने दृष्टिकोण केकति फरक पाउनुभयो?
म गाउँमा अपरिचित अनुहार होइन। किनकि ६ वर्षकै उमेरदेखि दोहोरी गीत गाउँथें। जमजुङको सुन्दर बजारमा एउटा ठूलो चौर छ, त्यहाँ लोकदोहोरी प्रतियोगिता हुन्थे। त्यसमा लगातार दुई चोटि प्रथम भएको थिएँ। त्यहाँ गीत गाउँदा सबैले चिनेका छन्।
यो किताब लेखिसकेपछि मेरो इज्जत र प्रतिष्ठा झन् राम्रो भएको छ। यही गाउँठाउँमा हुर्केको र यहींको धूलो-माटो खेलेको केटाले लेखेको किताब हो भनेर स्थानीय मानिसहरूले गर्व महसूस गरेका छन्।
तपाईंको अनुभवमा साहित्य क्षेत्रमा आउने युवा लेखकले केकस्ता कुरामा ध्यान दिनुपर्ला?
सबैभन्दा महत्त्वपूर्ण त विषयवस्तु नै हो। पाठकले कस्ता कुरा खोजिरहेका छन्, कस्तो खालको कृति रुचाइरहेका छन्, पत्ता लगाउनुपर्छ। त्यो बुझेर लेख्दा नयाँ पुस्ताका पाठक बढ्छन्। लेखकको नाम र आकर्षण देखेर यत्तिकै रहरले लेखनमा आउनुहुँदैन।
अर्को, राम्रो क्षमता छ र सम्भावना छ भने राम्रो कुरा आउन कसैले पनि रोक्न सक्दैन। शुरूमा गाह्रो होला, प्लेटफर्म पाउन मुश्किल होला। तर भएको कुरा ढिलो-चाँडो निस्किन्छ नै।
साहित्यकारले समाजका लागि लेख्ने कि आफ्नो लागि?
सामाजिक घटनाबारे लेख्नु र जनचेतना फैलाउनु साहित्यकारको जिम्मेवारी हो। लेखनको प्रयोजन र दायित्वका कुरा गर्दै गर्दा साहित्य शुरूमा त आफ्नै लागि लेखिन्छ भन्ने पाटो पनि भुल्न हुन्न। लेखकले आफूलाई खुशी र आनन्द मिल्छ र नै लेख्छ। लेख्नु चाहिं ठूलो कुरो हो।
(सम्पादन : जीवन कार्की, भाषा : प्रद्युम्न खनाल)
किताबका कुराका थप सामग्री: