१९९० सालको भूकम्पअघिको काठमाडौं
तत्कालीन अंग्रेज सिपाही जोसेफ गेईले १९औं शताब्दीमा खिचेका तस्वीरहरूले काठमाडौंको फरक दृश्य देखाउँछन्।
सिकारु फोटोग्राफर जोसेफ गेई (सन् १८५२-१९२६)ले सन् १८८८ देखि १८९९ को बीचमा खिचेका काठमाडौं उपत्यका र भारतका तस्वीरहरूको संग्रह ब्रिटिश लाइब्रेरीमा आइपुगेको छ। उनका सन्ततिले मे २०२३ मा त्यो संग्रह पुस्तकालयलाई दिएका हुन्।
दक्षिणएशियामा जोसेफले बिताएका दिनहरू र उनले खिचेका तस्वीरहरूबारे उनका सन्तति मेरी-मार्गरेट गेई र उनका पति डोग हाल्भरसनले वर्षौंसम्म अनुसन्धान गरेका थिए। १९९० सालको भूकम्पअघिको काठमाडौंका तस्वीरसंग्रह उपलब्ध गराइदिएकामा हामीले मेरी-मार्गरेट र डोगलाई धन्यवाद दिनैपर्छ।
जोसेफ गेई सन् १८५२ मा बेलायतको केन्ट काउन्टीको नर्थफ्लिटमा जन्मेका थिए। १८ वर्षको उमेरमा उनी राइफल ब्रिगेडको चौथो बटालियनमा भर्ती भए र राइफलम्यानको हैसियतमा सन् १८७३ मा भारत पुगे। १२ वर्ष सैनिक जीवन बिताएपछि सन् १८८२ मा उनले सेनाको जागीर छोडेर विभिन्न भारतीय सैन्य ब्यान्डको नेतृत्व गर्न थाले।
सन् १८८८ मा पत्नी मेरी एलिजाबेथ शर्टसँगै उनी काठमाडौं आइपुगे। वीरशमशेरको शासनकालमा नेपाल आइपुगेका गेईले शाही नेपाली सेनाको ब्यान्डमास्टरका रूपमा काम गर्न थाले। सन् १८९९ मा बेलायत फर्किनुअघि सन् १८९२ मा उनी भारतका तीन वटा भाइसरायहरू (मार्कस, अर्ल र लर्ड कर्जन)को ब्यान्डमास्टर बने।
सन् १९०५ मा आफ्ना चार छोराहरूसँगै क्यानडा गएका गेईको सन् १९२६ मा क्यानडाको लेम्बर्गमा निधन भयो। आफ्नो जीवनकालमा उनले काठमाडौं उपत्यका, बर्मा र भारतका अनेकौं फोटो खिचेका छन्।
ब्रिटिश लाइब्रेरीमा पुगेको जोसेफ गेई संग्रहमा ९१ वटा ग्लास नेगेटिभ, पाँच वटा सेलुलोज नेगेटिभ र ३२ वटा एल्बुमिन प्रिन्ट छन्। जसमध्ये अधिकांश तस्वीर काठमाडौं उपत्यकाका छन् भने केही भारतका पनि छन्। गेईले यहाँका वास्तुकला, प्राकृतिक दृश्यदेखि सडक र मानिसहरूसम्मको तस्वीर खिचेका छन्। हत्तपत्त विदेशीलाई प्रवेश नै नदिने तत्कालीन नेपालका यी तस्वीरले त्यो समयको जनजीवनबारे नयाँ जानकारी दिएका छन्।
उनको संग्रहमा रहेका नेपालका वास्तुकला झल्किने तस्वीरहरू यहाँ प्रकाशन गरिएको छ। कतिपय संरचना त प्राकृतिक प्रकोपका कारण वा शहरी विकासका क्रममा हराइसकेका छन्।
यस लेखको आवरण तस्वीरमा देखिने संरचना पुरानो गद्दी बैठक हो जुन दरबार गद्दी आरोहण र अन्य देशका प्रमुखहरूसँग भेटघाटमा प्रयोग हुन्थ्यो। नेवारी शैलीको यो भवनमा मुगल वास्तुकलाको प्रभाव देखिन्छ। तस्वीरमा देखिएको दक्षिणतर्फको मोहडा सम्भवतः पछि थपिएको हो।
सन् १९०१ मा प्रधानमन्त्री बनेका चन्द्रशमशेर (सन् १९६३-१९२९)ले सन् १९०८ मा पुरानो गद्दी बैठक भत्काएर अहिले देखिने भवन बनाएका हुन्।
ललितपुरको पाटन दरबार क्षेत्रले १९९० र २०७२ सालको भूकम्प भोग्यो। गेईले खिचेको यो तस्वीर भने १९९० सालको भूकम्पअघिको हो।
जिओलोजिकल सर्भे अफ इन्डियाका तत्कालीन अफिसर जोन अलेक्ज्यान्डर दुनले १९९० सालको भूकम्पपछि यही दरबार क्षेत्रको तस्वीर खिचेका थिए तर उत्तरतिर फर्केर। उक्त तस्वीरमा गरुडको मूर्ति, कृष्ण मन्दिर र विश्वनाथ मन्दिर सहित हात्तीको मूर्तिले भूकम्प थेगेको देख्न सकिन्छ।
गेईले स्वयम्भूको पूर्वी पाखोका सिंढीहरूको तस्वीर पनि खिचेका छन्। उक्त तस्वीरमा सिंढी शुरू हुने बिन्दुमा बुद्धका एकजोर मूर्ति, सिंढीभरि ससाना चैत्य देख्न सकिन्छ।
गेईले उक्त तस्वीर खिचेको झन्डै ३० वर्षपछि खिचिएको तस्वीर दीर्घमान र गणेशमान चित्रकारको संग्रह ‘चित्रकार संग्रह’ मा उपलब्ध छ। उक्त चित्रमा प्रवेशबिन्दुको बुद्धको मूर्ति र चैत्यहरूको रङरोगन गरिएको छ।
-ब्रिटिश लाइब्रेरीको ‘एशियन एन्ड अफ्रिकन स्टडीज ब्लग’ बाट अनूदित।