पोखरामा शुरू भयो अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव
अन्तर्राष्ट्रिय पर्वतीय दिवशको अवसरमा पोखरामा आठौं संस्करणको अन्तर्राष्ट्रिय महोत्सव शुक्रबारदेखि शुरू भएको छ।
नेपाल पर्वतारोहण संघको आयोजनामा शुरू भएको महोत्सवको शुक्रबार अर्थमन्त्री प्रकाशशरण महतले उद्घाटन गरे। कृषिमा रासायनिक मलको अत्यधिक प्रयोगले जलवायु परिवर्तनसँगै वातावरण, मानव स्वास्थ्य र खाद्य सुरक्षामा असर पुर्याइरहेको महतको भनाइ थियो।
उनले हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नभए पनि यसको प्रत्यक्ष र गम्भीर असर भोगिरहेको बताए। नेपालमा कार्बन उत्सर्जन नगन्य मात्रै भएकाले सन् २०४५ सम्म शून्यमा झार्ने लक्ष्य लिएको जानकारी दिए। तर, नेपालले आफ्नो लक्ष्य पूरा गरे पनि अन्य मुलुकका कारण हिमाल, पहाडसँगै जनजीवनमा प्रभाव पार्ने अर्थमन्त्री महतको भनाइ थियो।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले विकसित राष्ट्रले गरेको कार्बन उत्सर्जनको परिणाम नेपालका हिमाल र पर्यावरणले भोग्नुपरेको जिकिर गरे।
नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले नेपालमा एक हजार ९०० भन्दा बढी हिमाल रहेको उल्लेख गर्दै यी हिमाल र हिमाली समुदायमा जलवायु परिवर्तनका असरबारे सोच्नुपर्नेमा जोड दिए।
उद्घाटनको अवसरमा मौन चरा ‘साइलेन्ट बर्डस्’ नामक नाटक प्रदर्शन गरिएको थियो। नेपाल पन्छी संरक्षण संघसँगको सहकार्यमा देखाइएको ‘साइलेन्ट बर्डस्’ मा गिद्धको महत्त्व र संरक्षणबारे जोड दिइएको छ।
पोखराको रातोपैरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा शुरू भएको महोत्सव पाँच दिनसम्म चल्नेछ। महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका वृत्तचित्रदेखि जलवायु परिवर्तनको असरबारे बहस हुने सदस्य सचिव निर्मला न्यौपानले बताइन्।
काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) सँगको सहकार्यमा पर्वतारोहण र पर्वतीय जीवनबारे ६ वटा वृत्तचित्र प्रदर्शन गरिने भएको छ। पासाङ, माउन्टेन म्यान, सोफी लाभाड, द सेकेन्ड समिट, अई-डेला हट्स भ्यालिस र एभरेस्ट म्यान वृतचित्र प्रदर्शन हुने न्यौपानेले बताइन्।
महोत्सवकै अवसरमा फरक भूगोलमा एकै प्रकारको हिमाली जनजीवन झल्काउने अस्ट्रियन आमाछोरी डा. इरिका हुबाचेक र इर्मट्रड हुबाचेकले खिचेका तस्वीर पनि प्रर्दशनमा राखिएको छ। यस्तै, झोलुङ्गे पुल र पर्वतारोहण सम्बन्धी विभिन्न विधामा कीर्तिमान बनाएका पर्वतारोहीको तस्वीर समेत प्रदर्शनी छन्।
महोत्सवमा जलवायु परिवर्तनले हिमालसँगै हिमाली जनजीवनमा पारेको प्रभाव र काला पत्थरमा परिणत हुँदै गएका हिमालबारे बहस हुने जनाइएको छ। सोमबार ‘हिमाल किन कालो हुँदैछ, के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्ध छ?’ शीर्षकमा विश्व वन्यजन्तु कोष नेपालका प्रमुख डा. घनश्याम गुरुङ, जीविकोपार्जन तथा बसाइँसराइविद् डा. अमिना महर्जन र पत्रकार कुन्द दीक्षितले छलफल गर्नेछन्।
महोत्सवमा स्थानीय हस्तकलाका सामग्रीसँगै कृषि, हिमाल आरोहणमा आवश्यक सामग्री, दैनिक उपभोग्य बस्तु पनि राखिएको छ।