यो हिउँदमा देशैभरि धेरै पानी पर्ने
यो वर्ष मनग्ये हिउँदे वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले हिउँदको हावापानी आकलन सार्वजनिक गर्दै मंसीर १५ देखि फागुन १७ सम्म तीन महीनामा विगतको औसतभन्दा धेरै पानी पर्नसक्ने अनुमान गरेको हो। विभागका अनुसार देशका अधिकांश भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ।
सुदूरपश्चिम प्रदेशका उत्तरपूर्वी भाग र कर्णाली प्रदेशका उत्तरी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ। यसको अर्थ ती क्षेत्रमा विगतको भन्दा बढी पानी पर्ने सम्भावना दुई तिहाईसम्मले बढेको देखाउँछ। तर, कति धेरै पानी पर्छ भन्ने आकलन भने गरिएको छैन।
त्यस्तै, सुदूरपश्चिमका पूर्वी र दक्षिणी भाग, कर्णालीको दक्षिणी भाग, लुम्बिनीको अधिकांश भाग, गण्डकी र बागमतीका उत्तरपश्चिम भूभाग तथा कोशीको उत्तर पूर्वी भागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ४५ देखि ५५ प्रतिशत छ। यी क्षेत्रमा बढी पानी पर्ने सम्भावना भए पनि कति धेरै पानी पर्छ भन्ने चाँहि आकलन गरिएको छैन।
कोशीका दक्षिण भूभाग र मधेश प्रदेशका मध्य र पूर्वी भागमा भने सरदरभन्दा कम पानी पर्नसक्छ। यी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको आकलन गरिएको छ।
विभागका अनुसार नेपालमा हिउँदको अवधिमा सरदर ६०.१ मिलिमिटर वर्षा हुन्छ। हरेक जिल्ला वा स्थानअनुसार, वर्षाको मात्रा तलमाथि हुन्छ। यो वर्षको हिउँदमा सरदरभन्दा धेरै पानी पर्नसक्ने सम्भावना छ। गत वर्ष हिउँदको अधिकांश समय सुख्खा हुनपुगेको थियो।
हिउँदे वर्षा भएन भने एकातिर गहुँ, तोरी, तरकारी लगायतका हिउँदे बालीको उत्पादन घट्छ भने अर्कातिर त्यसले डँढेलोको जोखिम बढाउँछ। वर्षा नहुँदा वायु प्रदूषण पनि अत्यधिक बढ्छ। हिउँदे वर्षा मनग्ये भएमा खोलामा पानीको बहाव बढेर विद्युत् उत्पादन पनि बढी हुन्छ। त्यसले गर्दा भारतबाट आयात गर्नुपर्ने विद्युत् घटाउँछ।
हिउँद शुरू भएसँगै नेपाल विद्युत् प्राधिकरणले मंसीर २२ बाट भारतबाट विद्युत् आयात शुरू गरिसकेको छ। नेपालमा वर्षायाममा विद्युत् उत्पादन धेरै हुन्छ भने हिउँदका महीनामा खोलामा पानी सुकेर आवश्यक परिमाणमा पनि विद्युत् उत्पादन हुँदैन।
हिउँदे वर्षा प्रशान्त महासागरमा विकसित हुने मौसमी गतिविधिसँग सम्बन्धित हुन्छ। प्रशान्त महासागरबाट उठ्ने जलवाष्प बोकेको हावा पश्चिमतिरबाट सर्दै नेपाल छिर्न पाए वर्षा गराउँछ, यो अन्यत्रै बरालिए पानी पर्दैन।
विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानी प्रारुपको आकलन, जल तथा मौसम विज्ञान विभागको हावापानी आकलन गर्ने प्रविधि र दक्षिणएशियाली जलवायु दृष्टिकोण मञ्चको आकलनको आधारमा हिउँदे वर्षाको अनुमान गरिएको विभागले जनाएको छ। साथै नेपालको हिउँद अवधिको ध्रुवीय प्रणालीको हालको अवस्था तथा जलवायु प्रारुपको हिउँद अवधिको आकलन र अन्तरऋतु परिवर्तनशिलताका कारकलाई समेत मध्यनजर गरी अनुमान गरिएको बताइएको छ।
हाल प्रशान्त महासागरमा रहेको एल निनो अवस्था हिउँद भरी कायम रहने आकलन गरिएको छ। त्यसैगरी हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय सामुन्द्रिक तापक्रम सूचक हाल धनात्मक रहेको र हिउँद अवधिको अन्त्यतिर तटस्थ रहने आकलन छ। यी कारणले गर्दा हिउँदमा बढी पानी पर्ने अनुमान गरिएको हो।
लालिना प्रणाली विकसित भएका वेला प्रशान्त महासागरमा पानीको तापक्रम सरदरभन्दा कम हुने र जसकारण हावाको बहावमा परिवर्तन भएर पश्चिमी वायुलाई सक्रिय हुन रोक्छ। यो प्रणाली सक्रिय हुँदा नेपालमा पश्चिमबाट प्रवेश गर्ने वायुको प्रभाव कमजोर भएर वर्षा कम हुन्छ।
विभागले हिउँद अवधिमा अधिकतम तापक्रम सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका मध्य तथा उत्तरी भूभागमा सरदर वा सरदरभन्दा कम हुने र बाँकी भूभागमा सरदरभन्दा बढी हुने सम्भावना रहेको बताएको छ। न्यूनतम तापक्रम भने कर्णाली, गण्डकी र कोशी प्रदेशका उत्तरी भूभागमा सरदर वा सरदरभन्दा कम र बाँकी भूभागमा सरदरभन्दा बढी रहने सम्भावना रहेको जनाएको छ।