विराटनगरमा आगलागी, दुई जनाको मृत्यु
विराटनगरमा रहेको कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
बुधबार विराटनगर-७ स्थित सातघुम्तीमा रहेको कवाडी गोदाममा आगलागी भएको हो। आगलागीमा विराटनगर-६ का ४० वर्षीय दीपक मण्डल र पहिचान नखुलेका एक जनाको जलेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता रञ्जनकुमार दाहालले बताए। मृतक मण्डल गोदामधनी भएको दाहालले जानकारी दिए।
आगलागीमा परेर विराटनगर-६ की ६५ वर्षीया सुशीला पासवान र ६० वर्षीया रिता सरदार गम्भीर घाइते छन्। त्यस्तै, विराटनगर-६ का ५८ वर्षीय किशोर पासवान र कटहरीकी ३० वर्षीया पिंकी कामत सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
घाइते चारै जनालाई थप उपचारका लागि नेपाली सेनाको जहाजबाट कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको प्रहरीले जनाएको छ।
वारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक दाहालले बताए। प्रहरी नायब उपरीक्षक दाहालका अनुसार कवाडीका सामान लिएर आउने एक महिलाले शरीरमा लगाउने सेन्टको बोतल थिच्ने क्रममा नजिकै रहेका एक व्यक्तिले चुरोट सल्काउँदा आगो लागेको पाइएको छ।
बस्तीबीचमा रहेको कवाडीखानामा टिन, फलाम, प्लास्टिक, तामा, पित्तल लगायत पुराना सामानको खरीदबिक्री हुँदै आएको थियो। यो घटनाले कवाडीखाना सञ्चालनको अनुमति दिने निकाय सचेत हुनुपर्ने देखाएको बुद्धिजीवी सोमनाथ अधिकारी बताउँछन्। साँघुरो ठाउँमा तीन जनाले अलग अलग कवाडीखाना सञ्चालन गरेका थिए।
यस घटनापछि विराटनगर महानगरले यसखाले गोदामले सुरक्षाको मापदण्ड अनिवार्य अपनाउनुपर्ने निर्णय गरेको छ। सातघुम्तीमा रहेका कवाडीखाना हटाउन महानगरले यसअघि पनि आग्रह गरेको थियो। अब कुनै पनि कवाडीखाना र गोदाममा अपनाइएको सुरक्षा मापदण्ड हेरेर मात्रै अनुमति दिने निर्णय गरिएको मेयर नागेश कोइरालाले बताए।