विराटनगरमा भएको आगलागीमा घाइते वृद्धाको मृत्यु
मोरङको विराटनगर महानगरपालिका-७ स्थित कवाडी पसलमा आगलागी हुँदा घाइते भएकी वृद्धाको बिहीबार उपचारका क्रममा मृत्यु भएको छ।
विराटनगरको सातघुम्तीमा रहेको कवाडी गोदाममा मंसीर २० गते आगलागी भएको थियो। आगलागीमा परेर दुई जनाको बुधबार नै मृत्यु भएको थियो। आगलागीमा घाइते भएकी विराटनगर-६ की ६४ वर्षीया सुनीता कामतको बिहीबार उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले बताए।
आगलागीमा घाइते भएकी कामतलाई उपचारका लागि बुधबार साँझ काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममा आज मृत्यु भएको हो।
त्यस्तै, आगलागीमा परेर बुधबार विराटनगर-६ का ४० वर्षीय दीपक मण्डल र ५५ वर्षीया सुशीला पासवानको मृत्यु भएको थियो। पासवानको घटनास्थलमै र मण्डलको उपचारका लागि अस्पताल लैजाने क्रममा ज्यान गएको थियो।
आगलागीमा परी घाइते भएका विराटनगर-६ का ५८ वर्षीय किशोर पासवान, ६० वर्षीया रिता सरदार र कटहरी गाउँपालिका-६ की ३० वर्षीया पिंकी कामतको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक दाहालले बताए।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएका थिए। आगलागीबाट करीब ४० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।