युक्रेनी सेनाको कब्जामा रहेका प्रतीक भन्छन्, “रूस नआउनू, पैसा र पासपोर्ट मात्र सबथोक होइन”
युक्रेनी सेनाको नियन्त्रणमा रहेका प्रतीकले नेपालीहरूलाई सेनामा सहभागी हुने उद्देश्यले रूस नआउन आग्रह गरेका छ्न्।
दाङ, बिजौरीका प्रतीक पुन अहिले युक्रेनी सेनाको कब्जामा छन्। युद्ध क्षेत्रबाट रिपोर्टिङ गरिरहेका युक्रेनका पत्रकार आन्द्रे चाप्लिएंकले सार्वजनिक गरेको भिडिओ अनुसार पुनलाई दक्षिण-पूर्वी युक्रेनको जापोरिजी क्षेत्रबाट सेनाले कब्जामा लिएको हो।
उनी रूसको ७०औं मोटोराइज्ड राइफल रेजिमेन्टको सदस्य रहेको बताइएको छ।
पुनले एक भिडिओ मार्फत युद्धमा सहभागी हुन रूस जान खोजिरहेका नेपाली युवालाई सम्बोधन गर्दै त्यहाँ नजान आग्रह गरेका छन्। उनले युद्धमैदान नेपालमा बसेर सोचेको भन्दा निकै फरक हुने भन्दै पैसा र रूसी पासपोर्टको लोभमा नफस्न आग्रह गरेका छन्।
यसअघि युक्रेनी सेनाले रूसी सेनामा भर्ती भएका काभ्रेका २२ वर्षीय सिद्धार्थ ढकाललाई नियन्त्रण लिएको भिडिओ सार्वजनिक भएको थियो। त्यस्तै, गत असोज २७ गतेदेखि बर्दियाका २३ वर्षीय विवेक खत्री युक्रेनी सेनाको नियन्त्रणमा छन्।
यस्तो छ प्रतीक पुनको भिडिओ सन्देश :
मेरो नाम प्रतीक पुन हो। मेरो घर नेपालको दाङ जिल्लाको बिजौरी हो।
म यहाँ (रूस) विद्यार्थी भिसामा आएको थिएँ। मस्कोमा (रूसको राजधानी) दुईतीन महीना बसेपछि मैले एक जना अजेन्ट मार्फत सेनाको बारेमा सुनें। तिनी मार्फतै म सेनामा भर्ती भएँ।
मलाई सम्झौतापत्र केही दिइएको थिएन। कस्तो सम्झौता हो भन्ने पनि थाहा थिएन। युद्धमैदानमा के भइरहेको छ भन्नेबारे पनि अज्ञात थिएँ।
केही महीनाको तालीमपछि मलाई युद्धमैदानमा खटाइयो। अहिले म युक्रेनमा (युक्रेनी सेनाको कब्जामा) छु। म नेपालीहरूलाई भन्न चाहन्छु- रूस नआउनुस्। सेनामा संलग्न नहुनुस्। युद्धमा नपस्नुस्।
उनीहरूले तपाईंलाई पैसाको लोभ दिन्छन्। रूसी पासपोर्ट पाउने आश्वासन दिन्छन्। तर पैसा र पासपोर्ट मात्र सबथोक होइन।
तपाईंले नेपालमा बसेर सोचेको भन्दा अवस्था बिल्कुल फरक छ यहाँ। जसै तपाईं यहाँ आउनुहुन्छ- तपाईंलाई थाहा हुन्छ कि युद्ध कस्तो हुन्छ भनेर। नेपालीहरूलाई लाग्छ युद्ध छिट्टै सकिन्छ अनि पैसा कमाउन सकिन्छ भनेर। मैले पनि यही सोच्थें। तर यो युद्ध सकिनेवाला छैन। यहाँ जताततै खतरैखतरा छ। तपाईं मर्नुहुन्छ।
त्यसैले सेना र युद्धमा सहभागी हुन यहाँ नआउनुस्।
सम्बन्धित समाचार :
रूसी सेनामा रहेका अर्का नेपाली युवक युक्रेनी सेनाको कब्जामा
रूसी सेनाभित्र दबिएको नेपालीको गुहार