बेनीमा ठडियो भिडन्तको निशानी
बेनी आक्रमणका क्रममा गोलीले छियाछिया भएको बिजुलीको पोललाई दशवर्षे सशस्त्र द्वन्द्वको भिडन्तको निशानीका रूपमा बेनीमा ठड्याइएको छ।
सशस्त्र द्वन्द्वका क्रममा २०६० चैत ७ गते म्याग्दीको सदरमुकाम बेनी बजारमा माओवादीले सेनाको ब्यारेकमा आक्रमण गरेको थियो। त्यस आक्रमणका क्रममा गोलीले छियाछिया भएको पोललाई मानव अधिकार दिवसका अवसरमा मंसीर २४ गते बेनी नगरपालिका परिसरमा ठड्याइएको हो।
त्यति वेला बेवारिस रहेको पोललाई ललितपुरको यल माया केन्द्रमा ल्याएर जतनसँग राखिएको थियो। मदन पुरस्कार पुस्तकालय र यल माया केन्द्रले संरक्षण गरेर राखेको पोललाई मंसीर २१ गते बेनी फर्काइएको थियो। स्थानीय जनप्रतिनिधिले संरक्षण गर्ने योजना बनाएपछि पोल बेनी नै फर्काइएको हो।
माओवादी सशस्त्र द्वन्द्वको अन्तिम भिडन्तको अवशेष भएकाले शान्ति पार्कमा रूपान्तरण गर्ने नगरपालिकाको पहल अनुसार अहिले कार्यालय परिसरमा ठड्याइएको बेनीका मेयर सुरत केसीले बताए। “बेनी भिडन्त नेपालको तत्कालीन द्वन्द्वरत पक्षहरूबीचको अन्तिम लडाइँ थियो,” मेयर केसीले हिमालखबरसँग भने, “त्यो भिडन्तपछि युद्धविराम गरियो र राजनीतिक विकासक्रम शान्ति सम्झौतासम्म लम्बियो। जसले आखिरमा अहिलेको यो राजनीतिक व्यवस्थामा ल्याइपुर्यायो। त्यही भएर पनि बेनी भिडन्तको महत्त्व छ।”
बेनीको मंगलाघाट बजार छेउमा रहेको नेपाली सेनाको श्री कालीप्रसाद गण (ई) मा २०६० चैत ७ गते शनिबार राति माओवादीले आक्रमण गरेको थियो। जसमा दुवै पक्ष र सर्वसाधारण गरी १४० जनाको ज्यान गएको थियो।
माओवादीले जिल्ला सदरमुकाममा गरेका नौ वटा आक्रमणमा बेनी आक्रमण सैन्य दृष्टिले सबैभन्दा ठूलो आक्रमण हो। यसमा १७ प्रहरी, १४ सैनिक र ९० जना माओवादी लडाकूको ज्यान गएको थियो। त्यस्तै, दुई जना बालबालिका सहित १९ जना सर्वसाधारणले ज्यान गुमाएका थिए।
झन्डै १२ घण्टा चलेको त्यो आक्रमणलाई जापानी पत्रकार एवं लेखक कियोको ओगुराले अनुसन्धान लेखमा स्मरण गरेकी छन्। यूरोपियन बुलेटिन अफ हिमालय रिसर्चमा प्रकाशित लेखमा बेनीमा राजनीतिक र रणनीतिक दृष्टिले आक्रमण गरिएको ओगुराले उल्लेख गरेकी छन्।
कालीगण्डकी र भेरी नदी आसपासको यो क्षेत्रलाई माओवादीले मगराँत स्वायत्त क्षेत्र घोषणा गरेकाले पनि सदरमुकाम बेनी कब्जा गर्ने रणनीति रहेको जनाएकी छन्। “माओवादी प्रभावित म्याग्दी जिल्ला सरकारले घोषणा गरेको विशेष क्षेत्रमा परेको थियो,” ओगुराले लेखेकी छन्, “माओवादीले आक्रमण गरेका सदरमुकाममध्ये घोराही बाहेक बेनी नै सहज पहुँचमा रहेको मुकाम थियो।”
त्यसैले पनि यसको बेग्लै महत्त्व रहेको बेनीका मेयर केसीको भनाइ छ। “यो भिडन्त अन्तिम हुनुको अर्थ दुवै पक्षले अब लडेर हुँदैन भन्ने बुझेका थिए,” केसीले भने, “बेनी भिडन्तका द्वन्द्वकालीन अवशेष जम्मा गरेर हामीले त्यो अन्तिम भिडन्तलाई पर्यटनसँग जोड्ने र यहाँको ऐतिहासिकतालाई पनि जोगाउने प्रयास गरेका हौं।”
कस्तूरीलाई आफ्नो नाभिको महत्त्व थाहा नभए जस्तै यो पोलको महत्त्व पनि मदन पुरस्कार पुस्तकालयमा पुगेपछि थाहा भएको उनी सुनाउँछन्। “यो पोल यहीं भएको भए यसको महत्त्व शायदै आमजनताले थाहा पाउँथे होलान्,” मेयर केसीले भने।
पोललाई नगरपालिका परिसरमा सर्वसाधारणले जति वेला पनि अवलोकन गर्न सक्ने गरी राखिएको छ। नगरपालिकाको परिसरमा त्यति वेला सेनाले जमीनमुनि खनेको बंकर पनि छ, जुन बंकरमा ब्यांकका सुनचाँदी र पैसा दिनदिनै बेलुका ल्याएर राखिने र बिहान बिहान लग्ने गरिन्थ्यो।
यही बंकरमा द्वन्द्वकालीन तस्वीर प्रदर्शनी गर्ने पनि नगरपालिकाको योजना रहेको उनले बताए। “बंकरभन्दा माथि आल्मुनियमको फ्रेमिङ गरेर साँझमा भिडिओ प्रदर्शन गर्ने योजना छ,” केसीले भने, “जसले गर्दा यहाँ घुम्न आएका पर्यटकलाई एक साँझ बेनीमा बस्नुपर्ने सन्देश जान सकोस्।”
यी कामबाट बेनीमा पर्यटन प्रवर्द्धन गर्ने र ऐतिहासिकता जोगाउने नगरपालिकाको लक्ष्य छ। यसका लागि बेनी-७ मा शान्ति पार्क निर्माणका लागि डीपीआर अन्तिम चरणमा पुगेको छ। यसका लागि बेनी नगरपालिकाले १२ लाख रुपैयाँ विनियोजन गरेको छ। शान्ति पार्क बनाउन लागिएको ठाउँ नगरपालिकाको आडैमा छ।
त्यस्तो दुःखद समयलाई पार गरेर आयौं भन्ने सन्देश दिन पनि शान्ति पार्क बनाउने राजनीतिक सहमति अनुसार काम अघि बढेको बेनीका प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले बताए। “त्यस वेलाको तीतो यथार्थ मान्छेहरूले हेर्न/देख्न पाऊन् भन्ने हाम्रो उद्देश्य हो,” पौडेलले भने, “अर्को चरणमा देशभरका युद्धसँग सम्बन्धित सामग्री संग्रह गर्ने योजना छ।”
समुदायको संरक्षण सह्रानीय
अनेक मार्ग र माध्यमबाट विदेश पुगेका मूर्ति नेपाल ल्याउने पहल गरे जस्तै बेनीको पोल काठमाडौंबाट त्यहाँ पुग्नु महत्त्वको कुरा भएको संरक्षण अभियन्ता रोशन मिश्रले बताए। “सार्वजनिक स्मारक बनाएर राख्नु अर्को सह्रानीय काम हो,” मिश्रले भने, “त्यो घटनाको तत्कालको प्रभाव र असर त बेनीले भोगेको हो। त्यहीं पार्क बनाएर राख्नु इतिहास संरक्षणको दृष्टिले प्रशंसनीय छ।”
उनी नेपालको राजनीतिक इतिहासलाई नै परिवर्तन गर्ने सशस्त्र माओवादी द्वन्द्वकालीन भिडन्तको प्रतीक बनेको पोल संरक्षण गर्नु इतिहासलाई चिरकालसम्म जोगाउने प्रयासका रूपमा लिन्छन्। “त्यो पोलको प्रत्येक प्वालमा द्वन्द्वको इतिहासको कथा छ,” मिश्रले भने, “सार्वजनिक पार्क बनाएर राख्नु अहिलेको अवस्थामा महत्त्वपूर्ण छ। स्थानीय सरकारले नै यसरी आफ्नो ठाउँमा स्मारक बनाउनु झन् राम्रो कुरा हो।”
नयाँ पुस्तालाई छोडेर जाने भनेकै इतिहास भएकाले संसारभर ऐतिहासिकता झल्किने पार्कको निर्माण हुने गरेको शहरी योजनाकार राहुलमुनि बज्राचार्य बताउँछन्। “विगतका घटनालाई विस्मृतिमा जान नदिन विश्वभरि नै यस्ता स्मारक बनाइन्छन्,” बज्राचार्य भन्छन्, “हामीले कस्ता घटना भोगेका थियौं भन्ने नयाँ पुस्तालाई सिकाउन पढाउन यस्ता स्मारक र पार्कको महत्त्व छ।”
उनी विकास भनेको भौतिक निर्माणलाई मात्र ठानेर संकुचित व्याख्यालाई निरन्तरता दिइरहेको बताउँछन्। “स्थानीय तहले आफ्नो ठाउँको इतिहास संरक्षण गर्नु पनि विकास हो,” बज्राचार्य भन्छन्, “यसको महत्त्वको एउटा पक्ष इतिहास संरक्षण हो भने अर्को सार्वजनिक संलग्नता पनि हो।”
यो पनि पढ्नुहोस्: लडाइँको साक्षी : बेनीको खम्बा