ललितपुर महानगर कार्यालय अगाडि उभिने ईःको घोषणा
साँझबिहान फूटपाथमा व्यापार गर्न नदिने ललितपुर महानगरपालिकाको निर्णय विरुद्ध अभियन्ता ईःले उभिएर विरोध गर्ने भएका छन्।
उनले ललितपुर महानगरलाई यस्तो निर्णय फिर्ता लिन आग्रह गरेका छन्। यसप्रति महानगरलाई सचेत गराउन १०८ मिनेट ललितपुर महानगरको कार्यालय अगाडि उभिने घोषणा गरेका छन्। मंगलबार अपराह्न ३ बजेबाट उभिएर विरोध प्रदर्शन शुरू गर्ने उनले बताएका छन्।
ललितपुर महानगरले मंगलबजारदेखि लगनखेलसम्म फूटपाथमा व्यापार गर्न नदिने निर्णय गरेको थियो। यसले साना व्यवसायीलाई असर परेको भन्दै अभियन्ता ईःले पुनर्विचार गर्न महानगरलाई आग्रह गरेका छन्।
उनले भनेका छन्, ‘कर लेऊ। गरी खान देऊ।’
साना व्यापारीलाई विस्थापित गरेर समस्या समाधान नहुने उनको भनाइ छ। “विस्थापन होइन, व्यवस्थापन गर,” उनले भनेका छन्।
यसअघि उनले काठमाडौं महानगरपालिकाको निर्णय विरुद्ध पनि उभिएर प्रदर्शन गरेका थिए। राष्ट्रिय सभा गृह अगाडि १९९ घण्टा उभिएपछि महानगरले सहमति गरेको थियो।