धुर्बे हात्तीलाई रेडियो कलर जडान गर्न टोली परिचालन
चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती धुर्बेलाई रेडियो कलर जडान गर्ने भएको छ।
वन क्षेत्रबाट बस्ती प्रवेश गर्न थालेपछि निकुञ्जले हात्तीलाई रेडियो कलर जडान गरेर निगरानी गर्न लागेको हो। विगत केही वर्षयता शान्त रहेको धुर्बे तिहारअघिबाट बस्तीमा पस्न थालेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए।
रेडियो कलर जडानका लागि निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठको नेतृत्वमा प्राविधिक टोली परिचालन गरिएको तिवारीले बताए। हात्तीलाई रेडियो कलर जडान गर्न आवश्यकता अनुसार जनशक्ति परिचालन गर्ने गरी टोली खटाइएको उनको भनाइ छ।
“हात्ती देखिएमा खबर गर्न निकुञ्ज आसपास बसोबास गर्दै आएका समुदाय र निकुञ्ज सुरक्षार्थ रहेका सेनाको पोस्टमा सूचना गरिएको छ,” उनले भने।
अरू हात्तीभन्दा चलाख भएकाले धुर्बेलाई रेडियो कलर जडान गर्न कठिन भएको उनले बताए। हात्तीलाई खुला चौर र घाँसे मैदानमा लगरे बेहोश बनाई यो कलर जडान गर्नुपर्ने भएकाले समस्या हुँदै आएको उनको भनाइ छ।
धुर्बेले बस्तीमा पसेर घर भत्काउने, भण्डारण गरिएका खाद्यान्न नष्ट गर्दै आएको छ। यसलाई रेडियो कलर जडान गरेपछि हात्ती कहाँ छ र के गर्दै छ भन्ने विषयमा निकुञ्जले सहज रूपमा निगरानी गर्न सक्नेछ।
उनले भने, “रेडियो कलर जडान गरेसँगै बस्ती पस्न लागेको भए जनतालाई सूचना गर्न सहज हुनेछ।” यस हात्तीले अहिलेसम्म २० जनाभन्दा बढी मानिसको ज्यान लिइसकेको निकुञ्जले जनाएको छ। -रासस