बौद्ध दर्शनमा मानव अधिकार संस्कृति
बौद्ध धर्मदर्शनले २५ सय वर्षअघि नै जातीय, लैंगिक विभेद र दासप्रथा विरुद्धको चेतना उघार्दै मानव अधिकार संस्कृतिलाई प्रवर्द्धन गरेको पाइन्छ।
यस वर्षको मानव अधिकार दिवसको नारा छ, ‘मानव अधिकारको संस्कृतिलाई भविष्यका लागि सुदृढ र दिगो बनाऔं।’
नारा सुनेपछि मनमा एउटा प्रश्न उठ्यो- मानव अधिकार अहिलेसम्म संस्कृति बनेको छैन र? जवाफ स्वाभाविक छ- संस्कृति नबनेकैले नारा बनाउनुपरेको हो। तर बौद्ध दृष्टिकोणबाट हेर्दा यसमा अलि फरक परिदृश्य छ।
बौद्ध वाङ्मयमा भलै मानव अधिकार शब्द छैन तर मानव अधिकारको प्रवर्द्धन गर्ने प्रसंग प्रशस्त छन्। बौद्ध धर्म-दर्शनले मानव जातिप्रति विशिष्ट र केन्द्रीकृत व्यवहार गर्छ। भौतिकवादी दृष्टिकोण राख्नेहरू मानवलाई विशिष्ट चेतनाले युक्त मान्छन् भने अध्यात्मवादीहरू आफूले परमेश्वर, परमात्मा, ईश्वर, विधाता आदि पुकार्ने जगत्शक्तिको इच्छा अनुसार चल्ने ठान्छन्। उनीहरूको विश्वासमा मान्छेको आफ्नो भन्ने केही हुँदैन, सबै अदृश्य शक्तिमा निर्भर छ।
बौद्ध धर्ममा भने मान्छेलाई त्यस्तो परम शक्तिले चलाउने मान्यता छैन। यसले जीवन-जगत्को उत्पत्ति कसरी भयो, अन्त्य कसरी हुन्छ भन्नेमा पनि खासै चासो राख्दैन। किनकि यसबाट जवाफ आइहाले पनि त्यसले समाधान दिंदैन। बौद्ध दर्शन बढी समस्या समाधानमा केन्द्रित हुन्छ, साधनाका माध्यमबाट।
बौद्ध साधनाको कर्मसिद्धान्त अनुसार समस्त जीव दुःखको भुमरीमा छन्। तिनले आफ्नै कर्मको बलमा मात्र त्यसबाट मुक्ति पाउन सक्छन्। प्राणीले बेग्लाबेग्लै नभएर कर्म अनुसारको योनि मात्र भोग्ने हुन्। यसलाई गति पनि भनिन्छ।
बौद्ध दर्शनले षड्लोकको कुरा गर्छ जुन कर्मसिद्धान्त अनुसार समस्त प्राणीलाई प्राप्त हुन्छ। षड्लोकमा नरक, प्रेत, पशु, असुर, मनुष्य र देवलोक पर्छन्। पशुलोकमा जन्मेकाहरू पशु हुन्छन् भने देवलोकमा जन्मेकाहरू देवता। सुगति र दुर्गतिको पनि मान्यता छ जस अनुसार मानिसले राम्रो कर्मबाट सञ्चित पुण्यको बलमा देवलोक त पाउन सक्छ तर त्यो स्थायी हुँदैन।
पुण्य क्षीण हुँदै गएपछि देवलोकबाट च्युत भई पुनः अर्को लोकमा जन्मनुपर्छ। अन्य लोकमा उसको बुद्धि देवलोकमा हुने भनिए जस्तो तीक्ष्ण हुँदैन। राम्रो कर्म गरेर पुण्य सञ्चय गर्ने सोच पनि प्रायः हुँदैन तर यिनै कुराका लागि मानवसँग प्रशस्त अवसर र सम्भावना हुन्छन्।
अदृश्य परमसत्ताको अस्तित्व नकार्ने बौद्ध दर्शनले ‘अत्ता हि अत्तनो नाथो’ अर्थात् आफ्नो मालिक आफैं हुने मान्यता राख्छ। यस अनुसार दुःखमा रहेका सर्वसाधारण प्राणी नै त्यसबाट मुक्तिका लागि साधना गरी स्वयं बुद्ध बन्न सक्छन्। बौद्धहरूले बुद्धलाई परमसत्ता वा ईश्वर नमानी ‘शास्ता’ का रूपमा लिन्छन् जसको अर्थ मार्गदर्शक हुन्छ।
बौद्ध धर्म-दर्शनले ‘जुन सत्त्व (प्राणी)को मन तीक्ष्ण र उत्कृष्ट हुन्छ त्यसलाई मनुष्य भनिन्छ’ भनी परिभाषा गरेको छ। यसले मानवयोनिलाई अत्यन्त दुर्लभ मान्छ। समस्त प्राणीमा बुद्धबीज (तथागतगर्भ) रहे पनि त्यसलाई प्रस्फुटन गर्ने सम्भावना अधिक हुन्छ। मानिस नै त्यस्तो सत्त्व हो, जसले धर्मचित्त उत्पन्न गर्न सक्छ। अन्य गतिमा रहेका सत्त्वहरू यसका लागि सक्षम हुँदैनन्। अन्यलाई नहुने अवसर मानवलाई प्राप्त हुने भएकाले यो योनिलाई ‘क्षणसम्पद’ युक्त मानिन्छ।
यसरी नै पुण्यवान् सज्जनहरूसँग सत्संग गर्ने, कुशल धर्म गर्ने अवसरसँगै धर्मप्रति श्रद्धा जोन्पापबाट विमुख हुने निर्वाण (दुःखबाट मुक्त हुने) प्राप्त हुने यही योनिमा हो। अपार सम्भावनाले युक्त ‘दुर्लभ’ मानवयोनिलाई सदुपयोग गर्न बौद्ध धर्म-दर्शनले जोड दिन्छ। आत्महत्याले ती सम्पूर्ण सम्भावनालाई निमिट्यान्न गरिदिने भएकाले त्यसलाई महापाप अन्तर्गत राखिएको छ।
आधुनिक परिप्रेक्ष्यमा जातीय विभेदलाई मानव अधिकारको उल्लंघन मानिन्छ। बुद्धकालीन समाज पनि वर्ण र जातिवादले ग्रस्त थियो। वैदिक परम्पराले समाजलाई वर्ण र जात अनुसार तल्लो र माथिल्लो भनी विभेद गरेको थियो। समाज ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र गरी चार वर्णमा विभाजित थियो। सबैभन्दा माथिल्लो वर्ण ब्राह्मण मानियो र यही नै पछि जातका रूपमा विकास भयो।
ब्राह्मणका सन्तान ब्राह्मण नै हुने भए। अरू वर्णका मानिस यसमा उक्लिन नसक्ने बनाइयो। अरू तीन वर्ण वा जात पनि क्रमशः तहगत बनाइए। तर गौतम बुद्धलाई यो सामाजिक व्यवस्था अमान्य थियो। तत्कालीन ब्राह्मण समाज बुद्ध विरुद्ध उभिनुको एउटा कारण उनले वर्ण र जातव्यवस्थालाई अस्वीकार गर्नुका साथै त्यसको अनौचित्यबारे बोल्नु र व्यवहारमा उतार्नु पनि थियो।
चार्ल्स डार्विनले गरेको प्राणीको वर्गीकरण अनुसार जात प्राकृतिक जन्मजात आकृतिमा निर्भर हुन्छ भने जातिको ज्ञान अनाकृति अनुसार हुन्छ। जस्तो- मनुष्य, गाई, भैंसी, गधा, घोडा आदि। बुद्धले पनि एउटा सन्दर्भमा जातलाई यसरी नै उल्लेख गरेको पाइन्छ। बौद्ध धर्ममा जातीय विभेद मिथ्यादृष्टि मात्रै नभएर बौद्ध आचरणबाट च्युत हुने कदम पनि हो।
त्यस्तै, बौद्ध धर्ममा लिंगभेद पनि अमान्य छ। यस अनुसार स्त्रीलिंगमा जन्मनु कुनै पापको परिणाम होइन। यसले महिला र पुरुषमा समानताको दृष्टिकोण राख्छ। सम्भवतः व्यवस्थापनको पक्ष हेरेर शुरूमा बुद्धले भिक्षुणी संघ बनाएनन्, पछि त्यसको माग भयो। यही सन्दर्भमा भिक्षु आनन्दको एक प्रश्नमा बुद्धले बुद्धत्व प्राप्तिमा महिला र पुरुषबीच कुनै भेद नभएको स्पष्ट बताएका छन्। भिक्षुणी संघको स्थापनापछि भिक्षुणीले पनि साधना गरी अर्हत् पद (सम्पूर्ण दुःखबाट मुक्तिको अवस्था, श्रावक बुद्ध) पाएका थिए।
एउटै प्राणीका दुई जन्ममा बेग्लाबेग्लै लिंग भएको पनि पाइन्छ। जस्तो- महायानी बौद्ध धर्मसमाज, खास गरी काठमाडौंको नेवार बौद्ध समाजमा अवलोकितेश्वरहरूको संस्कारकर्म महिला र पुरुष दुवै विधिले गरिन्छ। चीन, कोरिया, जापान लगायत देशमा एउटै अवलोकितेश्वरलाई पनि बेग्लाबेग्लै महिला र पुरुष रूपमा प्रस्तुत गरिएको पाइन्छ।
हिजोआज महिला अधिकारसँगै लैंगिक समानताको कुरा पनि उठ्छ। यही मुद्दा बुद्धकै समयमा उठेको र उनले यसलाई व्यवस्थित बनाएको पाइन्छ। महिला अधिकारको विश्वव्यापी आन्दोलन र लैंगिक समानताको मुद्दाले बुद्धशिक्षालाई पूर्णतः आत्मसात् गरेको देखिन्छ जबकि कतिपय समाजमा यो मुद्दा अहिले पनि मान्य छैन।
मानव अधिकारका सवालमा दासप्रथाको कुरा बुलन्द रूपमा उठ्छ। यस प्रथाका सन्दर्भमा भएका केही अन्तर्राष्ट्रिय महासन्धिलाई मानव अधिकारका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि मान्नुपर्छ। बुद्धकालीन समाजमा पनि दासप्रथा थियो। त्यसको उन्मूलनका लागि बुद्धले प्रत्यक्ष अग्रसरता नलिए पनि दासहरू पनि मानिस नै रहेको भन्दै तिनलाई सम्मानजनक व्यवहार गर्नुपर्ने उपदेश बरोबर दिएको पाइन्छ।
बुद्धको उपदेश सुनेर धर्मलाभ गर्ने दासदासीको व्यवहारबाट प्रभावित भई मालिकहरूले तिनलाई स्वतन्त्र गरिदिएका घटना पाइन्छन्। बुद्धको शिक्षा पाएका मालिकहरूले दासहरूलाई मुक्त गरेका घटना पनि उल्लिखित छन्।
गौतम बुद्धद्वारा देशित शिक्षा वा दर्शनसँग मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरू बाझिंदैनन्। मानव अधिकार आन्दोलनका व्यक्तित्व विभिन्न पृष्ठभूमिका छन्। तिनमा बौद्ध धर्म-दर्शनको प्रत्यक्ष प्रभाव परेको हो वा अन्य स्रोतबाट लिएका हुन्, प्रस्ट छैन। तर यी कुरा हिजोआज बुझ्ने गरिए जस्तो यूरोपबाट आएको नभई २६ सय वर्षअघि बुद्धले पनि व्यवहारमा उतारेका तथ्य बौद्ध वाङ्मयमा उपलब्ध छन्।
बौद्ध धर्म-दर्शनलाई ज्ञानका रूपमा बुझ्ने मात्र नभई व्यवहारमै उतार्न जोड दिइन्छ। यस अनुसार बौद्ध धर्मावलम्बी दैनिक जीवनमा निश्चित शील पालना गर्छन्। प्राणी हिंसा गर्नबाट विरक्त हुनु पहिलो शील हो। यसरी नै चोरी, व्यभिचार गर्नु, झूट बोल्नु र मादक पदार्थ सेवनबाट विरक्त हुनु पञ्चशील हो। यी शीलको पालनाले मानव अधिकारमा कुनै दखल पर्दैन, बरु त्यसको प्रवर्द्धनमा सघाउ पुग्छ।
बौद्ध धर्म-दर्शनले मान्ने चार आर्यसत्य र प्रतीत्यसमुत्पाद विशिष्ट दार्शनिक मान्यता हुन्। चार आर्यसत्यभित्रकै अष्टांगिक मार्गमा बौद्धहरू प्रवृत्त हुनुपर्छ। आर्य अष्टांगिक मार्ग भनेको सम्यक् रूपमा वचन, कर्म, व्यायाम, स्मृति, समाधि, संकल्प र दृष्टि राख्नु हो। यी कुरा मुख्य रूपमा दर्शन र त्यसको व्यावहारिक प्रयोग भए पनि मानव अधिकारसँग बाझिंदैनन्।
यसरी नै चतुर्ब्रह्मविहारका रूपमा रहेका मैत्री, करुणा, मुदिता र उपेक्षा आदि चार भावनाको विकास अनिवार्य गरिनुपर्ने विषय पनि मानव अधिकारसँग जोडिन्छ। मान्छेमा मैत्री भावना नभएरै मानव अधिकारको हनन हुने हो। करुणाको भवनाले मानव अधिकारको रक्षा गर्छ। यसरी नै अरूको प्रगतिमा खुशी हुनु मुदिता भावना हो जसले समाजलाई स्वस्थ राख्छ। जुनसुकै प्रकारको अतिवादसँग विरक्त हुनु वा तटस्थ भाव राख्नु उपेक्षा हो।
अनुयायीको संख्याका आधारमा बौद्ध धर्म विश्वमा चौथो स्थानमा आउँछ। विपश्यना ध्यान लगायत बौद्ध साधना गैरबौद्ध समाजमा पनि लोकप्रिय छन्। बौद्ध धर्मदर्शन र मानव अधिकारको अवधारणाबीचको सामीप्य नियाल्दा वर्तमानमा बौद्ध संस्कृतिका केही पक्ष मानव अधिकारका रूपमा विकास भएका छन्। यस अर्थमा मानव अधिकारको संस्कृति मानव जातिका लागि नौलो कुरा होइन। यद्यपि यसको प्रवर्द्धन गरी सुदृढ र दिगो बनाउने नारा सबैका निम्ति हितकर छ।