‘गाउँमा औषधि त पुग्न सक्या छैन, मल कहाँबाट पुग्नु!’
देशभरका तीन हजार ४०० किसानका खेतको माटो परीक्षण गर्दा लमहीका प्रेम चौधरी र मुसिकोटका कृष्णबहादुर खड्काको खेतको माटो उत्कृष्ट ठहरियो। उनीहरूले कसरी जोगाए माटो?
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको माटो विज्ञान अनुसन्धान केन्द्रले देशभरको माटोको अवस्था अद्यावधिक गर्छ। केन्द्रले यस वर्ष पनि देशका विभिन्न ठाउँका किसानका खेतबारीको माटोको नमुना संकलन गरेको थियो। तीन हजार ४०० भन्दा बढी किसानबाट नमुना संकलन गरिएको थियो।
नमुनाबाट केन्द्रले दाङको लमही नगरपालिका-२ का प्रेम चौधरी र रुकुम पश्चिमको मुसिकोट नगरपालिका-८ का कृष्णबहादुर खड्काको खेतको माटोलाई उत्कृष्ट ठहर गर्यो। चौधरी र खड्कालाई माटो दिवसका अवसरमा गत मंगलबार ललितपुरको खुमलटारस्थित नार्कको कार्यालयमा आयोजित कार्यक्रममा पुरस्कृत पनि गरिएको छ।
पुरस्कार थाप्न दाङदेखि आएका चौधरीले आफूले मलको कम प्रयोग गर्ने र राप्ती नदीको भल खेतमा लगाउने गरेकाले माटोको स्वच्छता कायम भएको बताए। “बर्खाको पानी खेतमा लगाउँदा राप्तीको भलले बोकेर ल्याएको माटो पनि आउँछ। त्यही कारण खेतको माटो राम्रो भएको हो र उब्जनी पनि राम्रो हुन्छ,” चौधरीले भने।
दाङको देउखुरी उपत्यकाको मध्य भागमा पर्ने लमही नगरपालिकामा १३ हजार ५०० घरपरिवारको बसोबास छ भने कुल जनसंख्या ६० हजार हाराहारी छ। त्यहाँका अधिकांश जनताले मुख्य रूपमा निर्वाहमुखी कृषि पेशा अँगालेका छन्।
प्रेम चौधरीको घर रहेको वडा नम्बर २ चुरे पर्वतको बीच भागमा पर्छ। वर्षायाममा दुवैतिरबाट माथिल्लो भेगदेखि मलिलो माटो बगेर आउने उनले सुनाए। “हाम्रो लागि मल र खेतीपातीको भिटामिन भनेकै बगेर आउने त्यही मलिलो माटो हो,” उनले भने।
निर्वाहमुखी खेती गर्दै आए पनि उत्पादन राम्रो भएको समयमा उनले केही मात्रामा बेच्ने गरेका छन्। लमही नगरपालिकाको बीच भागबाट पूर्व-पश्चिम राजमार्ग गएकाले उत्पादन गर्न सके बिक्री गर्न दुःख नभएको उनले बताए। उत्पादन किन्न व्यवसायीहरू घरआँगनमै आउँछन्।
चौधरीले दुई बिघामा खेती गर्दै आएका छन्। उनका अनुसार, वर्षमा तीन बालीसम्म हुन्छ। “धान काटेर तोरी र गहुँ लगाउँछौं। त्यो भित्र्याएपछि मकै लगाउँछौं,” चौधरीले सुनाए, “पोहोर तोरी राम्रो फलेन, यसपालि राम्रो फल्ला जस्तो देखिन्छ।”
उनले दुई बिघामा ४० देखि ४५ क्विन्टलसम्म धान फलाउँछन्। “एक कठ्ठामा २ क्विन्टल जति धान फल्छ। आफूलाई खान पुग्नेजति राखेर सबै बेच्ने नै हो,” उनले भने।
चौधरीले एरिज ६४४४, सोना मसिनो र लोकनाथ धान लगाउने गरेका छन्। एरिज ६४४४ धेरै फल्छ भने बाँकी दुईको उत्पादन अलि कम हुन्छ। सोना मसिनो र लोकनाथको बीउ आफैंले उमार्न सकिने तर एरिज ६४४४ को चाहिं किन्नैपर्नै उनले सुनाए।
उब्जनी राम्रो बनाउन बाली लगाउनुअघि दुई पटक खेत जोत्ने गरेका छन्। पहिला गोरुले जोतिसकेको खेतमा ट्रयाक्टर लगाएर सम्याउने गरिएको छ। “हलोले जोत्दा गहिरो गरी खन्छ र माटो उल्टाइदिन्छ। ट्रयाक्टर लगाउँदा र डल्ला फुटाउँदा माटो राम्रो हुन्छ,” उनले भने।
४८ वर्षीय चौधरीको परिवारमा १४ जना छन्। परिवारको लालनपालन र शिक्षादीक्षा सबै खेतीकिसानीले धानिरहेको उनको भनाइ छ। तर पछिल्लो समय आफूहरूको जीवनआधार सरह रहेको कुलो ठाउँठाउँमा भत्किएकाले सरकारले बनाइदिनुपर्ने उनले माग गरे। पुरस्कार थाप्ने दिन पनि उनले कृषि सचिव डा. गोविन्दप्रसाद शर्मालाई कुलो भत्किएकोबारे गुनासो गरे।
“सचिवज्यूले प्रदेश र जिल्लामा म भनिदिन्छु, गएर भेट्नू भन्ने आश्वासन दिनुभएको छ,” उनले सुनाए।
बाउबाजेको पालादेखिको उक्त कुलोबाट दाङका हजारौं रोपनी क्षेत्रमा पानी जाने भएकाले यसको मर्मत छिटै गरिनुपर्ने उनको भनाइ थियो।
उता, रुकुम पश्चिमको मुसिकोटका कृष्णबहादुर खड्का आफ्नो खेतको माटो स्वच्छ हुनुको कारण मलको प्रयोग ठ्याम्मै नभएर होला भन्ने अनुमान गर्छन्। उनी भन्छन्, “हाम्रोतिर बाटोघाटोको दुःख छ। औषधि त पुग्न सक्या छैन, मल कहाँबाट पुग्नु!”
उनी बस्ने मुसिकोट नगरपालिका-८ तवाँले बस्ती २२ सय ७५ मिटरको उचाइमा छ। प्रायः चिसो हुने आफ्नो ठाउँमा आलुको उत्पादन राम्रो हुने उनी बताउँछन्। यस्तै मकै, तोरी, फापर, गहुँ र जौ पनि फल्छ। उनले खेती गरेको चार कठ्ठामा रैथाने बाली नै लगाएका छन्।
पूर्व-पश्चिम मध्यपहाडी लोकमार्गले गर्दा ग्रामीण भेगसम्म गाडी पुगे पनि रासायनिक मल पुग्दैन। “मल त दाङमै उपलब्ध हुँदै भन्छन्, हाम्रोतिर कहाँबाट पुग्नु? पुग्यो नै भने पनि ढुवानी खर्चले गर्दा किलोकै १८० रुपैयाँ पर्छ। त्यस्तो महँगो मल हामीले कहाँ हाल्न सक्नु!” उनी भन्छन्, “त्यही भएर बस्तुभाउकै मल हाल्छौं।”
४६ वर्षीय खड्काको चार छोराछोरी सहितको परिवार सबै मिलेर खेती गर्ने गरेका छन्। उनले स्थानीय उत्पादनले बजार नपाएर धेरैले खेती छोडेको सुनाए। गहुँ, जौ, उवाले बजार नपाउने उनको भनाइ छ। “टोल-बस्तीमा सबैले खेती गरेका छन्। सबै घरमा तिनै कुरा भएपछि किन्ने कसले? कहाँ लगेर बेच्ने?” उनी प्रश्न गर्छन्।
नगरपालिकाले कृषि प्रवद्र्धन र अनुदानको कुरा गरे पनि आफूहरूले त्यसबारे थाहा नपाएको र कुनै सुविधा पनि नपाएको उनको गुनासो छ। “यस्ता अनुदान र सहयोगबारे हामीले त भेउ नै पाउँदैनौं। गाईबस्तुको गोठालो लाग्दैमा दिन बित्छ, वडाको अफिसमा धाउन कहाँ भ्याउनु!” उनी भन्छन्।
वडाको समाचार एफएमबाट आउने तर आफ्नो बस्तीमा एफएम नटिप्ने हुँदा केही पनि थाहा नहुने उनले बताए। “पूर्वी रुकुममा चाहिं एफएम टिप्छ। त्यता किसानहरूले सेवा सुविधा पाएको देखेसुनेका छौं,” उनले भने। उनले जेटिए/जेटी आफूहरूको ठाउँमा आइनपुग्ने र आए पनि किसानको दुःख नसुन्ने गुनासो गरे।
उत्पादित फसलमध्ये आलु बिक्छ। त्यस बाहेक खसीबोका किन्न चाहिं मानिसहरू घरघरै आउँछन्। बजार नपाएका मकै, गहुँ पिसेर तिनै खसीबोका र बस्तुभाउलाई खुवाउने गरेका छन्। “हामीले खाने पनि त्यही हो, बस्तुभाउलाई खुवाउने पनि त्यही। मकै, गहुँ, जौ खुवाउँदा बस्तुहरू छिटो फस्टाउँछन्। त्यही भएर खसीबाख्रा त तुरुन्तै बिक्री भइजान्छ,” उत्साहित हुँदै उनले सुनाए।
आलु र बस्तुभाउ बिक्री हुँदा केही रकम खेलाउने गरेको उनीसँग पशुमा रोग लाग्दा ठूलो नोक्सानी भोग्नुपरेको हैरानी पनि छ। गत दशैंको छेको बेच्न ठिक्क पारिएको ६ वटा बोका देशभर फैलिएको लम्पिस्किन रोगले मरेको उनले सुनाए। “त्यति मात्रै होइन लम्कीले त मेरा ६ वटा गाई र ४ वटा गोरू मरे,” उनले भने, “दश हजारमा किनेको एउटा बाख्रा निमोनियाले थलिएको थियो। २८ हजारको औषधि गरेपछि अहिले अलि मुख फेरिएको छ।”