अफगानसँग पराजित भएसँगै नेपाल एशिया कपबाट बाहिरियो
अफगानिस्तानसँग पराजित भएसँगै नेपाल एसीसी यू-१९ एशिया कपबाट बाहिरिएको छ।
दुबईमा आइतबार भएको खेलमा अफगानिस्तानले दिएको २६२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टोली १८८ रनमै समेटिएको हो। नेपालका लागि अर्जुन कुमालले ९१ रन बनाए। उनले १०८ बलमा १३ चौका प्रहार गरे।
त्यस्तै, देव खनालले २४, गुल्सन झाले १७, दीपक बोहराले १५ र दीपेश कँडेलले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
अफगानिस्तानका लागि फरिदून दाउदजाई र नसीर खानले तीन-तीन, मोहम्मद युनुसले दुई वाहिदुल्ला जार्डन र खलिल अहम्दले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा सबै विकेट गुमाएर २६१ रन बनाएको थियो। अफगानिस्तानका लागि जम्शिद जड्रानले शतक प्रहार गरेका थिए। उनले १५२ बलमा १०६ रन बनाए।
नेपालका लागि हेमन्त धामी, गुल्सन झा र सुवास भण्डारीले दुई-दुई तथा आकाश चन्द र दीपेश कँडेलले एक-एक विकेट लिएका थिए।
यसअघि नेपाल पहिले खेलमा पाकिस्तानसँग पराजित भएको थियो। दुई खेलमा हार बेहोरेसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। नेपालले मंगलबार अर्को खेल भारतसँग खेल्नेछ।