पद्म पाण्डेयलाई कार्यवाहक महासचिवको जिम्मेवारी
संघीय संसद्को कार्यवाहक महासचिवको जिम्मेवारी पद्मप्रसाद पाण्डेयले पाएका छन्।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको परामर्शमा प्रतिनिधि सभाका सचिव पाण्डेयलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएका हुन्। अर्को व्यवस्था नभएसम्म उनलाई जिम्मेवारी दिइएको जनाइएको छ।
महासचिव भरतराज गौतमले मंसीर २४ गतेदेखि लागू हुने गरी राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा पेश गरेका थिए। गौतमको राजीनामा स्वीकृत हुन बाँकी छ।
प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद् दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय कामका साथै लोक सेवा आयोगबाट सिफारिश भएर आएका कर्मचारीको नियुक्ति लगायत दैनिक काम प्रभावित भएकाले सभामुखले पाण्डेयलाई जिम्मेवारी दिएको संसद् सचिवालयले जनाएको छ। हरेक वर्ष मंसीर २८ गते संसद् दिवस मनाइने गरेको छ।