अडिएका पाइला : रुमानी समाजको प्रतिविम्ब
एकै बसाइमा पढ्न सकिने सरल र मिठासपूर्ण यस उपन्यासका कैयौं अनुच्छेद कविता झैं लाग्छन्। मुख्यतः युवावस्थाको प्रेम सम्बन्धलाई चित्रण गरे पनि यसले पाठकलाई प्रेमको फराकिलो भूगोलमा पुर्याउँछ।
उपन्यास अडिएका पाइलाले प्रेम र दर्शनको समानान्तर यात्रा गराउँछ। विष्णु सापकोटाको पहिलो उपन्यास समेत रहेको अडिएका पाइलामा पात्रहरू गहिराइमा पुगेर प्रेमलाई अनुभूत र व्याख्या गर्छन्।
प्रेमकै टेकोमा लेखकले एक रुमानी समाजको प्रतिविम्ब पनि पस्कन्छन् जहाँ दैनिक रोजीरोटीका लागि संघर्ष गर्नु पर्दैन। उपन्यासका पात्रहरू अस्तित्व, अनसूया, वन्दना र मोहन त्यही रुमानी समाजको प्रतिनिधित्व गर्छन्। यी पात्रहरू आत्मखोजको यात्रामा हिंडिरहेको पनि महसूस हुन्छ।
उपन्यासको कथानक ७० र ८० को दशकको सेरोफेरोमा बुनिएको छ। कथाका प्रमुख पात्र २१/२२ वर्षीया अनसूया र ३० को हाराहारीका अस्तित्व हुन्। अस्तित्व त्रिभुवन विश्वविद्यालयमा पढाउँछन्। अनसूया मेडिकल स्कूलमा पढ्छिन्। उनीहरूबीच करीब ६ वर्षको उमेरको अन्तर छ। उनीहरूले बाँचेको परिवेश पनि फरक छ।
अनसूया प्राध्यापककी एक्ली छोरी, काठमाडौं बाहिरको दुनियाँ उसले विरलै देखेकी छ। अनसूयासँग अभावका कथाहरू छैनन्। तर यस्तै चित्रण अस्तित्वको सवालमा छैन। उसको उपस्थिति शहरमा भित्रिएको बाहिरिया झैं लाग्दैन। भाषिक दृष्टिकोण अस्तित्वको चित्रमा आञ्चलिकता झल्किनुपर्ने हो, जुन उपन्यासमा पाइँदैन। उपन्यास पढिरहँदा, अनसूया र अस्तित्वबीच विविधता भेटिंदैन।
अनुभवका आधारमा पनि अनसूया र अस्तित्व भिन्न हुनुपर्ने हो। तर लेखकले उनीहरूबीच प्रेम र विचारको अन्तर देखाएका छैनन्। उपन्यास उघार्दै जाँदा यस्तो लाग्छ, दुवै परिपक्व प्रेमी हुन्। अनसूयाले करीब ६ वर्ष अगाडि बोल्न छोडेको आफ्नो प्रेमीलाई यसरी सम्झिरहन्छिन् मानौं उनी आधुनिक मुना हुन् र अस्तित्व यस युगका मदन।
केही महीनाको प्रेमसम्बन्ध मात्र भएको प्रेमीलाई ६ वर्षसम्म हरेक दिन सम्झिरहेको कुरा अचम्म र केही हदसम्म अपत्यारिलो पनि लाग्छ।
उपन्यासमा अस्तित्वलाई देखेर अनसूया आकर्षित भए जसरी नै वन्दना पनि मोहनप्रति आकर्षित हुन्छिन्। अनायासै पात्रहरू प्रेममा परिरहेका हुन्छन्। उपन्यासको बीचमा बेपत्ता भएका पात्र मोहन उपन्यासको अन्त्यतिर फेरि देखा पर्छन्। यहाँ प्रेम, आकर्षण र भौगोलिक दूरीले मान्छेका सम्बन्धलाई कसरी अर्कै क्षितिजमा पुर्याउँछ भनेर लेखकले देखाउन खोजेका छन्।
मिठासपूर्ण तर असामञ्जस्य
उपन्यासको भाषा मीठो छ। भाषिक हिसाबले यो कृतिमा निकै मेहनत गरिएको छ। तथापि कथानक र भाषाबीच सामञ्जस्य भेटिंदैन। उपन्यासभरि लेखक बोले झैं लाग्छ।
अहिलेको पुस्ताको भाषिक चेतलाई पक्रन लेखक चुकेका छन्। शहरमा हुर्किरहेको अहिलेको पुस्ताको कथा भए पनि उपन्यासका पात्रमा परिपक्व मानिसको लवज झैं बोलीवचन भेटिन्छ।
उपन्यासको शुरूआतमा, भर्खरै ए लेभल सकेकी किशोरी अनसूयालाई लेखकले यसरी चित्रण गरेका छन् मानौं ऊ जीवन र जगत्को अनुभूतिले खारिएकी छ। किशोरावस्था भर्खरै पार गरेकी ऊ प्रेमलाई यति गहिरोसँग व्याख्या गर्छे मानौं उसले बोलेका वाक्यहरू फारसी कवि जलालुद्दिन मोहम्मद रुमीका कविताका पंक्तिहरू हुन्।
कहिलेकाहीं उपन्यास यथार्थको वरिपरि रहे झैं लाग्छ। कहिलेकाहीं स्मृतिलाई लिएर लेखिएको एक रुमानी यात्रा झैं। यथार्थ र कल्पनाशीलता दुवै भेटिए पनि पाठकलाई यी दुवै पत्यारिलो भने लाग्दैन। पाठकले न त कल्पनाशीलता न त यथार्थकै अनुभूति गर्न सक्छन्। शायद लेखकलाई लागेको हुँदो हो- संसारमा पूर्ण कल्पना र पूर्ण सत्य भन्ने हुँदैन।
तर यसले गर्दा उपन्यासले जुन पुस्तालाई चित्रण गर्न खोजेको छ त्यसको उचित प्रतिनिधित्व नभए झैं महसूस हुन्छ।
कथामा प्रेमको तड्पन र तड्पनको मनोगत व्याख्या गरेको भेटिन्छ। तथापि कथा तेस्रो कथावाचकले भनेको छ। जसको कथा हो ऊ नै वाचक भएको भए पात्रको भोगाइ अझ अनुभूत गर्न सक्ने तहको हुन्थ्यो। तेस्रो कथावाचक हुँदा उपन्यास पढ्दै गर्दा कसरी अरू कसैको मनको कुरा भन्न सक्यो भन्ने प्रश्न पनि वेलावेला उठ्छ।
बहुकथावाचक बनाएर आआफ्नो कथा पात्रहरू आफैंलाई भन्न लगाएको भए पढ्दा अझ रोचक बन्थ्यो कि भन्ने पनि महसूस भइरहन्छ। उपन्यासको भाषा सुन्दर र विम्बात्मक हुँदाहुदै पनि यस्ता ससाना कुरामा लेखक चुकेको जस्तो लाग्छ।
केही कमजोरीका बावजूद यो उपन्यास एकै बसाइँमा पढ्न सकिने सरल र मिठासपूर्ण छ। उपन्यासका कैयौं अनुच्छेद कविता झैं लाग्छन्। मुख्यतः युवावस्थाको प्रेम सम्बन्धलाई चित्रण गरे पनि यसले पाठकलाई प्रेमको फराकिलो भूगोलमा पुर्याउँछ।
७० को दशकको कथा उपन्यासका रूपमा विरलै आएको छ र त्यस कथालाई पनि मिहिन र दर्शनको गहिराइसम्म पुगेर व्याख्या गरेको छ अडिएका पाइलाले।