नेपाली युवा युक्रेनी सेनामा पनि छन् : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले रूसमा मात्रै नभई युक्रेनी सेनामा पनि नेपाली युवा कार्यरत रहेको बताएका छन्।
नेकपा (माओवादी केन्द्र)को मुख्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा दाहालले भने, “रूसी सेनाका तर्फबाट युक्रेनको कब्जामा परेकाहरूको भनाइ बाहिर आइरहेका छन्, युक्रेनी सेनामा पनि नेपाली छन्।”
युक्रेनी सेनामा कति नेपाली छन् भन्ने तथ्यांक सरकारले खोजिरहेको प्रधानमन्त्री दाहालको भनाइ थियो।
प्रधानमन्त्री दाहालका अनुसार रूसी सेनामा करीब २०० नेपाली युवा छन्। पढ्न र भिजिट भिसामा गएकाहरू पनि रूसी सेनामा भर्ती भइरहेको सूचना आफूले प्राप्त गरेको उनले बताए।
नेपाल सरकारले रूसी सेनामा कार्यरत ६ नेपालीको ज्यान गइसकेको पुष्टि गरिसकेको छ। केही युवालाई युक्रेनी सेनाले बन्धक बनाएको समाचार सार्वजनिक भएका छन्।
रूस र युक्रेनबीच युद्ध शुरू भएपछि नेपाली युवा त्यहाँको सेनामा भर्ना हुन थालेका हुन्।
यो पनि पढ्नुहोस्: युक्रेनी सेनाको कब्जामा रहेका प्रतीक भन्छन्, “रूस नआउनू, पैसा र पासपोर्ट मात्र सबथोक होइन”