गोही जोगाउन मेला
गोही संरक्षणमा टेवा पुर्याउने उद्देश्यले सौरहाको चित्रसारी, मैनाह खेलमैदानमा ‘नेपाल गोही संरक्षण मेला-२०८०’ आयोजना गरिएको छ।
केयर फर नेचरले गोही, खोला र पर्यटनलाई समेटेर मेला आयोजना गरेको हो। मेलाको मुख्य आकर्षणमा गोही, नदीमा आधारित संरक्षण गीत तथा नाटक, विद्यार्थी सचेतना कार्यक्रम, गोहीको खाना र वासस्थान सम्बन्धी खेल रहेका छन्।
गत मंसीर २२ र २३ गते दुई दिन चलेको मेलामा नदी किनार सरसफाइ तथा र्याली कार्यक्रम पनि समावेश थियो। मेलामा बालबालिकाले गोहीको मुकुट लगाएर दौडिने, गालामा ‘सेभ घडियाल’, ‘मगर गोही जोगाऔं’ जस्ता अक्षर कोरेर ‘फेस पेन्टिङ’ गर्ने गरेका थिए। सौरहा घुम्न आएका विदेशी पर्यटकले पनि गोही मेलाको स्टल चहारेका थिए।
नेपालमा दुई प्रजातिका गोही पाइन्छन्। त्यसमध्ये एक मगर गोही हो भने अर्को घडियाल गोही हो। यी गोहीलाई तिनको मुखाकृति हेरेर छुट्याउन सकिन्छ। मगर गोहीको मुख थेप्चो र ठूलो हुन्छ। घडियाल गोहीको मुख लामो र सानो हुन्छ।
हाल नेपालमा भइरहेका गोही सम्बन्धी अनुसन्धानले यी दुवै प्रजातिलाई खतरा भएको देखाएको छ। माछा मार्न तियारी जालको प्रयोग, अवैधानिक बालुवा उत्खनन, बाँध, जल प्रदूषण लगायतले यी गोहीलाई संकटमा पारेको छ।
गोही संरक्षणमा स्थानीयको सहभागिता, वैज्ञानिक सूचनाबारे जानकारी, दिगो सरंक्षण साथै नयाँ पिंढीमा संरक्षण संस्कृतिको विकास गर्न मेला आयोजना गरिएको हो।