कुलत त्यागेको रतनपुरी
कुनै वेला खुलेआम गाँजाखेती गर्ने रतनपुरीका किसानले अहिले त्यो छाडेर अन्न, तरकारीखेती र व्यापार व्यवसायलाई आम्दानीको स्रोत बनाएका छन्।
तपस्वी भनी चिनिएका तर पटक पटक विवादमा पर्दै आएका रामबहादुर बमजनसँग जोडिएर चर्चामा आइरहने ठाउँ हो, बाराको रतनपुरी। यही ठाउँ कुनै वेला गाँजाखेतीका कारण कुख्यात थियो।
चुरे फेदीको रतनपुरीको प्रमुख बाली नै गाँजा थियो। छेवैका डुम्मरवाना, सुक्लैयाका बासिन्दाले लुकीछिपी उखुबारीभित्र गाँजा लगाउँदा रतनपुरीका बासिन्दा खुलेआम रोप्थे। धानको जस्तै गाँजाको ब्याड राखिन्थ्यो। तयारी गाँजा ओसार्नु कतिपय स्थानीय बासिन्दाको रात्रिकालीन पेशा नै थियो।
गाउँलेहरूका अनुसार गाँजाखेतीलाई आँखा चिम्लिदिए बापत प्रहरी प्रशासनलाई ‘नजराना’ बुझाउन गाउँले भेला हुन्थे। गाँजा लिन व्यापारी गाउँमै पुग्थे। जंगलको बाटो पर्सा हुँदै भारत लगेर बेचिन्थ्यो। गाँजाखेती गर्दा प्रतिकट्ठा १५/२० हजारसम्म खर्च हुन्थ्यो। स्थानीय बासिन्दा श्रीमतीको गहना बेचेर, ऋण लिएर पनि गाँजा रोप्थे। बेचेर पैसा आएपछि ऋण तिर्थे।
निजगढ नगरपालिका-११ का काशीराज तिमल्सिनाका अनुसार गाँजाखेतीबाट तुलनात्मक रूपमा किसानले पाउने ‘लाभ’ कम थियो। “व्यापारी र प्रहरीहरूले बढी कमाउँथे। धेरैजसो किसानले त खर्च मात्रै उठाउने हुन्,” उनी सम्झन्छन्, “बढी उत्पादन हुँदा बिक्री हुँदैनथ्यो। त्यसलाई मकै छर्ने ठाउँमा हाल्थे, मल बनाउँथे।”
लागूऔषधको सूचीमा पर्ने गाँजा नेपालमा व्यावसायिक खेती, प्रयोग र ओसारपसार गर्न प्रतिबन्धित छ।
अब भने रतनपुरीले गाँजाखेतीको कुलत त्यागिसकेको छ। स्थानीय बासिन्दा नगदे बालीमा आकृष्ट छन्। गाँजाको साटो तरकारी रोप्छन्। पहिलेको जस्तो प्रशासनको आँखा छल्न र ‘नजराना’ बुझाउन नपर्ने ढुक्कको जिन्दगी बाँचिरहेछन् उनीहरू।
निजगढ–११ का विक्रम रुम्बा भन्छन्, “कुनै वेला यहाँका बासिन्दा अन्नको साटो पनि गाँजा लगाउँथे, अहिले अन्नबाली नै रोप्छन्, रतनपुरमा चौकी पनि छ।” रुम्बा आफैं पनि अटो चलाउँछन्। उनी तीन महिनाअघि मात्र वैदेशिक रोजगारबाट फर्केका हुन्।
२०६८ सालको अन्त्यतिर प्रहरीले गाँजाखेती नियन्त्रण गर्न ‘अपरेशन’ नै चलाएपछि गाउँलेहरू हच्किए। जीविकाका फरक साधनहरूको खोजी गर्न थाले। उति वेला प्रहरीले क्विन्टलका क्विन्टल गाँजा बरामद गरेको थियो।
काशीराजका अनुसार प्रहरी आएर घर घरमा छापा मारी गाँजा बाहिर निकालेको थियो। सबै गाँजा एकै चोटि लैजान नसकेपछि टोली सडकमै थुपारेर हिंड्यो। त्यो समेत स्थानीयले राति नै लुटेर डाँडापारि पुर्याए (चुरे कटाए)।
“शुरू शुरूमा त बाटोमा रूख ढालेर पनि प्रहरीलाई रोक्न खोजियो। आफ्नै घरमा छापा मार्ने हो कि भन्ने डर हुन्थ्यो,” उनी भन्छन्, “त्यो काम नै नगरेपछि अहिले त ढुक्क छ।”
छिटपुट गाँजाखेती अहिले पनि नहुने होइन। गत मंसीर २० मै पनि प्रहरीले निजगढ–१२ मा १६ कट्ठामा लगाइएको गाँजाखेती नष्ट गर्यो। वडा नं १२ का कुलिया, थली र सालबिसौनीमा लगाइएका २० हजार बोट गाँजा पनि फाँडिएको जिल्ला प्रहरीले जनाएको छ।
यद्यपि अहिले चाहिं स्थानीयको मुख्य पेशा अन्नबाली, तरकारीखेती र पशुपालन नै हो। व्यापार व्यवसाय र वैदेशिक रोजगारबाट आम्दानी गर्नेहरू पनि छन्। साविक रतनपुरी गाविस हाल निजगढ नगरपालिकामा पर्छ। रतनपुरी क्षेत्रलाई वडा नं १०, ११, १२ र १३ मा कायम गरिएको छ।
निजगढ-१२, कोलगाउँका रामसिंह थिङ (४७) गत वर्षसम्म ३ कट्ठा जमीनमा टमाटर खेती गर्थे। अहिले चार कट्ठामा सखरखण्ड थपेका छन्। “टमाटर र सखरखण्डको आम्दानीले मकैखेतीलाई जित्छ, बाली लगाउन सजिलो छ, छिटो बिक्छ,” उनी भन्छन्। कोलगाउँकै लेकबहादुर भण्डारी (४२)ले आफ्नो १० कट्ठा र भाडामा लिएको गरी २० कट्ठामा बाली लगाएका छन्। भन्छन्, “गाँजाखेती बन्द भएपछि मकै, तोरी, टमाटर, सिमी, मूला रोप्दै आएका छौं।”
स्थानीय किसानका अनुसार सखरखण्डको खेती टमाटर लगायत नगदे बालीको भन्दा पनि सजिलो छ। किनकि यसलाई मल मात्र हाले पुग्छ। प्रतिकट्ठा पाँच-सात हजारसम्म खर्च गर्दा ३० हजारसम्म आम्दानी हुन्छ।
१२ नम्बर वडाध्यक्ष ज्ञानबहादुर गोले गाँजाखेती कम हुनुमा स्थानीयमा यो काम अवैध रहेको चेतना विकास हुनुलाई पनि कारण मान्छन्। “प्रशासनले कडाइ गरेसँगै समाजलाई हानि गर्ने कुरा लगाउन नहुने रहेछ भन्ने चेतना फैलियो,” उनी भन्छन्, “२०६९ यता स्थानीयले गाँजाखेती छोडेका छन्।” त्यसपछि नगदे बालीका रूपमा टमाटरखेती फस्टायो। त्यसमा मन्दी आएपछि अहिले सखरखण्ड लगायत बाली लगाइएको गोलेले जानकारी दिए।
बजेट भने अन्तै
रतनपुरीमा खेतीको परम्परागत तरीका भने बदलिन सकेको छैन। उत्पादन बढाउन सघाउने आधुनिक विधि र प्रविधिको उपयोग उत्ति छैन। अर्को मुख्य समस्या सिंचाइ अभाव हो। धेरैजसो आकाशे पानीकै भर छ। पुसदेखि नै सुक्न थाल्ने पानीका स्रोत वर्षा नलाग्दासम्म रसाउँदैनन्।
कृषिका यी समस्या समाधानमा पालिकाको ध्यान उति देखिंदैन। चालू आर्थिक वर्ष धानको बीउ, केरा बीमा र पशु बीमामा ५० प्रतिशत अनुदान, केराको बोटबाट फाइबर उत्पादनका लागि साझेदारी, केराका परिकार बनाउने तालीम, कृषक पाठशाला (रतनपुरी, सिंगौल र साविक निजगढ) सञ्चालन जस्ता कार्यक्रमलाई बजेट छुट्याइएको छ। व्यावसायिक उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन, पशु स्वास्थ्य शिविर, प्रांगारिक मल, च्याउ उत्पादन सम्बन्धी तालीम, बेमौसमी तरकारी उत्पादनका लागि प्रोत्साहन आदि कार्यक्रम पनि छन्।
कृषि तथा पशुपालनको अवलोकन भ्रमणका लागि दुई लाख रुपैयाँ छुट्याएको वडा नं १० ले वडा कार्यालय सञ्चालन तथा विविध खर्च शीर्षकमा चार लाख ५० हजार रुपैयाँ छुट्याएको छ। कृषि कार्यक्रम र पशु चौपायालाई औषधि खरीदका लागि एक-एक लाख रुपैयाँ छुट्याएको वडा नं ११ ले कार्यालयको मसलन्द खर्चका लागि दुई लाख ५० हजार रुपैयाँ र विविध शीर्षकमा एक लाख ५८ हजार रुपैयाँ राखेको छ।
पशु चौपायाको औषधि खरीद र मौसमी बीउबीजन वितरणका लागि ५०/५० हजार रुपैयाँ दिने घोषणा गरेको वडा नं १२ ले अतिथि सत्कार र इन्धनका लागि एक लाख ५० हजार रुपैयाँ छुट्याएको छ। वडा नं १३ मा त कृषि र पशुपालनतर्फ बजेट नै छैन। तर इन्धन महसूल खर्च, वडा कार्यालय सञ्चालनमा दुई-दुई लाख रुपैयाँ र विविध शीर्षकमा पाँच लाख रुपैयाँ राखेको छ।
१२ नम्बर वडाध्यक्ष गोले वडा र पालिकाको बजेट शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारमा बढी खर्च हुने हुँदा कृषिमा पर्याप्त लगानी गर्न नसकिएको बताउँछन्। “बीउ, विषादीमा अनुदान दिन्छौं। समस्या आएको खण्डमा सहयोग गर्छौं,” उनी भन्छन्।