दशकदेखि पछ्याइरहेको नाटकघर सपना
एउटा सपना पूरा हुन कति समय लाग्छ? चितवनका कलाकर्मीले नाटकघर सपना देखेको दशक बित्यो। अझै पूरा पनि भएको छैन, देख्न छोडेका पनि छैनन्।
काठमाडौं उपत्यका बाहिर नाटकको माहोल जम्न सकेको छैन। केही शहरमा कलाकर्मीले जेनतेन नाटक प्रदर्शन गर्दै आएका छन्। त्यसमा चितवन पनि जोडिएको छ।
वेलाबखत् चितवनमा पनि नाटक मञ्चन हुँदै आएका छन्। अन्य शहरको जस्तै चितवनको पनि एउटा समस्या छ, नाटक देखाउने स्थान र थलोको अभाव। यो काठमाडौं बाहिर नाट्यकर्मीलाई सँधै खड्किरहेको हुन्छ।
यो अभाव परिपूर्ति गर्न केही समयदेखि चितवनका कलाकर्मी कस्सिएका छन्, कर्मी चौतारीमार्फत। कर्मी चौतारीमा आवद्ध कलाकर्मीले देखेको साझा सपना पनि हो चितवनमा नाटकघर।
यो सपनालाई यथार्तमा उतार्न गत दश वर्षदेखि कर्मी चौतारीले प्रयास गरिरहेको छ। चौतारीको सक्रियतामा नाटक पनि मञ्चन हुँदै आएका छन्। त्यस्तै, कविता वाचन लगायतका कार्यक्रम पनि चलिरहेका छन्।
यो सपनासँग प्रत्यक्ष जोडिएर आएका छन्, मुकुन्द खलपात्र। स्वस्फुर्त रुपमा केही युवा मिलेर गरेको अभियानलाई संस्थागत बनाउन गत माघमा संस्थालाई दर्ता पनि गरेको मुकुन्द बताउँछन्।
डा. जीवन क्षेत्रीको नेतृत्वमा दर्ता गरिएको सात सदस्यीय कर्मी चौतारीमा मुकुन्द उपाध्यक्ष छन्। दशक बिते पनि सपना पछ्याउन छोडेका छैनन्। “समय लागेकै हो, हाम्रो साझा सपना पूरा गर्न सहि दिशामा अघि बढिरहेका छौं,” आफैलाई सात्वना दिँदै उनी भन्छन्, “यो १० वर्षको अन्तरालमा भुँइचालो झेल्यौं, नाकाबन्दी झेल्यौ। अनि कोरोनाका कारण भएको बन्दाबन्दीले पनि अलिकति पछाडि पारेको हो।”
कर्मी चौतारीलाई संस्थागत बनाइसक्दा परिपक्कता आएको महसूस गरेका छन्, मुकुन्दले। यसमा प्रत्यक्ष रुपमा ३५ जना जोडिएका छन्। चौतारीले मञ्चन गरेका नाटकमा अभिनय गर्ने पनि ३० जना भइसकेका छन्।
चौतारीले रामलाल जोशीको ‘ऐना’ कथा संग्रहको ‘श्रीमान वीर बहादुर’, ‘बहुला काजीको सपना’, ‘चरणदास चोर’, ‘पत्थरको कथा’, बाल नाटक ‘नयाँ कदम’, ‘शिरिषको फूल’, ‘परिणाम’लाई मञ्चन गरिसकेको छ। पछिल्लो कृषिमा विषादीको विषयलाई लिएर ‘आफ्नै समाधान’, चित्रकार भीम शर्माको चित्रमा आधारित ‘स्वप्नवयन’, सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका नागरिकको सम्झनामा ‘थाहा’, हृदयचन्द्रसिंह प्रधानको ‘एक चिहान’लाई पनि मञ्चन गरिसकेको छ।
पहिलो पटक ‘श्रीमान् वीर बहादुर’ मञ्चन गर्दा नाटकघरका लागि नाटक भनेर मञ्चन गरेको चौतारीले आफ्नो पछिल्लो नाटक ‘खलजंगको कोट’को तयारी गरिरहँदा पनि त्यही भनिरहन बाध्य भएको उनी सुनाउँछन्। समय समयमा नाटक मञ्चन गरेर नाटकघरको सपना जीवित राख्ने प्रयास भए पनि जग्गा र आर्थिक संकलनमा ठोस काम हुन सकेको छैन।
कलाकारिता र व्यवस्थापनको जिम्मेवारीलाई अलग गराएर व्यवस्थित बनाउने प्रयास गरिएको मुकुन्द बताउँछन्। पछिल्लो पटक नाटकघर बनाउनका लागि जग्गाको व्यवस्थापन गर्न भरतपुर महानगरपालिका र वडा कार्यालयलाई गुहारिरहेका छन्।
चितवनमै नाटकघर बनाउन हिंडिरहेको कर्मी चौतारीले धेरै कलाकारलाई रङ्गमञ्च मार्फत बाहिर ल्याएको छ। तिनैमध्येकी एक आश्मा राई नाट्यकर्ममा जोडिन पाउँदा खुशी लागेका बताउँछिन्। कर्मी चौतारी मार्फत अभिनय यात्रामा अघि बढ्दै गरेकी उनी आफू केही नयाँ गरौं र आफूलाई नयाँ कुरामा प्रयोग गरौं भनेर आउँदो नाटकमा पनि देखिन लागेको बताउँछिन्।
नाटकमा अभिनय गर्नेदेखि अन्य व्यवस्थापनको काम गर्ने कलाकर्मीले पनि नाटकघर सपनालाई यथार्तमा परिणत गर्न सहयोग गरिरहेका छन्। यसका लागि मुकुन्दसँग खटिइरहेका कलाकर्मी हुन् उत्तम गुरुङ र सन्तोष घिमिरे। उनीहरू पनि यो सपनालाई पूरा हुनेमा आशावादी छन्।
खलजंगको कोट
कर्मी चौतारी यतिवेला ‘खलजंगको कोट’को तयारीमा व्यस्त छ। ४५ वर्षअघि लोक पाल्ने छोरा जन्माउँछु भन्ने सपना देखेका बुबा र वर्तमान समयमा हिंडिरहेको कथित असफल छोराको मनमा उब्जिएको अन्तद्र्वन्द्वलाई यस नाटकमा मुख्य विषयवस्तु बनाइएको छ। “जिन्दगी एउटा यस्तो नाटक हो, जसको रिहर्सल गर्दागर्दै बितिजान्छ मुठ्ठिभरको बालुवा झै,” नाटकको मूख्य पात्र ‘खलजंग’को यही जीवनलाई नाटकमा प्रस्तुत गरिएको निर्देशक अर्जुन न्यौपाने बताउँछन्।
अर्जुन र मुकुन्दले लेखेको नाटकमा खलजंगको भूमिकामा मुकुन्द छन् भने भीम राई, सुझाव अधिकारी, आश्मा राई, समीरा सुनार, अङ्कित सिंह, जया ढकाल लगायतको अभिनय छ।
निर्देशक अर्जुन ‘खलजंगको कोट’लाई ‘अटो बायोग्राफिकल’ नाटक भन्न रुचाउँछन्। “नाटकमा मुकुन्द खलपात्रको जीवनको एउटा पाटो पस्किएका छौं। कँही कतै म पनि जोडिएको छु,” उनी भन्छन्, “एक घण्टा २० मिनेट चल्ने नाटकमा निर्देशकसँगै पात्रको गुनासोलाई समेत देख्न सकिनेछ।”
खलजंगको कोटको तयारी ६ महीना अघिबाट थालिएको थियो। एउटा नयाँ नाटक गरौं भन्दा के गर्ने भन्ने सोचिरहेका अर्जुनलाई मुकुन्दले आफ्नै जीवनबारे नाटक बनाउने योजना अघि सारे। उनलाई नजिकबाट चिनेका अर्जुनले सहर्ष स्वीकार गर्दै त्यसको तयारी गरे।
“के राखौं के राखौं भन्ने भयो, यताको राख्दा उताको छुट्छ भन्ने खालको भयो। त्यसैले केही जेल जीवन, अभिभावकसँगको संवाद र केही नाटकघरका सपनालाई समेत नाटकमा राखिएको छ,” उनी भन्छन्।
मंसीर २९ गतेबाट नाटक मञ्चन गर्ने तयारी कर्मी चौतारीले गरेको छ। नाटकलाई ‘काव्य तथा रंग यात्रा’ मार्फत चितवन बाहिर काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज र झापामा मञ्चन गर्ने तयारी छ। यो यात्रा पनि नाटकघर सपनाकै एउटा अंगका रुपमा हुनेछ।