धुर्बे हात्तीलाई लट्ठ्याएर फेरि जोडियो रेडियो कलर
जंगली हात्ती धुर्बेको घाँटीमा फेरि रेडियो कलर जोडिएको छ।
चितवन राष्ट्रिय निकुञ्जको सेखीभार पोस्ट नजिक सोमबार अपराह्न डार्ट गरेर धुर्बेलाई समातिएको थियो। डार्ट गरेर लट्ठिएको हात्तीको घाँटीमा फेरि रेडियो कलर जडान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए।
गाउँ छिरेर घर भत्काउन थालेपछि धुर्बेका गतिविधि निगरानी गर्न रेडियो कलर जडान गरिएको उनले बताए। हात्तीका गतिविधि हेरेर स्थानीय बासिन्दालाई सचेत गराउन सकिने उनको भनाइ छ।
पछिल्लो पटक तिहार लगत्तै धुर्बे हात्तीले माडी र जगतपुर क्षेत्रमा घर भत्काउन शुरू गरेको थियो। यस क्षेत्रमा १५ घर भत्काएको उनले बताए। गाउँमा पसेर आक्रमण गर्न थालेपछि निकुञ्जले निगरानी थालेको थियो।
धुर्बे हात्तीको आक्रमणबाट २०६९ सालमा माडीमा चार जनाको ज्यान गएको थियो। त्यति वेला पनि रेडियो कलर जडान गरिएको थियो।
त्यसपछि केही समय नदेखिएको धुर्बे हात्ती २०७४ सालमा फेरि गाउँ पसेको थियो। आक्रमण गर्न थालेपछि २०७७ मा फेरि रेडियो कलर जडान गरिएको थियो। दुवै पटक जडान गरिएको रेडियो कलरले काम गर्न छोडेको थियो।
पछिल्लो पटक फेरि कात्तिकमा गाउँमा देखिन थालेको हो। धुर्बे हात्तीका क्रियाकलाप निगरानी गरेर स्थानीय बासिन्दालाई आक्रमणबाट जोगाउन सकिने र गाउँमा पस्न थालेपछि धपाउन पनि सजिलो हुने निकुञ्जले जनाएको छ।
यस पटक भने धुर्बे हात्तीको लामो भएको दाह्रा पनि काटिएको तिवारीले बताए।