सडक बन्द गर्न उत्रिएका पूर्व मन्त्री किराती सहित पाँच जना पक्राउ
खोटाङमा सडक बन्द गर्न उत्रिएका पाँच पहिचान पक्षधर अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ।
पूर्व मन्त्री एवं पहिचान आन्दोलनका अभियन्ता गोपाल किराती, जनता समाजवादी पार्टी खोटाङका सचिवालय सदस्य राजेश राई, गन्धमान राई, वाईसीएलका विजय राई र नेपाल आदिवासी जनजाति महासंघ, खोटाङका महासचिव उदिम चाम्लिङलाई प्रहरीले पक्राउ गरेको हो।
किरातीलाई हलेसीको ऐंसेलुखर्कबाट, चाम्लिङलाई नुनथला र अन्यलाई हलेसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी निरीक्षक बेनु कार्कीले बताए।
नेकपा (एमाले)ले शुरू गरेको ‘झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को प्रतिरोधमा प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मंगलबारदेखि अनिश्चितकालीन घुर्मी (उदयपुर)–लेगुवाघाट (धनकुटा) सडक बन्द आह्वान गरेको छ। सोही बन्द सफल बनाउन हिंडेका किराती सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।
शान्तिपूर्ण आन्दोलनमा उत्रिएको पहिचान पक्षधर समूहमाथि प्रहरी दमन भएको पहिचानवादी अभियन्ता रविन खम्बू बताउँछन्।
बन्दका कारण जिल्लाबाट छुट्ने छोटो तथा लामो दूरीको सार्वजनिक सवारी ठप्प छन्। एमाले नेता तथा कार्यकर्ता रिजर्भ गाडीमा प्रहरीको स्कर्टिङमा कार्यक्रमस्थल गइरहेका छन्। मध्यपहाडी राजमार्ग आसपास बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।
प्रदेशको नामांकनको विषयमा विमति राख्दै आन्दोलनरत पहिचान पक्षधर समूहले सोमबार राति खोटाङको दिक्तेल-जयराम सडकको विभिन्न ठाउँमा रूख ढालेर र ढुंगा राखेर सडकमा अवरोध गरेको थियो। सडकमा गरिएको अवरोध प्रहरीले पन्छाएको जनाएको छ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-९, निर्मलीडाँडाको लामाखुमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय गरेको प्रहरी निरीक्षक कार्कीले बताए।
पहिचान पक्षधर समूहले कोशी नामकरणका पक्षमा हस्ताक्षर गर्ने ८२ सांसद र पहिचान विरुद्ध अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली, नेता योगेश भट्टराई र महेश बस्नेत लक्ष्यित विरोधका कार्यक्रम गरिरहेको छ।