सुवेदीलाई सवा लाखको कविडाँडा पुरस्कार
कविडाँडा आख्यान पुरस्कार ‘मनु’ उपन्यासका लागि डा. देवीप्रसाद सुवेदीलाई प्रदान गरिएको छ।
लाल-मीना फाउन्डेशनले शनिबार एक कार्यक्रमबीच सुवेदीलाई २०७९ सालको कविडाँडा पुरस्कार प्रदान गरेको हो। फाउन्डेशनकी अध्यक्ष मीना लामिछाने र कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले आख्यानकार सुवेदीलाई सम्मानपत्र सहित नगद पुरस्कार हस्तान्तरण गरेका छन्। पुरस्कारको राशी एक लाख २५ हजार रुपैयाँ छ। सुवेदीका १८ वटा कृति प्रकाशित छन्।
कविडाँडा साहित्य समाजले २०७५ सालदेखि कविडाँडा आख्यान पुरस्कार प्रदान गर्दै आएको छ। २०६० सालमा स्थापना भएको साहित्यिक संस्था कविडाँडाले हरेक वर्ष प्रदान गर्दै आएको छ।
यसअघि यो पुरस्कार २०७५ सालमा महेश थापाको कथा संग्रह ‘मरीचिका’, २०७६ सालमा श्याम साहको कथा संग्रह ‘पथेर’, २०७७ सालमा भुवन ढुंगानाको उपन्यास ‘परित्यक्ता’ र २०७८ सालमा लोकराज भट्टको उपन्यास ‘छाइल’लाई प्रदान गरिएको थियो।
यसै वर्षदेखि पुरस्कारको राशी एक लाख २५ हजार रूपैयाँ बनाइएको उपाध्यक्ष उदय अधिकारीले बताए। यसअघि पुरस्कारको राशी ३० हजार रूपैयाँ थियो।
समाजले गत भदौ २३ गते १० वटा उत्कृष्ट आख्यान कृतिको सूची सार्वजनिक गरेको थियो। जसमा सुवेदीको ‘मनु’, जानुका खतिवडाको ‘आतोओडा’, विवेक ओझाको ‘ऐंठन’, रामलाल जोशीको ‘बाआमा’, अशोक थापाको ‘सन्तापको धून’, गोपी सापकोटाको ‘चिसो बाफ’, मनोज चौधरीको ‘टुवरा’, सञ्जय विष्टको ‘माटाको घर’, हरिबोल काफ्लेको ‘यशोधरा’ र रेणुका जिसीको ‘सनेस’ थिए।
यस्तै, समाजले हरेक वर्ष देव-खीना स्मृति पुरस्कार तथा सम्मान, युवा पुरस्कार, कविडाँडा कीर्ति पुरस्कार र काव्य पुरस्कार पनि प्रदान गर्दै आएको कविडाँडा साहित्य समाजमा अध्यक्ष क्षेत्रीले बताए।