बालबालिकाको चिहान बनिरहेको गाजा
युद्धमा सर्वसाधारणको ज्यान नजाओस् भनेर सम्भव भएसम्मका सबै सावधानी अपनाएको दाबी इजरायली सेनाले गरे पनि इजरायली आक्रमण शुरू भएयता गाजामा सात हजारभन्दा बढी बालबालिकाको ज्यान गएको छ।
मुर्दाघर बाहिर सेतो कपडा, ब्ल्यांकेट र कम्बलमा बेरिएका दर्जनौं शव थिए। तिनै शवका बीच नौ वर्षका खालिद जुदेह रुँदै कराउँदै खाली खुट्टा दौडिरहेथे।
“मेरी आमा खोइ?”, रुँदै उनले द न्यूयोर्क टाइम्सका फोटोग्राफरलाई सोधे, “म आमालाई हेर्न चाहन्छु।”
“खलिल खोइ?”, उनको रोदन रोकिएको थिएन। एकोहोरो रोइरहेकाले बोली बुझ्न गाह्रो थियो। उनी आफ्ना १२ वर्षीय दाजुलाई खोजिरहेथे। खालिदले आफ्नो दाजुलाई अन्तिम पटक चुम्न सकून् भनेर मुर्दाघरका कर्मचारीले सेतो कपडाले पोको पारेको शव खोलेर देखाइदिए।
त्यसपछि अर्को शव निकालियो। उसैगरी सेतो कपडाले बेरिएको सानो शव। शव बेरेको कपडा निकाल्दा देखियो रक्ताम्य कोमल अनुहार। भक्कानो फुटाउँदै उनले चिनाए, त्यो शव उनकी आठ महीनाकी बहिनी मिस्क (‘कस्तुरी’को अरबी नाम)को थियो।
“तिमी सँगै भएपछि आमा खुशी हुनुहुनेछ”, बहिनीको निधार सुमसुम्याउँदै उनी फुसफुसाए। उनका आँखाबाट बगिरहेको आँसु ती शिशुको अनुहारमा थोपा थोपा झरिरहेथ्यो।
खालिदका आफन्तले पछि सुनाए अनुसार, ती शिशु परिवारको खुशी थिइन्। तीन छोरा भइसकेकाले उनका अभिभावक छोरी पाउन लालायित थिए। खालिदकी आमाले मिस्कलाई सधैं चम्किलो रंगीन लुगा र उनको सानो कपालमा चम्किलो काँटा लगाइदिन्थिन्।
रोदनसँगै खालिदले आफ्नी आमा, बुबा, दाजु र बहिनीलाई बिदा गरे। उनीहरूका शव लहरै राखिएका थिए। आफन्त र स्थानीय पत्रकारहरूका अनुसार २२ अक्टोबरमा भएको बमबारीले भवन ध्वस्त पार्दा त्यहाँ आश्रय लिइरहेका जुदेह कुल नै सखाप भयो। खालिदको परिवारमा उनी र उनका सात वर्षीय भाइ तमीर मात्र जीवित छन्।
खालिदका तीन जना आफन्तले भिन्दाभिन्दै अन्तर्वार्तामा बताए अनुसार त्यो रात प्यालेस्टाइनको मध्य गाजास्थित देर अल बलाहमा सुतेका जुदेह कुलका ६८ जना मारिए। आफन्तका अनुसार जुदेह परिवारका विभिन्न हाँगा र पुस्ताका मानिस त्यस रातको बमबारी अघि त्यहाँ जम्मा भएका थिए। तीमध्ये कतिपय उत्तरी गाजाबाट भागेर पुगेका थिए। इजरायलले उत्तरी गाजा छोड्न उर्दी जारी गरेपछि उनीहरू त्यहाँ पुगेका थिए। इजरायली सेना भने कुनै परिवारमा भएको बमबारीको जवाफ दिन नसकिने बताउँछ।
अन्ततः लामो चिहानमा परिवारका सबै सदस्यलाई लहरै राखेर पुरियो।
संयुक्त राष्ट्र संघले ‘हजारौं बालबालिकाको चिहान’ बनेकोमा चेतावनी दिएको थियो।
गाजा क्षेत्रमा बमबारी जारी छ। अस्पताल भत्किएका छन्। बालबालिका हराइरहेछन्। र मृत शरीर भग्नावशेषमा पुरिएका छन्। यस्तो वेला गाजामा कति बालबालिका मारिए भन्ने यकिन आंकडा निकाल्नु कठिन काम हो। गाजाका स्वास्थ्य अधिकारीहरूले बताए अनुसार इजरायली बमबारी शुरु भएयता कम्तीमा पनि पाँच हजार प्यालेस्टिनी बालबालिकाले ज्यान गुमाएका छन् (५ डिसेम्बरसम्ममा यो संख्या सात हजारभन्दा बढी पुगिसकेको छ– अनुवादक)। त्यो भूभागबारे परिचित अन्य अन्तर्राष्ट्रिय अधिकारी र विज्ञहरू यो संख्या तलमाथि हुनसक्ने मान्छन्।
संयुक्त राष्ट्र संघका अनुसार पछिल्लो वर्ष युक्रेनसहित विश्वका मुख्य युद्ध प्रभावित अन्य क्षेत्रमा २ हजार ९८५ बालबालिका मारिएका छन्। गाजामा मात्रै मारिएको बालबालिकाको संख्या यसको कम्तीमा तीन गुणा छ।
इजरायली सेना भने हमासले ७ अक्टोबरमा ‘महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएकालाई जसरी’ हमला नगरेको र सर्वसाधारणलाई ‘हानि नपुर्याउन’ इजरायली सेनाले ‘सबै सम्भावित सावधानी अपनाएको’ दाबी गरेको छ। आफूले ‘हमासको सैन्य र प्रशासनिक क्षमता क्षतविक्षत पार्न’ युद्ध गरेको इजरायली सेनाको कथन छ। हवाई हमला अगावै उत्तरी गाजाका मानिसलाई दक्षिणतिर जान आफूहरूले सचेत गराएको समेत उसको दाबी छ।
तर इजरायली सेनाले नै आफूले १९ नोभेम्बरसम्ममा १५ हजारभन्दा बढी पटक हमला भएको जनाएको छ। त्यो हमला दक्षिणी गाजामा पनि भएको छ। यो २१औं शताब्दीकै सबैभन्दा ठूलो बमबारी हो। र यो कुनै निर्जन भूभागमा नभई सघन शहरी बस्तीमा भएको छ जहाँ ठूलो संख्यामा सर्वसाधारण बस्छन्। यो हताहतीले संसारभर इजरायलको भूमिकामाथि प्रश्न खडा भएको छ। उसको निकटतम सहयोगी अमेरिकामाथि पनि प्रश्न उठिरहेछ।
शुरूमा गाजाका अधिकारीहरूले दिएको मृतकहरूको विवरणमाथि नै प्रश्न उठाएको बाइडेन प्रशासनले पनि ‘निकै धेरै’ प्यालेस्टिनीहरू मारिएको भन्न थालेको छ। सर्वसाधारणको मृत्यु संख्या अहिले भनिएभन्दा पनि बढी हुनसक्नेमा समेत ऊ सहमत छ।
देर अल बलाहस्थित अल–अस्का अस्पतालको मुर्दाघरका निर्देशक यासिर अबुर अमरका अनुसार त्यहाँको मुर्दाघरमा निकै धेरै संख्यामा बालबालिकाको शव ल्याइएको छ। बच्चालाई राख्ने कफिन नभएका कारण ठूलो कफिन काटेर मिल्ने आकारको बनाउनुपरेको उनले बताए।
“टुक्राटुक्रा भएका केटाकेटीको शरीर ल्याइएको छ”, उनले भने, “निकै भयावह स्थिति छ।”
उनले थप भने, “हामीले यति धेरै बालबालिका मारिएको कहिल्यै देखेका थिएनौं। हामी हरेक दिन रुन्छौं। हरेक दिन बालबालिकाको शव तयार पारिरहँदा हामी रुन्छौं।”
२० लाखभन्दा बढी मानिसले भरिएको गाजा शहरका अभिभावकले पहिलेका युद्धका बखत आफ्ना केटाकेटीलाई घरका विभिन्न कोठामा राख्थे। बमबारीका कारण घरको एउटा पाखो ध्वस्त हुँदा पनि अर्को पाखोमा रहेका केटाकेटी बाँच्थे।
यसपालि बमबारीको मात्रा निकै बढी छ। धेरै गाजावासीले बताए अनुसार चेतावनी विना जताततै बमबारी भइरहेको छ। जसले गर्दा केही अभिभावकले एकातिरका सन्तान मारिए पनि अर्कोतिरका बाँचून् भनेर गाजाका विभिन्न भागमा रहेका आफन्तको घरमा आफ्ना बालबच्चा छरेर राखेका छन्। कतिले त उनीहरू हराए, टुहुरा भए वा मारिए भने चिन्न सजिलो होस् भनेर छोराछोरीको छालामै नाम खोपाएका छन्।
गाजा शहरको अल–शिफा अस्पतालका डा. घस्सन अबु–सिताहका अनुसार त्यहाँको आकस्मिक कक्षमा धेरैजसो बालबालिका एक्लै ल्याइएका हुन्छन्। गहिरो चोट लागेको, जलेको र विषादमा परेको अवस्थामा उनीहरूलाई ल्याइन्छ। धेरैजसोको हकमा उनीहरू को हुन् भन्ने पनि कसैलाई थाहा नहुने उनले बताए।
“उनीहरूको परिचय नखुल्दासम्म ‘अपरिचित घाइते बच्चा’ भनेर राखेका छौं”, उनले भने, “सबैभन्दा दिक्कलाग्दो त, कतिपय बच्चाको परिवारका अरु सबै मारिइसकेका हुन्छन् त्यसैले उनीहरूलाई खोज्न कोही पनि आउँदैन।”
डा. अबु–सिताहले अहिलेको युद्ध झन् झन् बालबालिका विरुद्धको युद्ध जस्तो देखिएको बताए।
उनका अनुसार अल–सिफा अस्पतालले दुई साता अघि (आजको मिति अनुसार चार साताअघि) १,५०० जना ‘अपरिचित घाइते बच्चा’लाई दर्ता गरेको थियो।
हालै मात्र इजरायली सेनाले अस्पतालमै आक्रमण गर्यो। गाजाका हजारौं बासिन्दाले आश्रय लिइरहेको उक्त अस्पतालमा हमासको नेतृत्वले आश्रय लिएको दाबी गर्दै बमबारी गरिएको थियो। संयुक्त राष्ट्र संघले गाजामा भएको बमबारीले उक्त भूभाग सबैभन्दा जोखिमयुक्त बन्न पुगेको ठहर गर्यो।
यसभन्दा अघिका र अहिलेको युद्धमा गाजाका स्वास्थ्य अधिकारीहरूसँग काम गरेका अन्तर्राष्ट्रिय विज्ञहरूका अनुसार त्यहाँका अस्पताल र मुर्दाघरहरूले मारिनेहरूको नाम, परिचय र विवरण जुटाउने काम गरिरहेका छन्। बमबारी लगत्तै सार्वजनिक गरिने मृतकहरूको संख्याको आधिकारिकतामाथि प्रश्न उठाएको सन्दर्भमा उनीहरूको जवाफ छ– गाजाका स्वास्थ्यकर्मीहरूले सार्वजनिक गर्ने विवरण सही हुने गरेको छ।
इजरायली सेनाले भने ‘सर्वसाधारण (खासगरी बालबालिका)लाई क्षति पुगेकोमा दुःख मनाउ’ गरेको छ। साथै, ‘सबै कारबाही’ आफ्नै नियम र अन्तर्राष्ट्रिय कानून बमोजिम भएको सुनिश्चित गर्न जाँचबुझ गरिरहेको पनि बताएको छ।
तर मानव अधिकार समूह र अधिकारकर्मीहरू इजरायलले पहिले नै अन्तर्राष्ट्रिय कानून मिचिसकेको दाबी गर्छन्। हमासले गरेको आक्रमण ‘अप्रत्याशित, क्रूर र भयानक’ युद्धअपराध भएको बताउँदै संयुक्त राष्ट्र संघीय मानवअधिकार उच्च आयुक्त भोल्कर टुर्कले गत महीना भनेका थिए, “इजरायलले प्यालेस्टिनी सर्वसाधारणलाई दिएको सामूहिक दण्ड पनि युद्धअपराध नै हो।”
टुर्कले थप भने, “इजरायलले गरेको व्यापक बमबारीले ठूलो संख्यामा मानिस मारेको र घाइते बनाएको छ जसमध्ये बढीजसो महिला र बालबालिका छन्। यो असह्य अवस्था हो।”
केही अन्तर्राष्ट्रिय अधिकारीले त गाजामा बालबालिका जहाँ गए पनि असुरक्षित रहेको बताएका छन्। युनिसेफकी निर्देशक क्याथेरिन रुसेलले भनिन्, “गाजाका १० लाख बालबालिकाका लागि जाने सुरक्षित ठाउँ कतै छैन।”
१५ अक्टोबरमा नजिकै ठूलो विस्फोटको आवाज आउँदा आफू अल–नस्र अस्पतालमा २४ घण्टे ड्युटीमा रहेको डा. मोहम्मद अबु मौसा बताउँछन्। आवाज सुनेपछि उनले घरमा रहेकी श्रीमतीलाई फोन गरे। फोनमा कहालिएको आवाज आएको उनले बताए।
त्यसपछि उनले तत्कालै पत्नी, १२ वर्षीया छोरी र ९ वर्षे छोरालाई अस्पताल ल्याए। उनीहरू सबै रक्ताम्य थिए। घरको भग्नावशेषले थिचेकाले धुलाम्मे भएका थिए। उनीहरूलाई आराम गराउने प्रयत्न गर्दागर्दै उनी हतप्रभ भए, जब उनले थाहा पाए– सात वर्षे छोरा युसेफ उनीहरूसँग छैनन्।
“युसेफ खोइ?”, आफूले सोधेको उनी सम्झिन्छन्।
कसैले जवाफ दिन सकेन।
उनले बारम्बार आफ्नो छोराबारे सोधेपछि एक छिमेकीले भने, “अल्लाहले उसको आत्मालाई दया गरून्।”
डा. अबु मौसा छोराको मृत्युको खबर विश्वास गर्नै चाहँदैनथे। त्यति वेला पत्रकारहरूले अस्पतालमा खिचेको भिडिओमा उनी आफ्नो छोरा युसेफलाई खोज्न भौंतारिएको देखिन्छ। आफू छोरा खोज्दै कसरी कहिले यो विभाग त कहिले त्यो विभागमा दौडिरहें भनेर उनले सुनाए।
उनले बताए अनुसार त्यसरी भौंतारिरहेको वेला एक पत्रकारले उनको घर ध्वस्त भएको तस्वीरहरू देखाए। डा. अबु मौसाका अनुसार, उनले ती तस्वीरमै युसेफले लगाएको खैरो कपडा चिने। उनी घरबाट अस्पताल निस्कनुअघि छोरालाई चुम्दा उसले त्यही कपडा लगाएका थिए।
होसहवास गुमाएका डा. मौसा आकस्मिक कक्षबाट अस्पतालको मुर्दाघर पुगे। त्यहाँ उनले युसेफलाई भेटे। सधैं फोटो खिच्दा जिस्किँदै जिब्रो बाहिर निकाल्ने त्यो हँसिलो केटो निर्जीव पल्टिरहेको थियो।
त्यो आघात असह्य थियो। आफ्ना साथीहरूले थुमथुम्याउनुअघि उनी निकैबेर टोलाए।
उनका थुप्रै आफन्तले बताए अनुसार कुनै पनि चेतावनी विना उनको घरमा बमबारी गरिएको थियो र उनको परिवारलाई भग्नावशेषबाट निकालिएको थियो।
“युसेफ निकै मायालु बच्चा थियो”, उनकी आमा रवान भन्छिन्, “ऊ जहिल्यै मुस्कुराइरहन्थ्यो। हाँस्न र हँसाउन मन पराउँथ्यो।”
घरमा छँदा उनी आफ्ना बाको छेउमा वा काखमा बसेर, कहिलेकाहीं त एउटै चम्चाले खान मन पराउँथे।
“मैले जे गरे पनि उसले नक्कल गर्थ्यो”, डा. मौसाले भने।
त्यसरी मारिनेमा युसेफ मात्र एक्लो होइनन्। परिवारका सदस्यहरूका अनुसार डा. अबु मौसाका भाइ जासिरले दुवै छोरा र पत्नी गुमाएका छन्। डा. मौसाका १८ वर्षे भतिजा हमिद पनि मारिए। उनले भर्खरै मात्र उच्च अंकका साथ माध्यमिक तहको शिक्षा पूरा गरेका थिए। उनी बा, आमा, साहित्य र कला मन पराउँथे। आफन्तका अनुसार उनले यूरोपमा मेकानिकल इन्जिनीयरिङ पढ्ने योजना बनाएको थिए र माध्यमिक तहमा पढिरहँदा पनि जर्मन भाषा सिकिरहेका थिए।
उनका आठ वर्षे भाइ अब्दुल रहमान पनि मारिए।
“ऊ निकै चलाख र रमाइलो थियो”, जासिर अबु मौसाले आफ्नो कान्छो छोराबारे बताए।
मृत्युका घटनाले जीवितहरूमा गम्भीर मानसिक असर पारेको छ। गाजामा ‘रेडक्रसको अन्तर्राष्ट्रिय समिति’को तर्फबाट मानसिक स्वास्थ्यकी फिल्ड अफिसर नीदा जाइमका अनुसार थुप्रैै बालबालिकामा त्रासदीका संकेत देखा पर्न थालेका छन्। उनीहरू रातमा डराउँछन्।
“निदाइरहेको वेला उनीहरू एकाएक कहालिँदै उठ्छन्”, दक्षिण गाजास्थित रफामा रहेको रेडक्रस सेल्टरबाट जाइमले भनिन्। त्यहाँ उनी आफ्ना चार सन्तानसहित परिवारसँग बसिरहेकी छन्। “हरेक रात सेल्टरका केटाकेटी ‘हामी मर्दै छौं’ भन्छन्”, उनले भनिन्, “उनीहरू ‘मलाई जोगाऊ, मलाई लुकाऊ, म मर्न चाहन्नँ’ भन्दै चिच्याउँछन्।”
संयुक्त राष्ट्र संघ सेन्टर नजिकै शरण लिइरहेका हजारौं मानिस बीच चार वर्षीय हम्मुद क्वेदादा टेन्टभित्र भिडिओ गेममा केन्द्रित हुन खोजिरहेथे। बाहिर बमबारीको आवाज आइरहेथ्यो र उनी बसिरहेको जमीन कापिरहेथ्यो।
भिडिओ गेममा फूटबल खेलाडीले गोल गर्दा उनका दाजुभाइ र अरु केटाकेटीले ठूलो स्वरमा ‘गोल’ भनेर चिच्याए। त्यो आवाज यति ठूलो थियो, अरु टेन्टमा बसेकाले युद्धविराम घोषणा भयो भन्ने ठाने।
उनीहरूका अभिभावकले सोलार प्यानलसँग टेलिभिजन जोडे। बाहिर सुरक्षित भए जस्तो लागेर उनीहरूले फूटबल पनि खेले।
त्रासदीको यो कथा यत्तिमै टुंगिदैन।
हम्मुदकी हजुरआमाका अनुसार अर्को दिन बिहान जाग्नासाथ उनले ‘म त मर्छु होला’ भने।
“मैले उसलाई केही हुँदैन भनेँ”, ५३ वर्षीया हजुरआमा हान्ना जाबेर भन्छिन्, “अल्लाहको कृपाले तिमी ठूलो हुनेछौ, बिहे गर्नेछौ र आफ्ना केटाकेटीलाई कथा जस्तै गरी अहिलेको घटना सुनाउनेछौ।”
चार वर्षे हम्मुदको शब्दभण्डार युद्ध सम्बन्धी शब्दहरूले भरिएका छन्। युद्ध शुरु भएको केही दिनमा उनले आफ्ना अभिभावकालाई ‘शहीद’को अर्थ सोधेका थिए। वरिपरि के भइरहेछ भनेर सोध्दा उनले विना हिचकिचाहट भने, “बमबारी। बमबारी र युद्ध।”
गाजा समुद्री तट हो, जहाँ कुनै वेला तटको संस्कृति जीवन्त थियो। ३४ वर्षे यासिर अबु इसाक आफ्ना तीन छोरीलाई पौडी खेल्न कसरी सिकाएको थिएँ भनेर अहिले पनि सम्झिन्छन्।
“उनीहरूले सधैं मलाई समुद्रको बगर र पार्कमा लैजान भन्थे। म उनीहरू खेलेको हेर्दा रमाउँथें,” उनले भने।
जेठी छोरी सात वर्षकी थिइन् जसलाई उनकी आमाको नाम नै राखिएको थियो, अमल। यासिर सम्झन्छन्, “स्कूलमा ऊ उत्कृष्ट विद्यार्थी थिई। घरमा चार वर्षे बहिनी इस्राकी शिक्षक जस्ती थिई।”
बमबारीमा परेर उनको घर नष्ट हुँदा ती दुवै छोरी र पत्नी गुमाउनुपरेको उनले सुनाए।
यासिरका अनुसार, उनको परिवारका २५ जना मारिए, जसमध्ये १५ जना बालबालिका थिए। स्थानीय पत्रकारहरूले त्यो बमबारी, यासिरको परिवारका मृतकहरूको लहरै राखिएको शव र आफन्तहरूको रुवाबासीको समाचार लेखेका थिए। इजरायली सेना भने कुनै परिवारमा भएको बमबारीको जवाफ दिन नसकिने बताउँछ।
यासिरले बताए अनुसार उनी र उनकी एक वर्षे छोरी हाबिबा घाइते भएका थिए। उनीहरूलाई अस्पताल लगिएको थियो। त्यही दिन उनकी पत्नी र छोरी अमलसहित परिवारका अरु सदस्यलाई भग्नावशेषबाट निकालिएको थियो। आफू उपचाररत रहेकाले अन्तिम पटक उनीहरूको अनुहार पनि हेर्न नपाएको उनी बताउँछन्।
अर्को दिन छोरी इस्राको शव निकालियो। त्यति वेला उनी अस्पतालको मुर्दाघरसम्म जानसक्ने भएका थिए।
“मैले उसलाई अँगालो हालें। चुम्बन गरें। अलबिदा भनें र रोएँ”, उनले भने, “अल्लाहलाई मात्र थाहा छ, म कति रोएँ।”
(सबै तस्वीर समर अबु इलफ र युसेफ मसौदले खिचेका हुन्। रिपोर्टिङमा अलन युहास, समर अबु इलफ, अमिरा हराउदा र अब बक्र बसीरले सघाएका थिए। द न्यूयोर्क टाइम्समा १८ नोभेम्बरमा प्रकाशित यस रिपोर्टको अनुवाद लक्ष्मण श्रेष्ठले गरेका हुन्।)