वैरागी काइँलाको त्यो नेता अवतार
सर्जकका रुपमा ख्याती कमाएका वैरागी काइँला कुनै समय राजनीतिमा पनि सक्रिय थिए।
साहित्यकार वैरागी काइँलाका समर्पण, सिर्जना र विज्ञताका क्षेत्र हुन्, कविता र मुन्धुम। भाषिक आन्दोलनको अग्रणी नेता पनि पर्छन्, वैरागी काइँल। उनको योगदान कविता, मुन्धुम र भाषा क्षेत्रमा मात्र छैन, राजनीतिमा पनि छ।
कुनै समय राजनीतिमा पनि सक्रिय थिए। जसले जनतामाझ लोकप्रिय पनि बनाएको थियो। तर, प्राज्ञिक कर्मले राजनीतिक योगदानलाई ओझेलमा पारिदिएको छ। जसले गर्दा नेता वैरागी काइँलाको राजनीतिक सक्रियता कमैलाई थाहा छ।
पञ्चायतकालमा नेपाली कांग्रेसका विभिन्न सांगठनिक तहमा रहेर राजनीतिक कर्मसँगै नेतृत्व पनि गरेका थिए। जतिवेला कांग्रेस प्रतिबन्धित थियो। पञ्चायत विरुद्ध पञ्चायतकै उपयोग गर्दै जनप्रतिनिधिका रुपमा पनि सक्रिय थिए।
२०३६ सालको जनमत संग्रहताका पाँचथरमा अलिकति उदारवादी खालका पञ्चहरू थिए। बाध्यतापूर्वक पञ्चायतमा लागेकामध्ये केही नेता तथा कार्यकर्ताले वैरागी काइँलाकै आग्रहमा पञ्जायतको जिम्मेवारीबाट राजीनामा पनि गरेका थिए।
जनमत संग्रहपछि पाँचथरबाट झापा झरे, वैरागी काइँला। झापाको खुदुनाबारीस्थित घरमै बसेर राजनीतिक रुपमा सक्रिय भए।
पाँचथरमा रहँदा कांग्रेसको जिल्ला उपसभापति भएर पाँच वर्ष काम गरेका थिए। रामबाबु प्रसाईं कांग्रेसको झापा सभापति हुँदा वैरागी काइँला सदस्यको रुपमा सक्रिय थिए, २०४४ सालबाट।
पाँचथरको सारतापका नेम्वाङहरू राणाशासनको विरोधीका रुपमा चिनिन्छन्। उनीहरू पञ्चायत ब्यवस्था विरुद्ध पनि लडिरहे। त्यसमा पनि वैरागी काइँलाका दाजु भूविक्रम र भाइ कृष्णविक्रम नेम्वाङले त पञ्चायती ब्यवस्था विरुद्ध हतियार नै उठाएका थिए। उनीहरूले लोकतन्त्रका लागि कहिल्यै कसैसँग सम्झौता गरेनन्। बरू जेलनेल र प्रवासको जीवनलाई उच्च ठाने।
पञ्चायत विरुद्ध पञ्चायतकै उपयोग
दार्जिलिङमा कलेज पढ्दै गर्दा इन्द्रबहादुर राई र इश्वर बल्लभसँग मिलेर वैरागी काइँलाले साहित्यिक आन्दोलन शुरू गरेका थिए। नेपाली साहित्यिक क्षेत्रमा ‘तेस्रो आयाम’को नामबाट प्रशिद्ध बन्न पुग्यो, त्यो आन्दोलन।
दार्जिलिङबाट स्वदेश फर्केपछि उनी सिधै आफ्नो जन्मस्थान पाँचथरको सारताप पुगे। गाउँमा शैक्षिक ब्यवस्थापनमा लागे।
‘डबल सुब्बा’ उपनामले परिचित उनका बुवा खड्गबहादुर र ठूलोबुवा नरबहादुरले २००६ सालतिर मनरत्न मिडिल स्कूल (हालः सारताप मावि) स्थापना गरेका थिए। गाउँ फर्केपछि त्यसको सञ्चालक समितिमा कहिले सचिव र कहिले सभापति भएर सात वर्ष काम गरे। पछि यो स्कूल सञ्चालनमा उनका काका नयन्द्रराजको ठूलो भूमिका रह्यो।
स्कूलको व्यवस्थापन हेर्दाहेर्दै वैरागी काइँला राजनीतिमा लागे। उनी जनप्रतिनिधि पनि बनेका थिए। पद्मसुन्दर लावतीले आफ्नो संस्मरणमा पञ्चायतको समयमा वैरागी काइँला एकपटक जिल्ला पञ्चायत र अर्को पटक किसान संगठनको मेची अञ्चल सभापतिमा निर्वाचित भएको उल्लेख गरेका छन्।
२०२१ सालमा डा. तुलसी गिरी मन्त्रिपरिषद्को अध्यक्ष थिए। गिरीलाई फिदिम आउन निमन्त्रण गरियो। हेलिकोप्टरमार्फ फिदिम ओर्लिए। त्यतिवेला फिदिममा कसैले पनि हेलिकोप्टर देखेका थिएनन्। हेलिकोप्टर हेर्न भीड नै लागेको थियो।
डा. गिरीसँग एक जना विदेशी नागरिक पनि फिदिम पुगे। उनले पनि भेलालाई सम्बोधन गरेका थिए। वैरागी काइँलाले विदेशीको भाषणलाई नेपालीमा अनुवाद गरेका थिए। काइँला त्यसवेला किसान संगठनको अञ्चल सभापति थिए। जिल्ला पञ्चायतमा पनि रहे। पछि पञ्चायत छाडेर कांग्रेस निकट बने (पद्मसुन्दर लावति, मेरो देश मेरो परिवेश, २०७१ः२४)।
लावतीले भनेजस्तै काइँला पञ्च बन्नका लागि पञ्चायत प्रवेश गर्न पुगेका होइनन्। उनी पहिल्यै खाँटी कांग्रेस थिए। त्यो वेला पञ्चायतको उपयोग गर्दै पञ्चायत विरुद्ध काम गर्ने नीति पनि हुन्थ्यो। जस्तो कि वेनुपराज प्रसाईँ तथा केशवकुमार बुढाथोकीहरू पनि पञ्चायत उपयोग गर्दै मन्त्री समेत बनेर पञ्चायतकै विरुद्ध काम गरेको इतिहास पाइन्छ। २०४६ सालको परिवर्तनपछि उनीहरू कांग्रेसबाट मन्त्री बनेका थिए।
राणाकालकै कांग्रेस
खड्गबहादुर नेम्वाङका आठ छोरामध्ये एक थिए, ओझाहाङ। यो चिनाको नाम हो। औपचारिक रुपमा तीलविक्रम नेम्वाङका नामले चिनिए। जब साहित्यिक र मुन्धुमी क्षेत्रमा लागे, अनि वैरागी काइँला कहलिए।
काइँलाका बुवा खड्गबहादुर नेम्वाङको उपनाम थियो, ‘डबल सुब्बा’। यसो भन्नुको कारण उनी सरकारी सेवाको क्षेत्रमा सुब्बा पदमा थिए भने लिम्बूले पाउने गरेको किपटिया विरासत अन्तर्गतका पनि सुब्बा थिए। त्यसैले डबल सुब्बा भनिए, त्यसैबाट परिचित भए। राणाकालमै सरकारी जागिरे उनी २००७ सालको परिवर्तनपछि पनि अमिनका बिचारी थिए।
उनै डबल सुब्बाले २००७ सालपछि इलाम कब्जा जमाएर बसेको कांग्रेसको जनमुक्ति सेनाको गोलीबाट मारिनबाट निहत्था लिम्बूलाई बचाएका थिए। यसबारे इलामका तत्कालीन अन्तरिम सरकारमा सहभागी नरेन्द्रनाथ बास्तोलाले आफ्नो संस्मरणमा बेलिबिस्तार लगाएका छन्।
त्यतिखेर मुक्ति सेनाको रेखदेख बास्तोलाले गरिरहेका थिए। उनी त्यतिवेला इलाममा गठित सामयिक सरकारको सहगर्भनर, सिभिल एड्मिनिस्ट्रेटर एवं यातायातमन्त्री थिए।
२००७ सालको क्रान्तिमा मुक्ति सेनाले इलाम बजार कब्जा जमाएर अन्तरिम प्रशासन शुरू गरिसकेको थियो। त्यही वेला छुट्टै लिम्बूवान राज्य खडा गर्ने उद्देश्यका साथ लिम्बूहरूको एक समूह संगठित बनेको थियो। एकतबहादुर, जसबहादुर लगायत नौ जनाले नेतृत्व गरेको सशस्त्र समूहमा विजयबहादुरलाई कर्णेल र भीमबहादुरलाई लप्टन दर्जा समेत दिइएको थियो।
उनीहरूले २००८ वैशाख ११ गते पाँचथरको मेहेलबोटे र रवि थानाको हतियार लुटे। वैशाख १२ गते मंगलबारेमा हतियार लुट्ने र आक्रमण गर्ने क्रममा विजयबहादुर र उनका १२ जना साथी मुक्ति सेनाबाट मारिए (नरेन्द्रनाथ बास्तोला, पूर्वाञ्चलमा सात सालको क्रान्ति, २०५३ः९०)।
एकातिर लिम्बूवानका हतियार चलाउन सक्ने कमान्डर र सेना मारिएका थिए भने अर्कातिर त्यही दिन बास्तोला इलाम दरबारमा लिम्बूवानका नेता एकतबहादुर लगायत नौ जनासँग गरमागरम बहस गरिरहेका थिए। लिम्बू नेताका साथ अरू २०-३० युवा पनि इलाम बजार आएका थिए। त्यहीं वेला नरेन्द्रनाथका विश्वासपात्र जापान लिम्बू हडबडाउँदै आए र तत्काल जिल्ला छोड्न सल्लाह दिए।
इलाम कब्जा गर्न हतियार सहित लिम्बू आउँदै गरेको र उनीहरूको पहिलो निशाना बास्तोला नै हुने आफूले थाहा पाएको सूचना पनि दिए। त्यसपछि वार्ता गरिरहेका नौ जना लिम्बू नेतालाई बास्तोलाले जेल पठाए भने आफू मातहतका सेनालाई लिम्बूहरू आइरहेको बाटोतिर निशाना लगाएर तयारी अवस्थामा राखे।
इलाम बजारको चिया बगानबाट दूरबिनले हेर्दा फाकफोकबाट ओह्रालो झर्दै गरेका हजारौं नरनारीको समूह देखा पर्यो। विजयबहादुरले उनीहरूलाई पुवाखोलामा पर्खाएर राख्न खबर गरेका रहेछन्। तर, विजयबहादुर भने आफ्ना १२ जना साथीसहित मंगलबारेमा मारिइसकेका थिए।
एकातिर हतियार तयार पारी गोली छाड्न तयारी अवस्थामा बसेका मुक्ति सेना, अर्कातिर इलामबजार आक्रमण गर्न अगाडि बढिरहेको निहत्था लिम्बूको समूह। मुक्तिसेना पुवाखोलातिर एकटकले आँखा लगाएर हेरिरहेको थियो।
त्यतिनै वेला खैरो रङको घोडामा आएका एक जना बास्तोलाको छेउमै आर्लिए। उनी थिए, अमिनका बिचारी खड्गबहादुर नेम्वाङ। केही समयपछि उनका दुई छोरा डिल्लीबहादुर र डिल्लीविक्रम पनि आइपुगे। उनीहरूले हतियारविनाका हजारौं लिम्बूहरू पुवाखोलामा पर्खिरहेको सूचना पाएका दिए।
यो थाहा पाएपछि खड्गबहादुरले बास्तोलालाई ‘यी लिम्बूका सन्तानलाई नमासिदिनुहोस्’ भनी आग्रह गरे। आफ्ना छोरा लगायत केही मान्छे पठाएर लिम्बूहरूलाई जसरी भए पनि फर्काउन लगाए। त्यसपछि पुवाखोलाबाट लिम्बूहरूको समूह इलामतिर नबढी उकालोतिर फर्कियो। यसरी हतिहारविहीन लिम्बूहरूलाई मुक्तिसेनाको गोली खानबाट खड्गबहादुरले बचाएका थिए (बास्तोला, २०५३:७२-७७)।
राणाकालमै पाँचथरको सारतापका नेम्वाङहरू कांग्रेसी राजनीतिमा छिरेका थिए। नेम्वाङ परिवारमा भूविक्रम नेम्वाङ, नरेन्द्रविक्रम नेम्वाङ, कृष्णविक्रम नेम्वाङ, अमर नेम्वाङ कहलिएका कांग्रेसी नेता हुन्। उनीहरूका केही छोरीहरू भने बामपन्थी राजनीतिबाट प्रभावित भए। अहिले नेकपा (एमाले) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य उर्मिला थेवे पनि एक हुन्।
लखेटिएका बाहुनलाई शरण
२००७ सालपछि लिम्बूहरू लिम्बूवानका लागि जुटेका थिए। त्यसवेला क्षेत्री, बाहुन र त्यसमा पनि कुमाई बाहुनले आफ्नो क्षेत्रबाट भागाभाग गर्नुपर्ने अवस्था आएको थियो।
२००८ सालतिरको एउटा घटना हो। आठराईका लिम्बूहरूले कुमाई बाहुन विरुद्ध हिंसात्मक आन्दोलन चलाए। उनीहरूलाई लखेटे। लिम्बूहरू राणा पक्षधर गोरखा दल (परिषद्)को उक्साहटमा आएर आन्दोलित भएका थिए भन्ने आरोप पनि लगाइने गरिएको छ।
वैरागी काइँलाको विचारमा त्यतिखेर लिम्बूहरूमाथि धेरै नै थिचोमिचो पनि भएको थियो। दुवै कारण यस्तो द्वन्द्वपूर्ण अवस्था आइपुगेको हुन सक्ने काइँलाको आकलन छ। (रमण घिमिरे, नेपालम्याग डट कम, २०७५ साउन ११)।
थातथलोबाट विस्थापित ३००-४०० सय कुमाई बाहुनलाई काइँलाको गाउँ सारतापमा आश्रय दिइएको थियो। उनीहरूलाई आश्रय दिने काममा उनका ठूलोबुवा, बुवा, काका र गाउँलेहरू लागेका थिए। अरूभन्दा हुनेखाने भएकाले त्यस अभियानको मुख्य अगुवाइ र खर्च काइँलाका ठूलोबुवाले नै गरेका थिए।
झण्डै १५ दिनसम्म खाने-बस्ने व्यवस्था गरिएको थियो। गर्भवती महिला गाउँकै शिविरमा सुत्वmेरी भएका थिए। पछि उनीहरूलाई नेपाल सरकारले झापाको जयपुर-बुधबारेमा दुई हजार २०० बिघा वनक्षेत्र पुनर्वासका लागि खोलिदियो (घिमिरे, उही)।
लिम्बूवान भेलामा वैरागी काइँला
कला, साहित्य, भाषा र संस्कृति भनेपछि हुरुक्क हुने विशेषता छ, वैरागी काइँलाको। उनी यस्ता कर्मका लागि नाराजुलुश होइन, प्राज्ञिक क्षेत्रबाट गर्नुपर्छ भन्ने मान्यता राख्छन्। यससँगै लिम्बूहरूले आयोजना गरेका विभिन्न कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुँदै आएका पनि छन्।
यस्तै, २०१६ सालमा तेह्रथुममा लिम्बूवानको विशाल सम्मेलन भएको थियो। लिम्बूवानको सम्मेलन भएको यो पहिलो पटक थियो। सम्मेलनमा तत्कालीन उपमन्त्री देउमान आङ्देम्बे, ललितबहादुर सुब्बा जस्ता प्रबुद्ध ब्यक्तित्त्वको सहभागिता थियो। सम्मेलनले सुब्बा प्रेमबहादुर अध्यक्ष र पद्मसुन्दर लावती सचिव रहेको लिम्बूवान सुरक्षा सुरक्षित संगठन निर्माण गरेको थियो।
सूर्यबहादुर थापा प्रधानमन्त्री भएपछि किपट प्रथाको अन्त्य गराएकाले लिम्बूहरू असन्तुष्ट थिए। त्यसपछि लिम्बूवानको दोस्रो ठूलो सम्मेलन भएको थियो। सम्मेलनमा वैरागी काइँला लगायतका विशिष्ट ब्यक्तित्त्वका सहभागिता थिए (लावति,२०७१:३४-३५)। त्यो साल अतिवृष्टिले नेपालमा ठूलो क्षति भएको काइँला सम्झिन्छन्।