तीन पटक सकारात्मक सर्किट लागेपछि नेप्से कारोबार बन्द
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा तीन पटक सकारात्मक सर्किट लागेपछि कारोबार बन्द गरिएको छ।
आइतबारको कारोबारपछि परिसूचक १११.२० अंकले बढेर एक हजार ९६३.९८ को बिन्दुमा कायम भएको छ। आइतबार दिउँसो ११ः५ बजे नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धि अर्थात् पहिलो सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि कारोबार रोकिएको थियो।
त्यसपछि ११ः२५ बजे कारोबार खुलेको दुई मिनेटमै दोस्रो पटक सकारात्मक सर्किट लागेको थियो। परिसूचकमा पाँच प्रतिशतको वृद्धि देखिएपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो।
त्यस्तै, नेप्से परिसूचकमा १२ः०७ बजे ६ प्रतिशतको वृद्धि अर्थात् तेस्रो पटक सकारात्मक सर्किट लागेपछि दिनभरिको कारोबार स्थगन गरिएको हो।
हाल कार्यान्वयनमा रहेको ‘सर्किट ब्रेक’ सम्बन्धी व्यवस्था अनुसार कारोबार शुरू भएको पहिलो घण्टामा नेप्से परिसूचक चार प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ। त्यस्तै, दोस्रो घण्टामा पाँच प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घन्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगन हुने व्यवस्था छ।
त्यही व्यवस्था अनुसार आजको कारोबारमा ६ प्रतिशतको वृद्धि देखिएसँगै दिनभरिका लागि कारोबार स्थगन गरिएको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले बताए।
आइतबार २४४ कम्पनीको १३ लाख ६७ हजार ६१५ कित्ता शेयर सात हजार १४ पटक खरीदबिक्री हुँदा ४८ करोड २४ लाख ८२ हजार २३९ रुपैयाँ बराबरको कारोबार भएको छ।