५८ वर्षअघि बुटवल इन्स्टिच्यूट बनाउन हफ्टनले खाएको हन्डर
नर्वेबाट ल्याइएको पुरानो बसलाई अस्थायी कार्यालय बनाइएको थियो। तानसेनबाट अडकी पत्नी र बच्चाहरू भेट्न आउँदा सुत्ने कोठा पनि त्यही बस थियो।
नयाँ वर्ष, सन् १९६५। शून्यबाट कुनै काम कसरी शुरू गर्ने?
सबै काम एकै पटक गर्ने अड हफ्टनको तरीका थियो।
अड नर्वे गएका वेला बुटवल टेक्निकल इन्स्टिच्यूट (बीटीआई)का सबै काम रोकिएका थिए। अर्को वर्षात्ले निर्माणको काम रोक्नुअघि जम्मा ६ महीना बाँकी थियो।
अघिल्लो वर्ष श्रमिकले ‘१० बाई २५’ मिटरको स्टोर भवन, कार्यालय भवन र पहिलो घरको जग मात्रै बनाएका थिए। मनसुनी बतासले स्टोर भवनमा लगाइएको प्लास्टिकको अस्थायी छानो उडाइदिएको थियो।
अहिले भने निर्माणदल तानसेनबाट फर्किसकेको छ। उनीहरूसँगै दुई जना नयाँ स्वयंसेवक पनि आएका छन्, क्यानडाका भिक्टर बोक र अमेरिकाका जेरी निस्चे।
बीटीआईका व्यवसाय प्रबन्धक मार्टिन गुगलर पनि निर्माणस्थलमा थिए। स्टोरेज भवनको कोलाहल र धुलैधुलोले भरिएको कुनामा उनले आफ्नो कार्यालय खडा गरेका थिए। अर्थशास्त्र अध्ययन गरेका मार्टिन सन् १९६३ मा जर्मनीको परोपकारी संस्था बीएफडीडब्लूका साथ लागेर नेपाल आएका थिए। उनले नेपाल आएर तानसेन अस्पताल (मिसन अस्पताल)मा लेखापालको काम शुरू गरेका थिए।
सन् १९६९ मा नेपाल छोड्ने वेलासम्मै उनी अडका नजिकका सहयोगी रहे। धेरै वर्षपछि थोर मोर्गेदाल नाम गरेका सहकर्मीले ‘नेता तथा कर्मचारीले मार्टिनलाई एक प्राकृतिक प्राधिकारी र विश्वसनीय पेशेवरका रूपमा सम्मान गर्थे’ भनेर लेखेका छन्। सबैको गुनासो सुन्ने, सम्झाउने र निर्णय लागू गराउने एउटा अप्ठ्यारो जिम्मेवारी मार्टिनको थियो।
बीटीआईमा आउने मान्छेहरूमा नव प्रशिक्षार्थी पनि थिए। सन् १९६४ को वसन्ततिर गोरखाको यूएमएन परियोजनाबाट १४-१६ वर्ष उमेरका गाउँले केटाहरू ‘बुटवलमा इन्जिनीयर बन्न पाइन्छ अरे’ भन्ने हल्ला पछ्याउँदै आए। इन्जिनीयर नभए पनि उनीहरूलाई हात र दिमागको प्रयोग गरेर काम सिक्ने अवसर दिइयो। जसबाट उनीहरू शिल्प-व्यापारी बन्न सक्थे।
प्रशिक्षार्थीले यसका लागि निकै जाँगर पनि देखाए। उनीहरूका मास्टर दुई युवा-स्वयंसेवक भिक्टर र जेरी थिए। छायाले वस्तुलाई पछ्याए जसरी प्रशिक्षार्थीले मास्टरलाई बुटवलदेखि तानसेन र तानसेनदेखि बुटवलसम्म पछ्याउँथे। उनीहरूले काम गर्दागर्दै सिके, सिक्दासिक्दै काम गरे। सँगसँगै व्यावहारिक मिजास पनि ग्रहण गरे।
कामदारले नर्वेली मर्सिडिज ट्रकको आवरण भाग निकालेर मिल्काइदिएपछि यो गाडी कार्यस्थलमा निकै अपरिहार्य बन्न पुग्यो। कहिले खाल्डाखुल्डीले उबडखाबड बनेको बुटवलको कच्ची सडकमा घर्संदै नौतनहवाको रेल्वे स्टेशन पुग्थ्यो र त्यहाँबाट सिमेन्ट, इँटा र अरू उपकरणले भरिएको कार्गो बोकेर बुटवल फर्कन्थ्यो। कहिले भने निर्माणस्थलमा ढुंगा र माटो तान्न प्रयोग हुन्थ्यो।
सन् १९६५ मार्चमा ‘१० बाई २५’ क्षेत्रफलको कार्यशाला भवन नम्बर २ को निर्माण कार्य सकियो र उतिखेरै फर्निचर दोकानका रूपमा प्रयोगमा आयो। अब अर्को अजेन्डा मुख्य कार्यशाला निर्माण गर्नु थियो। यो औद्योगिक भवन ‘२३ वाई ३५’ मिटर क्षेत्रफलमा दुवैतर्फ कोठा बढाउन मिल्ने गरी बनाउनुपर्ने थियो। यो कोठाको दुईतिर मशिन, वेल्डिङ, अटो र इलेक्ट्रिक वर्कशप राख्न मिल्ने हुनुपर्थ्यो।
सन् १९६५ मेको शुरूआतमा बर्खे मौसम शुरू हुनै लाग्दा नर्वेबाट ल्याइएका मशिन र उपकरणलाई छोप्न ठिक्क हुने गरी मुख्य कार्यशालाको एकतिहाइ काम मात्र सकिएको थियो। कामदारले ‘इन्टेरियर’ को काम गर्न सकियोस् भनेर जंगल किनारमा रहेका दुई आवासीय घरमा छाना पनि लगाएका थिए। यी एकतले घरको भुइँको क्षेत्रफल १२० वर्गमिटर थियो।
घरमा एकातर्फ कर्मचारीका परिवार र अर्कातर्फ आठ जना प्रशिक्षार्थीको होस्टेल अट्नुपर्ने! बस्ने क्वार्टरहरू ठूला रूखको बीचमा लोभलाग्दा गुँड जस्ता देखिन्थे। त्यहाँबाट तल ४० हजार वर्गमिटरमा फैलिएको उद्योगको क्षेत्र देखिन्थ्यो, जो हथौडा चलाएको आवाजले भुनभुनाइरहेको थियो।
त्यतिन्जेल कामदारका लागि बसोबासको परिपाटी लगभग निराशाजनक थियो। ठूलो चौर नजिक बजारमा भाडामा लिइएको एउटा घर चार जना केटा, एउटा परिवार र दश जना प्रशिक्षार्थीले भरिएको थियो। यतिसम्म कि नर्वेबाट ल्याइएको पुरानो बसलाई समेत पाटपूर्जा निकालेर अस्थायी कार्यालयका रूपमा अडले प्रयोग गरेका थिए। तानसेनबाट अडकी पत्नी टुलिस र उनका बच्चाहरू भेट्न आउँदाका बखत चार सदस्यीय हफ्टन परिवारका लागि सुत्ने कोठा पनि त्यही बस थियो।
यो अवस्था देखेर अडकी पत्नी टुलिस भने उत्साहित थिइनन्। ‘बसमा यति ठूलो यात्रा (नर्वेबाट नेपालसम्मको) बिताइसकेपछि पनि फेरि बुटवलमा उस्तै कठिन! म चाहन्छु कि उडुसले यो सिंगो बस नै खाओस्,’ उनले २३ जून १९६५ मा एउटा पत्रमा लेखेकी छन्।
ठूलो भद्रगोलबीच टुलिसले आफ्ना लागि एउटा स्थान भने बनाएकी थिइन्। उनले नर्वेमा रहेकी आफ्नी बहिनीलाई १४ अप्रिल १९६५ मा एउटा चिठी लेखिन्।
आज दिउँसो मैले ब्योर्ग र अल्बर्टसँग भाषाको कक्षा लिइरहँदा हाम्रै छेउमा श्रमिकहरूले चर्को स्वरले बोल्दै, गीत गाउँदै जोड जोडले हथौडा चलाइरहेका थिए। अर्को कार्यशालामा मैले प्रशिक्षार्थीलाई अंग्रेजी भाषा सिकाइरहँदा त्यहाँ पनि त्यस्तै थियो। कार्पेन्टरीबाट काठ चिरिएको आवाज आइरहेको थियो र फलामको काम गर्नेतिर हथौडा चलिरहेको थियो। दिनभर मशिनको काम सिक्न चाहने मान्छे र प्राथमिक उपचार चाहिने श्रमिकको आवतजावत भइरह्यो।
दिन बित्दै गए। गर्मी मौसमको आगमनले बसभित्र तातो निकै बढेपछि अड, टुलिस र उनका छोराहरू बाहिर सुत्न बाध्य भए। पहाडबाट तल खोलाको खोच हुँदै दक्षिणी समथर भूभागतर्फ बहने हावामा पल्टिंदा कति मज्जा हुन्थ्यो! अड र टुलिस अझै पनि सम्झन्छन्। उनीहरू माथि आकाशतिर अन्तरिक्ष-प्रविधिमा भएको पछिल्लो विजयलाई पनि नियाल्न सक्थे, अमेरिकन ‘बेलून स्याटेलाइट’ ले हरेक घण्टा ताराले जस्तै राति आकाशको चक्कर काट्थ्यो!
करीब ३० जना नेपाली श्रमिक परालबाट बनेको लामो ब्यारेक जस्तो छाप्रोमा सुत्थे। तर एक शनिबार दिउँसो आगोको मुस्लोले त्यो छाप्रो निल्यो। केही श्रमिकले आफूसँग जेजति थियो, सबै गुमाए। अब आवासको आवश्यकता झनै टड्कारो बन्यो। टिनको छानो भएको स्थायी आवास भवन नबन्दासम्म श्रमिकले आफैंले बनाइरहेको क्वार्टर्सलाई अस्थायी आवास बनाए।
सन् १९६५ को मध्य-फेब्रुअरीमा ‘बीटीआई-बुटवल-नेपाल’ लेखिएका २४४ वटा क्रेट बोकेर नर्वेली पानीजहाज कलकत्ता बन्दरगाहमा आएर रोकियो। बीटीआईका व्यवस्थापक मार्टिन गुगलर त्यहीं थिए। उनले आफ्नो दृढता र जर्मन निपुणता प्रयोग गरेर घना जंगल जत्रा कागजात, निरन्तरको हात मिलाइ, टाउको हल्लाइ र डिनरको निम्ता जस्ता विभिन्न झन्झटिला प्रक्रिया झेल्दै भारतीय भन्सार छिचोल्ने काम गरे। मार्टिनले समुद्री किनारमा ३६ घण्टा बिताएका थिए। उनलाई सफलता मिल्यो, सबै क्रेटहरू एक महीनाभित्रै भन्सार पार गराए।
नर्वेबाट आएका उपकरणले २३ वटा रेलका डब्बा भरिएका थिए। सामान गोरखपुर आइपुग्यो। त्यहाँ सबै क्रेट सानो गज भएको रेल्वेमा सार्नुपर्यो। यो रेलले मार्च अन्त्यसम्म नेपाल-भारत सीमाको नौतनहवासम्म सामान ल्याइपुर्यायो। लामो दौडको अन्तिम चरण त अब शुरू हुनेवाला थियो।
क्रेटहरू दुई मिटरभन्दा अग्ला र पाँच टनसम्म तौलका थिए। डेढ मिटर अग्लो बार भएको रेलका खुला डिब्बामा क्रेट राखिएका थिए। रेल्वे स्टेशनमा क्रेन थिएन। क्रेट उचाल्न एउटा सामान्य चेनको प्रयोग गरिएको थियो, जसलाई एक-आपसतिर ढल्किएका लामा पोलहरू बाँधिएको डोरीमा घुम्न मिल्ने गरी कसिएको थियो।
यसले सानातिना कार्गोका लागि त काम गर्यो तर ठूला कार्गोलाई थेगेन। त्यसका लागि क्रेन नै चाहिन्थ्यो। तर भारतका अरू ठूला रेल्वे स्टेशन पुगेर ल्याउनुपर्ने भएकाले त्यो असम्भवप्रायः थियो।
क्रेनको प्रयोग विना नै लोडिङलाई सम्भव तुल्याउन भुइँमा दुई भिराला ट्रेन्च खनियो। ट्रेन्चमा ट्रक छिराइयो। ट्रकको पछाडिको भाग भुइँतहसम्म आइपुग्यो। त्यसपछि क्रेटमा डोरी लगाएर अगाडिबाट तानेर र पछाडिबाट धकेलेर सिलिन्डर आकारका स्टील पाइपमा गुडाउँदै ट्रकमा लोड गरियो। यसरी ३६ वटा ठूला लोड बने।
सीमा पार गरेसँगै भन्सार कटेपछि लोडले भरिएका ट्रक खाल्डाखुल्डी परेको सडकमा घर्संदै बुटवलतर्फ लागे। जब ती ट्रक बीटीआई आइपुगे, तब फेरि उसैगरी अनलोड गरियो।
अड यो सबै देखेर उन्मुक्त देखिए। प्रशिक्षार्थीहरू क्रेट वरपर घुमे र चौडा आँखा पार्दै घुरेर हेरे। वरपरका स्थानीय मान्छे ओइरिएर हेर्न आए। उनीहरूलाई उन्नत शैक्षिक मनोरञ्जनका लागि बीटीआईमा स्वागत थियो। अन्तिममा जब मशिन र उपकरण आआफ्ना ठाउँमा जोडिए, तब बुटवल पश्चिम नेपालमै सबैभन्दा ठूलो र सुसज्जित कार्यशालाको घर बन्यो।
(सन् १९५८ मा ‘युनाइटेड मिसन टू नेपाल’का तर्फबाट पाल्पामा मिसन अस्पताल बनाउन आएका नर्वेली नागरिक अड हफ्टनले करीब ५० वर्ष नेपालमै बिताए। बुटवल टेक्निकल इन्स्टिच्यूट (बीटीआई) र बुटवल पावर कम्पनी (बीपीसी)का संस्थापक हफ्टनको जीवनीमा आधारित भएर पिटर स्वाल्हेमले लेखेको ‘पावर फर नेपाल : अड हफ्टन एन्ड द हिस्ट्री अफ हाइड्रोपावर डेभलपमेन्ट’ पुस्तक मार्टिन चौतारीले प्रकाशन गरेको छ। पुस्तकमा रहेको ‘क्रसरोड एट बुटवल’ शीर्षक अन्तर्गतको यो अंश जीवराज चालिसेले भावानुवाद गरेका हुन्।)