राजीनामा दिएर हिंड्नुपर्ने हो, इमान नभएर सरकारमा बसेका छन् : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिएर जानुपर्नेमा इमान नभएकाले सरकार चलिरहेको टिप्पणी गरेका छन्।
एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्राका क्रममा बिहीबार बाग्लुङमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले देशको इज्जत समाप्त पारेको आरोप लगाए। “यो सरकारले स्वाधीनता कमजोर पार्छ। राष्ट्रिय हितको रक्षा गर्न सक्दैन। भूमिका बारेमा मुद्दा बोक्न सक्दैन। विकासका काम एमालेको पालामा भएका थिए, अहिले ठप्प छन्,” ओलीले भने, “तैपनि यस्तो सरकार चलिरहेको छ। चल्नु त के चल्नु, बसिराख्या छन्।”
सरकारले काम गर्न नसक्दा अर्थतन्त्र बिग्रिंदै गएको उनको भनाइ थियो। “अर्थतन्त्र ध्वस्त भएको छ। गरीबी बढेको छ। महँगी बढ्दो छ, देश कमजोर हुँदै गएको छ। ब्यांक र ऋणीहरूको सम्बन्ध तनावपूर्ण बनेको छ,” ओलीले भने।
पैसा बढी संकलन हुने पहिलो चौमासिकमै कर्मचारीलाई तलब खुवाउन ऋण निकाल्नुपर्ने अवस्था आउनु दुर्भाग्य भएको ओलीको भनाइ थियो। “अर्थतन्त्र ध्वस्त हुँदै गएको छ। आन्तरिक ऋण उठाएर कर्मचारी पाल्नुपरेको छ। ऋण लिएर प्रशासन चलाउनुपरेको छ,” पूर्व प्रधानमन्त्री ओलीले प्रश्न गरे, “यस्तो सरकारले विकास के गर्छ?”
सरकारकै कमजोरीका कारण राजनीतिक अस्थिरता बढ्दै गएको उनको आरोप थियो। “देशमा राजनीतिक अस्थिरता बढ्दो छ, अराजकता बढ्दो छ। जनतामा निराशा बढ्दो छ। युवा पलायन भइरहेका छन्,” ओलीले भने।
यस्तो अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएर हिंड्नुपर्ने ओलीले कटाक्ष गरे। “अहिलेको सरकार असफल सरकार हो। यो त गैरजिम्मेवार भएर, इमान नभएर मात्रै सरकारमा बसिरहेको छ नत्र राजीनामा गरेर घर जानुपर्ने सरकार हो,” उनले भने।