जाजरकोट भूकम्पबाट ५९ हजार परिवार प्रभावित
जाजरकोट भूकम्पबाट ५९ हजार १६२ परिवार प्रभावित भएको तथ्यांक आएको छ।
भूकम्पबाट प्रभावित पाँच जिल्लाका स्थानीय तहले संकलन गरेको तथ्यांक अनुसार भूकम्पपीडितलाई आवासको व्यवस्था गर्नुपर्ने देखिएको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार शुरूआतमा २८ हजार देखिएका थिए। सबै जिल्लाबाट स्थानीय तहले विवरण संकलन गरेर पठाएका हुन्।
भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माण गर्न नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको निर्णय बमोजिम विपद् व्यवस्थापन कोषबाट प्रभावित पाँच जिल्ला जाजरकोट, रुकुम पश्चिम, बझाङ, बाजुरा र सल्यानमा एक अर्ब ४१ करोड रुपैयाँ निकासा भइसकेको प्रवक्ता खड्काले बताए।
जिल्लामा भूकम्पपीडितले सबै रकम अझै प्राप्त गर्न सकेका भने छैनन्। निकासा रकममध्ये आजसम्म एक अर्ब चार करोड आठ लाख २५ हजार रुपैयाँ स्थानीय तहको खातामा पुगिसकेको उनले बताए।
स्थानीय तहले कायम गरेकामध्ये १० हजार १५३ लाभग्राहीले अस्थायी आवास निर्माण गर्ने सम्झौता गरेका छन्। सम्झौता गरेका भूकम्प प्रभावितलाई स्थानीय तहले २४ करोड ६२ लाख ७५ हजार उपलब्ध गराएको प्रवक्ता खड्काले बताए।
रकम प्राप्त गर्ने लाभग्राहीमध्ये रुकुम पश्चिममा दुई हजार ४२३ र सल्यानमा ४० गरी दुई हजार ४६३ परिवार नवनिर्मित आफ्नै अस्थायी आवासमा बस्न थालेका छन्। स्थानीय तहमा कायम भएका लाभग्राहीमध्ये सम्झौता गर्न बाँकीलाई प्रथम किस्ता तथा सबैलाई दोस्रो किस्ता बापत लाग्ने रकम दुई अर्ब ६० करोड ५० लाख रुपैयाँ थप निकासा गरिदिन सम्बन्धित जिल्लाबाट माग आएको प्रवक्ता खड्काले बताए।
यसरी माग भइआएको रकम निकासाका लागि गृह मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको छ। निकासाको प्रक्रियामा रहेको रकम विपद् व्यवस्थापन कोषमा प्राप्त हुनासाथ कायम भएका लाभग्राहीको संख्याका आधारमा सम्बन्धित जिल्ला मार्फत स्थानीय तहमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपलब्ध गराउने जानकारी गराएको छ।