काठमाडौंमा उडिसाको ‘सार्वभौम वन’ (तस्वीरहरू)
भारतीय फिल्म निर्माता अमर कन्वरको मल्टिमिडिया प्रस्तुति ‘सार्वभौम वन’ को काठमाडौंमा प्रदर्शनी शुरू भएको छ।
भारतको उडिसा राज्यमा सन् १९९० बाट रैथाने जनजाति तथा किसानलाई जबर्जस्ती विस्थापन गर्ने क्रम शुरू भयो। अझ पछिल्लो साढे दुई दशकमा थुप्रै पर्वत शृंखला, वनजंगल तथा कृषियोग्य जमीनलाई खनिज पदार्थ उत्खनन समूह र व्यापारिक संस्थाले व्यावसायिक प्रयोजनका लागि भाडामा लिने वा किन्ने गर्न थाले।
यसका लागि राजनीतिक दलका नेताहरू, सरकारी अधिकारी, प्रहरी, प्रशासन तथा आपराधिक समूहको मिलेमतोमा स्थानीय बासिन्दामाथि दमन भयो। दमन विरुद्ध स्थानीय किसान, माझी समुदाय र रैथाने आदिवासीले प्रतिरोध गर्न थाले।
यही द्वन्द्वका विषयमा सन् १९९९ देखि दस्तावेज राख्न थालेका फिल्म निर्माता अन्वरले मल्टिमिडिया कलाकृति ‘सार्वभौम वन’ तयार पारेका हुन्। सुधीर पटनाइक र शेरना दस्तुरसँगको सहकार्यमा तयार भएको ‘सार्वभौम वन’ लाई फोटोसर्कलले काठमाडौंमा प्रदर्शन गरेको हो।
नेपाल कला परिषद्मा शुरू भएको प्रदर्शनी आउँदो चैत १८ गतेसम्म चल्नेछ। बिहान ११ देखि बेलुका ७ बजेसम्म प्रदर्शनीमा सहभागी हुन सकिनेछ।