लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमै ६२ हिंसात्मक घटना
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवधिमै महिला तथा बालिका विरूद्ध ६२ वटा हिंसात्मक घटना भएको पाइएको छ।
अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको प्रतिवेदनमा बाल अधिकार सम्बन्धी १९, महिला अधिकार सम्बन्धी ३९ र चार वटा हत्याका घटना भएको जनाइएको छ। बाल अधिकारमा १३ बलात्कार, चार यौन दुर्व्यवहार र दुई बेचबिखनका घटना छन्।
यस्तै, अनुगमनका क्रममा महिला अधिकारमा सात वटा बेचबिखनको प्रयास, पाँच बलात्कार, १३ घरेलु हिंसा, एक यौन दुर्व्यवहार, पाँच बेचबिखनका घटना पाइएको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।
सबैभन्दा बढी हिंसाका घटना मधेश प्रदेशमा भएको छ। मधेशमा २६ वटा घटना हुँदा बागमती प्रदेशमा १२, लुम्बिनी प्रदेशमा ११, गण्डकीमा पाँच, कोशीमा चार तथा कर्णाली र सुदूरपश्चिममा दुई दुई वटा घटना भएको पाइएको छ।
नेपालमा यही मंसीर ९ गतेदेखि मंसीर २४ गतेसम्म (२५ नोभेम्बरदेखि १० डिसेम्बर) ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाइएको थियो। नेपालमा सन् २००४ देखि यस अभियान शुरू भएको थियो।
महिला तथा बालिका विरुद्ध भएका हिंसात्मक घटनाका आधारमा प्रतिवेदन तयार पारेको इन्सेकले नेपालमा महिला विरुद्धको हिंसा पछिल्ला वर्षमा भन्दा कम हुँदै आए पनि सन्तोषजनक नभएको जनाएको छ।