सेताम्य हिमाल किन हुँदै छ कालो?
जलवायु परिवर्तनको असरले सेताम्य हिमाल कालो हुँदै गएको एक कार्यक्रममा सहभागी विज्ञहरूले बताएका छन्।
पोखरामा जारी आठौं पर्वतीय महोत्सवका अवसरमा आयोजित ‘हिमाल किन कालो हुँदै छ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्धित छ?’ शीर्षकको बहसमा सहभागी विज्ञले हिमाल कालो हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन्। “विश्वव्यापी तापमान वृद्धिले हिमालको हिउँ पग्लिँदै गए माउन्टेन क्लाइम्बिङ कुनै दिन रक क्लाइम्बिङमा फेरिन सक्छ,” विश्व वन्यजन्तु कोषका नेपाल प्रमुख एवं संरक्षणविद् डा. घनश्याम गुरुङले भने, “जलवायु परिवर्तनको असर न्यूनीकरणका उपाय अपनाउनु र यससँग अनुकूलन हुनुको विकल्प छैन।”
संरक्षणविद् गुरुङले अहिलेकै गतिमा हिउँ पग्लँदै गए आउँदा केही वर्षभित्रै हिमाल कालापत्थरमा परिणत हुने बताए। पृथ्वीको तापक्रम वृद्धि र धूवाँधूलोका कारण हिमाल पग्लिरहेको उनको भनाइ थियो।
कार्बन उत्सर्जनमा नेपालको योगदान नभए पनि जलवायु परिवर्तनको विश्वव्यापी असरबाट बच्न स्थानीय तवरबाटै योजना बनाउनुपर्ने धारणा राखे। “जलवायु परिवर्तनमा विकसित देशको मात्र दोष छ, नेपालको केही भूमिका छैन भनेर हामी चूप लागेर बस्नु हुँदैन,” गुरुङले भने, “अन्तर्राष्ट्रिय समुदायमा आवाज उठाउन पनि हामीसँग नैतिक धरातल चाहिन्छ।”
छलफलका अर्का वक्ता लेखक एवं वरिष्ठ पत्रकार कुन्द दीक्षितले जलवायु परिवर्तनलाई अब जलवायु संकट भन्नुपर्ने वेला आएको बताए। दीक्षितले जलवायु परिवर्तनलाई वातावरणीय समस्याका रूपमा मात्र नहेरेर अर्थ–राजनीतिक पाटोबाट पनि हेर्नुपर्ने धारणा राखे।
“पृथ्वीको तापमान वृद्धि भइरहेको छ, अबको केही दशकमा हिमालहरू हिमाल जस्तै नरहन सक्छन्, त्यसबाट पानीको संकट उत्पन्न हुन्छ,” दीक्षितले भने, “यसले पानीमा आधारित कृषि र जनजीवनमा ठूलो असर पर्छ।”
हिमालबाट हिउँ रित्तिए नदी र पानीको स्रोत सुक्ने उनको भनाइ थियो। नेपालले खनिज तेलको खपत घटाएर स्वच्छ ऊर्जाको प्रयोगलाई बढाउनुपर्ने दीक्षितले बताए। पेट्रोलियम पदार्थको सट्टा जलविद्युत् र नवीकरणीय ऊर्जाको प्रयोगलाई राज्यले प्रोत्साहित गर्नुपर्ने उनकाे भनाइ थियो।
“नेपालमा उत्पादन हुने बिजुली स्वदेशमै खपत गर्न विद्युतीय सवारीसाधन चलाउनेदेखि भान्सामा पनि विद्युतीय उपकरणको प्रयोगलाई बढाउनु आवश्यक छ,” दीक्षितले भने, “पृथ्वीको तापक्रम बढ्नुमा खनिज तेलको प्रमुख हात छ, यसको सट्टा अब स्वच्छ ऊर्जा प्रयोग गर्नुपर्छ।”
अर्का वक्ता जीविकोपार्जन तथा बसाइँसराइविद् डा. अमिना महर्जनले जलवायु परिवर्तनले नेपालमा मात्र नभएर सिंगो हिन्दूकुश क्षेत्रकै हिमाल सुक्खा बन्दै गएको बताइन्। “जलवायु परिवर्तनले पर्यावरण, कृषि, पर्यटन, स्वास्थ्य लगायत क्षेत्रमा प्रत्यक्ष-अप्रत्यक्ष असर पुर्याइरहेको छ,” महर्जनले भनिन्, “जलवायु परिवर्तनको प्रभाव बढ्दै जान्छ, घट्दैन। तसर्थ यससँग अनुकूलन हुनु बाहेक अर्को विकल्प छैन।”
पृथ्वीको तापमान वृद्धि हुँदै जानुमा नेपालको भूमिका नभए पनि यसको परिणाम भने भोग्नुपरिरहेको उनले बताइन्। केही महीनाअघि मुस्ताङको कागबेनीमा आएको बाढी, सन् २०१२ मा हिमपहिरोका कारण सेती नदीमा आएको बाढी त्यसकै उदाहरण भएको महर्जनले बताइन्।
“जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा परेको प्रभावबारे कम बहस हुने गरेको छ, खासै अनुसन्धान पनि भएको छैन,” डा. महर्जनले भनिन्, “नयाँ नयाँ जनस्वास्थ्यका समस्या निम्तिरहेका छन्, रोग विस्तार भएका छन्।”
जलवायु अनुकूलन योजनाका लागि सरकार र अन्तर्राष्ट्रिय क्षेत्रबाट न्यून मात्र सहयोग भएको उनकाे भनाइ थियो। यसमा स्थानीय समुदायले नै पहल गरिरहेको उनले उल्लेख गरिन्। “जति प्रयास स्थानीय समुदायबाट भएको छ, सरकारबाट त्यति हुन सकेको छैन, ‘लस एन्ड ड्यामेज फन्ड’ का लागि पनि सरकारले अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउनुपर्छ।”
त्यस्तै, जलवायु परिवर्तन र खाद्य सुरक्षा अनुसन्धाता डा. जगन्नाथ अधिकारीले हिमालको सम्बन्ध नेपाली संस्कृतिसँग पनि जोडिएको उल्लेख गरे। “बिहानै हिमाल हेर्यो भने दिन पवित्र हुन्छ भन्ने आममान्यता छ, विभिन्न देवीदेवताका नामबाट पनि हिमाललाई पुकारिन्छ,” अधिकारीले भने, “हिमालय क्षेत्र मानिसको जनजीवन र संस्कृतिसँग प्रत्यक्ष जोडिएको छ, हिउँ नरहे हाम्रा सांस्कृतिक परम्परा पनि हराउन सक्छन्।”
उनले हावापानीमा आएको परिवर्तनले कृषि उत्पादन कम हुने, बालीनालीमा रोगकीराले सताउने जस्ता समस्या बढिरहेको उल्लेख गरे। “कृषि उत्पादन घट्दा खाद्य सुरक्षामा पनि असर पुग्छ, मुस्ताङ, मनाङ जस्ता हिमाली जिल्लामा त हिउँ नपरेसम्म खेती बाली नै हुँदैन,” डा. अधिकारीले भने, “प्राकृतिक विपद्को पनि उस्तै जोखिम छ, जलवायु परिवर्तनका बहुअसर छन्।”
शुक्रबार शुरू भएको महोत्सव मंगलबार सकिंदै छ। महोत्सवमा पर्वतीय जनजीवन र कीर्तिमानी आरोहीबारे वृत्तचित्र देखाइएको महोत्सवकी सदस्य-सचिव निर्मला न्यौपानेले बताइन्।
महोत्सवमा तीन दिनसम्म आर्चरी, जीपलाइन खेल पनि प्रदर्शन गरिएको थियो। त्यस्तै, नेपाल पन्छी संरक्षण संघसँगको सहकार्यमा गिद्ध संरक्षणबारे जनचेतनामूलक नाटक ‘साइलेन्ट बर्डस्’ देखाएको छ।