मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव मंसीर २३ मा
नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ११औं संस्करण मंसीर २३ देखि काठमाडौंमा हुँदै छ।
‘सामूहिक अधिकार’ नारा सहित मंसीर २३ देखि २६ गतेसम्म महोत्सव सञ्चालन हुने भएको छ। चारदिने महोत्सवमा नेपाल पर्यटन बोर्ड र चाबहिलस्थित चलचित्र विकास बोर्डमा चलचित्र प्रदर्शन हुनेछन्।
महोत्सवको उद्घाटनमा शुभांगी खड्काको वृत्तचित्र द एज अफ लर्निङ प्रदर्शन गरिने भएको छ। डकुमेन्ट्री, शर्ट, एनिमेशन र फिक्सन गरी २६ देशका ५४ वटा चलचित्र प्रदर्शन गरिने महोत्सव निर्देशक पाण्डव खत्रीले बताए।
महोत्सवको जुरीमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई छन्। जुरीबाट छनोट भएका उत्कृष्ट पाँच चलचित्रलाई अन्तर्राष्ट्रिय फिचर प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय शर्ट फिक्सन तथा ननफिक्सन र नेपाली शर्ट फिक्सन तथा ननफिक्सन विधामा नगद सहित पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, महोत्सवमा एक जना उत्कृष्ट नेपाली महिला निर्देशकलाई पनि पुरस्कृत गरिने खत्रीले बताए।
चलचित्र प्रदर्शनसँगै चलचित्रकर्मी, दर्शक, विश्लेषक र मानव अधिकारकर्मीबीच बहस पनि हुनेछ। महोत्सवमा ‘सिनेमा विकासका लागि राजनीतिक प्रतिबद्धता’ र ‘सामूहिक अधिकार : अन्तर्राष्टिय प्रतिबद्धता, अभ्यास र राज्यको दायित्व’ विषयमा राजनीतिकर्मी, अधिकारकर्मी र चलचित्रकर्मीबीच दुई वटा प्यानल छलफल हुनेछ।