‘शान्तिपूर्वक आन्दोलन गर्न पाउने अधिकार हनन भयो’
अभियन्ता ईःले शान्तिपूर्वक आन्दोलन गर्न पाउने आफूहरूको अधिकार हनन भएको बताएका छन्।
ललितपुर महानगरपालिकाले फूटपाथ व्यवसाय गर्न नदिएको भन्दै विरोधस्वरूप महानगरपालिका कार्यालय अगाडि उभिएका ईःको प्रदर्शनमा केही व्यक्ति आई विरोध गरेका थिए। ईःको धर्नास्थलमा पुगेर उनीहरूले फूटपाथमा व्यवसाय गर्न नपाउने भन्दै प्रदर्शन गरेका थिए।
विरोधस्वरूप उभिइरहेका वेला केही ‘स्थानीय भनिनेहरू’ आई आफ्नो पर्चा-पम्प्लेट च्यात्न खोजेको ईः बताउँछन्। हाल ईःलाई प्रहरीले सुरक्षा दिएर प्रहरी प्रभाग पुल्चोकमा राखेको छ। आफू सोही स्थानमा उभिइरहेको पनि उनले बताए।
“हाम्रो शान्तिपूर्वक आन्दोलन गर्ने अधिकार हनन भयो। हामीले हाम्रो कुरा राख्दा अवरोध भयो,” ईःले भने, “आक्रमण हुने खतरा भएकाले अब आन्दोलन के गर्ने भन्नेबारे सोचिसकेका छैनौं।”
ललितपुर महानगरपालिकाले फूटपाथ व्यवसायीहरू बढेको भन्दै गत आइतबारदेखि मंगलबजार-लगनखेल क्षेत्रलाई ‘फूटपाथ पसल निषेधित क्षेत्र’ तोकेको थियो। निषेधित क्षेत्र तोकिएपछि ईःले सोमबार सामाजिक सञ्जालमा लेख्दै आफू १०८ मिनेट उभिने बताएका थिए।