घोराहीमा पनि चल्यो डोजर, घरटहरा भत्काइए
दाङको घोराही उपमहानगरपालिकामा पनि डोजर चलाएर सडक किनारका घरटहरा भत्काइएका छन्।
मेयर नरुलाल चौधरी नै डोजरसँगै घरटहरा भत्काउन पुगेका थिए। घोराही–१०, नारायणपुरमा सडक मिचेर बनाइएका सात वटा घरटहरा हटाइएका छन्।
स्थानीय बासिन्दाले नै सार्वजनिक जग्गा मिचेर बनाएको घरटहरा हटाउन न्यायिक समितिमा निवेदन दिएका थिए। न्यायिक समितिले २०७४ फागुन १५ गते सार्वजनिक जग्गा मिचेर अवैध संरचना तथा घरटहरा बनाएको ठहर गर्दै हटाउने निर्णय गरेको थियो।
त्यस विरुद्ध स्थानीय जयन्ता अलीले उच्च अदालतमा निवेदन दिएकी थिइन्। उच्च अदालतले न्यायिक समितिकै निर्णय सदर गरेको थियो। त्यसपछि आज डोजर लगाएर घरटहरा भत्काइएको हो।
सार्वजनिक जग्गा मिचेर घरटहरा बनाएर बसेका स्थानीय बासिन्दालाई पटक पटक आग्रह गर्दा पनि खाली नगरेकाले डोजर लगाउनुपरेको मेयर चौधरीको भनाइ छ। घरटहरा भत्काउन नगर प्रहरीसँगै नेपाल प्रहरीको टोली पनि खटिएको थियो।