‘अभिभावक आफूलाई किताब किन्छन्, छोराछोरीलाई चटक्कै बिर्सन्छन्’
‘हामीकहाँ बालसाहित्य लेख्नेहरूलाई खासै गनिंदैन। मिडियाले पनि बालसाहित्य र यो लेख्नेलाई ठाउँ दिएको पाइँदैन।’
आख्यान र बालसाहित्यमा कलम चलाउने लेखक हुन्, आन्विका गिरी। विगतमा कम्युनिस्ट कथासंग्रह (विसं २०६६) र मान्छेको रङ उपन्यास (२०७१) लेखेकी गिरी केही वर्षयता बालसाहित्य लेखनमा व्यस्त छिन्।
उनका सिक्दै सिकाउँदै, आमाले सक्नुहुन्छ, मेरी दिदी, ढ्याप्पा, पायल पढ्न जान्छे लगायत १८ वटा बालसाहित्य प्रकाशन भइसकेका छन्। गिरीसँग बालसाहित्य लेखन, यसको अवस्था र आवश्यकताका विषयमा हिमालखबरको पाक्षिक प्रस्तुति किताबका कुरामा अनिता भेटवालले गरेको कुराकानीः
कम्युनिस्ट र मान्छेको रङ जस्ता आख्यान मार्फत पाठकमाझ आफूलाई स्थापित गरिसक्नुभएको थियो, बालसाहित्यमा किन हात हाल्नुभयो?
मैले २००५ सालतिरै बच्चाहरूका लागि एउटा कथासंग्रह प्रकाशन गरेकी थिएँ। त्यसमा सात वटा कथा थिए। मेरो पहिलो किताब त्यही थियो। तर हामीकहाँ ठूलो मान्छेका लागि लेखेपछि मात्र लेखक बनिन्छ भन्ने भ्रम छ। त्यही भएर होला, म कथा लेखनतिर लागेछु। उपन्यास पनि निकालें।
त्यो सँगसँगै मेरी छोरी हुर्कंदै थिइन्। उनका लागि नेपाली किताब खोज्न थालें। उनलाई देश, समाज, भाषा, भूगोल सिकाउने किताबहरू त्यस वेला भेटिनँ। म आफैं लेखक भएकाले अरूले लेखिदिएनन् भनेर किन गुनासो गर्ने, आफैं किन नलेख्ने भनेर छोरीका लागि लेख्न थालें।
त्यस क्रममा तपाईंले बालसाहित्यका एक-दुई वटा किताब होइन, डेढ दर्जन कृति लेखिसक्नुभएको छ। के कुराले यसरी लेखिरहने बनायो?
लेख्दै जाँदा बच्चाहरूलाई कस्ता किताब चाहिने रहेछन् भन्ने लाग्न थाल्यो। बालसाहित्यमा लैंगिकता, सांस्कृतिक विविधता, भौगोलिक विविधताका कुरा अझै पनि कम लेखिएका छन् भन्ने लाग्छ। त्यस्ता धेरै विषय छन्, जुन लेख्न बाँकी छ भन्ने लागिरह्यो। लेख्दा रमाइलो पनि लाग्दै गयो। बालसाहित्य लेखनमा बिस्तारै जिम्मेवारीबोध पनि भएको छ। अहिलेको र आउने पुस्तालाई हामीले के पढाउने, सिकाउने र बुझाउने भन्ने लाग्न थालेको छ। यसैले केही नयाँ विषयवस्तुमा काम गर्दा सहयोग पुग्छ कि भनेर लेखिरहेकी छु।
अन्य साहित्य र बालसाहित्य लेखनमा के फरक हुँदो रहेछ?
बालबालिकाका लागि लेख्न सजिलो छैन। भाषा निकै सरल हुनुपर्छ। ठूला मान्छेहरूका लागि लेख्दा कथा, उपन्यासमा अलि क्लिष्ट विम्ब प्रयोग गर्ने सुविधा हुन्छ तर बच्चाका लागि लेख्दा चित्रको प्रयोगबारे जान्नैपर्छ। कसरी कथा र चित्रको संयोजनले एउटा किताबलाई सुन्दर बनाउँछ भनेर पनि जान्नैपर्छ। जब मैले बालसाहित्य लेख्न थालें त्यसपछि चित्र र चित्रकारको महत्त्वबोध गरें।
साहित्यका विभिन्न विधा लेखिरहेकाहरूले बालसाहित्य लेख्न सक्छन् तर बालसाहित्य लेख्नेहरूले ठूलो उमेरका लागि लेख्न सक्दैनन् भनिन्छ नि!
यो रुचिको कुरा रहेछ। रुचि भयो भने सकिन्छ। तर हामीकहाँ युवा तथा प्रौढका लागि लेख्नेहरूले बालसाहित्य लेख्नुलाई ज्यादै मामुली कुरा ठान्छन्। ‘यो त जसले पनि लेख्न सक्छ’ भनेको सुनिन्छ। ठूलो उमेरका लागि लेख्नेलाई मात्र लेखक मान्ने मानसिकता साहित्यिक वृत्तमा देखिन्छ। यसकै कारण, बालसाहित्य लेख्नेहरूले आफू बालसाहित्यकार हुँ भन्न समेत हिचकिचाएको र लघुताभासमा रहेको पाइन्छ। तर बालबालिकाका लागि लेख्नु असाध्यै जिम्मेवारीपूर्ण र संवेदनशील कुरा हो। बालसाहित्यमा सरल भाषामा सम्प्रेषण गर्ने खूबीको विकास हुनु महत्त्वपूर्ण र गर्व गर्नलायक कुरा हो।
तपाईंले पनि बालसाहित्य लेखेकै कारण मानिसहरूले उपेक्षा गरेको महसूस गर्नुभएको छ?
छु। आजभोलि कसैले मलाई के लेखिरहनुभएको छ भनेर सोध्दा मैले बच्चाहरूका लागि लेखिरहेकी छु भन्छु। फेरि, ‘अरू चाहिं के लेखिरहनुभएको छ?’ भनेर सोध्छन्। ‘अरू लेख्न छाडेर बालसाहित्यमा सीमित हुनुभयो’ पनि भन्छन्। तर यस्ता कुरामा खासै वास्ता गर्दिनँ, किनकि म एकदम सोचेर, बालसाहित्य लेख्छु भनेरै लागेकी हुँ। म बालसाहित्यका अझै धेरै किताब लेख्न चाहन्छु ताकि भोलि म बूढी भएपछि आन्विका गिरीको किताब पढेर हुर्केको भनेर आजका बच्चाहरूले भनून्। अहिले बालबालिकाकै लागि १० वटा सिरीजको किताब लेखिरहेकी छु। बालबालिकाका लागि लेखिरहँदा गर्नुपर्ने काम त यो पो रहेछ भन्ने लागेको छ।
बालबालिकामा पठन संस्कृति कसरी विकास गर्न सकिन्छ?
सानैदेखि किताबबारे थाहा भयो, किताबमा पहुँच भयो भने पढ्ने बानी बस्छ र उमेरसँगै पठन संस्कृतिको विकास हुन्छ। ठूलो भएपछि बानी बसाउन गाह्रो हुन्छ। हाम्रो पुस्ता लगभग किताब नपढी हुर्केको हो। पछि निकै गाह्रो गरी पढ्ने बानी विकास गरेका हौं। अब लेखन क्षेत्र नै पेशा भएकाले नयाँ केही आयो र पढिएन भने हामीलाई केही छुटे जस्तो लाग्छ। तर यस क्षेत्र बाहिरका मेरा कतिपय साथीलाई वास्तै छैन।
त्यसैले हामीले आजका बालबालिकालाई पढाउन पनि राम्रा किताबहरू प्रकाशन गरेर जग हाल्नुपर्छ। जग हालेकै छैन, महल किन बनेन भनेर गुनासो गरिरहेका हुन्छौं। पठन संस्कृतिको विकास नहुनुको एउटा कारण के हो भने, यहाँ बालसाहित्यको भन्दा ठूलो उमेरका व्यक्तिका लागि लेखिएका किताबको चर्चा बढी हुन्छ।
अब थोरै चर्चा गरौं, तपाईंले लेखेको बालसाहित्यबारे। आमाले सक्नुहुन्छ कथासंग्रहमा लैंगिक विभेदबाट बालबालिकाको मानसिकतामा पर्ने असरबारे लेख्नुभएको छ। यो विषय रोज्नुको कारण के हो?
आज पनि धेरै बालबालिकालाई ‘तिम्री आमा के गर्नुहुन्छ’ भनेर सोध्दा ‘घरमा यत्तिकै बस्नुहुन्छ’ भन्छन्। ‘बुबा अफिस जानुहुन्छ’ वा ‘काम गर्नुहुन्छ’ भन्छन्। आमा घरमा बस्ने मात्र र बुबाले चाहिं कमाएर ल्याउने भन्ने बुझाइ उनीहरूमा देखिन्छ। तर मैले आफ्नी आमाले घरको समस्या समाधान गर्नुभएको र अरू धेरै आमाले घर चलाएको देखेकी छु।
एक पटक अछाम गएको वेला त्यहाँका बालबालिकालाई ‘तिम्री आमा के गर्नुहुन्छ?’ भनेर सोध्दा ‘केही पनि गर्नुहुन्न’ भने। मैले फेरि सोधें, ‘तिमीलाई बिहान कसले खाना पकाएर खुवायो? स्कूल जान कसले तयार पार्यो? घरको काम कसले गर्छ? कसले नुहाइदिन्छ?’ यी सबैको जवाफमा उनीहरूले ‘आमाले’ मात्र भनिरहे। ती कुराले मलाई बिझायो। हाम्रो बालसाहित्य वा अन्य किताबले आमालाई मुख्य पात्र बनाउँदैनन्, सहायक पात्रका रूपमा राख्छन्। आमाहरूले पनि जिम्मेवारी वहन गर्न, समस्या समाधान गर्न र थुप्रै परिवर्तन गर्न सक्छन् भनेर कमै लेखिन्छ।
त्यसैले मैले बालबालिकालाई रमाइलो लाग्ने शैलीमा आमाको भूमिकालाई केन्द्रमा राखेर लेखें। आमालाई केन्द्रमा राखेर अन्य सन्देश पनि दिने प्रयास गरें। यसमा दिदीभाइबीचको प्रेम पनि छ, तराईको परिवेशमा लेखिएकाले त्यस क्षेत्रमा मनाइने चाडपर्वका कुरा पनि छन्।
आमनेपाली समाजमा छोरा मान्छेले बाहिरको काम गर्ने र छोरीले घरधन्दा सम्हाल्ने भनेर कामको विभाजन गरिएको पाइन्छ। यस्ता कुराले बालबालिकाको मनोविज्ञानमा असर पार्छ?
सानैदेखि हामीले बुबाले घर बाहिरका काम र आमाले खाना पकाएको, घरको सरसफाइ गरेको देख्छौं। त्यो देख्दै हुर्केका बालबालिकाले आमा वा छोरी मान्छेले गर्ने काम त यस्तै मात्र हुँदा रहेछन् भन्ने बुझ्छन्। उनीहरूले आफूलाई पनि त्यही रूपमा ढाल्न थाल्छन्। त्यसले उनीहरूलाई मानसिकसँगै शारीरिक र आर्थिक रूपमा असर गर्छ।
यो विषयलाई मैले विभेद भयो भन्नुभन्दा पनि आमाले बाहिरको पनि काम गर्नुहुन्छ, काम भनेको सीप हो, सीप जाने जसले पनि गर्न सक्छ भनेर बुझाएकी छु। मुख्य कुरा, घरको काम बुबाले गर्नु पनि स्वाभाविक हो भनेर बुझाएकी छु। खाना पकाउन, सरसफाइ गर्न जान्नु त सबैलाई जहाँ गए पनि काम लाग्ने जीवनोपयोगी सीप हो भन्ने बुझाउन खोजेकी छु।
तपाईंले मेरी दिदी किताबमा प्रश्न सोध्न बालबालिकालाई सिकाउनुपर्छ भन्ने सन्देश दिनुभएको छ। बालबालिकालाई कसले र कसरी प्रश्न गर्न सिकाउने?
बालबालिकालाई प्रश्न गर्न सिकाउनुअघि उनीहरूले प्रश्न गर्ने वातावरण बनाउनुपर्छ। उनीहरू एकदमै जिज्ञासु स्वभावका हुन्छन्। उनीहरूको जीवनमा हरेक कुरा पहिलो पटक हुने हुनाले त्यसप्रति उनीहरूमा चासो हुन्छ, प्रश्न उब्जिन्छ। त्यो प्रश्न सोध्ने वातावरण छ कि छैन भन्ने महत्वपूर्ण हो।
एउटा प्रश्नको जवाफ पाएपछि मात्र उनीहरूले अर्को प्रश्न सोध्छन्, उनीहरूले साधेका प्रश्न झिनामसिना मानेर जवाफ दिइएन वा पन्छाइयो भने उनीहरूले प्रश्न गर्नै छाड्छन्। उनीहरूलाई छुवाछूत वा छोरीहरूको सानै उमेरमा विवाह हुनेबारे सोध्दा हामीले सामान्य रूपमा लियौं भने उनीहरूले पनि सामान्य रूपमा नै बुझ्छन्। त्यही भएर हाम्रो बालसाहित्यमा पनि विषयवस्तुको जानकारी दिंदा कुन कुरामा बोल्नुपर्छ, प्रश्न गर्नुपर्छ भनेर सिकाउनैपर्छ।
अर्को, आमाबुबालाई सबै थाहा छ, आमाबुबाले भनेको सबै ठीक भन्ने लाग्छ। त्यो पूर्ण सत्य होइन। तर यहाँ बाआमासँग पनि प्रश्न गर्ने वातावरण हुँदैन। यस्तै, विद्यालयमा शिक्षकहरूलाई प्रश्न गर्दा खासै राम्रो मानेको पाइँदैन। प्रश्न सोध्ने विद्यार्थीलाई छुल्याहा र बदमासका रूपमा लिइन्छ। बालबालिकालाई प्रश्न सोध्न उत्साहित नै गरिंदैन। जुन समाजमा प्रश्न सोधिन्छ, जवाफ खोजिन्छ, त्यो समाज मात्र अघि बढ्छ। हामीकहाँ प्रश्न सोध्ने वातावरण छैन, यसका कारण समाज पनि यथास्थितिमा जमेर बसेको छ।
बालबालिकालाई कसरी सिर्जनशील र कल्पनाशील बनाउने?
यसका लागि बालबालिकालाई समय दिनुपर्छ, अर्थात् उनीहरूका कुरा ध्यान दिएर सुन्नुपर्छ। उनीहरूले भनेका कतिपय कुरा अर्थहीन हुन्छन् तर तिनै विषयमा संवाद गर्नुपर्छ। उनीहरूलाई ‘एउटा कथा भन त’ भन्यौं भने असम्भव कुरा पनि गर्छन् किनभने सम्भव र असम्भव कुराबारे उनीहरूलाई थाहै हुँदैन। उनीहरू त्यति धेरै कल्पनाशील हुन्छन्।
विद्यालयमा पनि शिक्षकहरू आउने, पढाउने र जाने गर्छन्, विद्यार्थीसँग संवाद खासै गर्दैनन्। सबै बालबालिका सिर्जनशील नहुन सक्छन्, सबै जना लेख्ने, पढ्ने, गाउने, नाच्ने नै हुनुपर्छ भन्ने पनि छैन। त्यो थाहा पाउन पनि संवाद चाहिन्छ। कुराकानी गर्दा बालबालिकाको रुचि-चाहना थाहा हुन्छ र त्यसै अनुसार अभिभावकले आफ्ना छोराछोरीलाई मार्गदर्शन गराउन सक्छन्।
कतिपय लेखकहरू किताब लेख्नकै लागि कतै परको एकान्त ठाउँ वा होटलमा बस्ने गरेको पाइन्छ। तपाईं बालसाहित्य कसरी लेख्नुहुन्छ?
बालसाहित्य होस् वा अन्य उमेरका लागि लेख्ने कुरामा, लेखकहरूको स्वभाव अनुसार फरक पर्ने कुरा हो यो। नेपालको सन्दर्भमा त महिला लेखकहरू बिहान सबै काम सकेर दिउँसो एक-दुई घण्टा र राति काम सकेर सबै सुतेपछि मात्र लेख्छन्। घर बाहिर कतै बसेर लेख्ने सीमित लेखकको अनुभव होला। केही लेखकलाई त्यहीं नपुगी लेख्न नसक्ने हुन्छ।
मेरो लेखन प्रक्रियामा भने पहिलो कुरा सोच्ने नै हुन्छ। त्यसपछि लेख्दा कम्प्युटरमा अनेक बसाइमा महीनौं लगाएर लेख्दिनँ। एक पटक बसेपछि सकेर मात्र उठ्छु। दुई-तीन वर्षयता म किशोर साहित्य लेख्नेबारे सोचिरहेकी छु। यस क्रममा किशोरहरूले बोल्ने भाषा, उनीहरूले पढ्ने कुरा लगायत सोचिरहेकी हुन्छु। बालसाहित्य लेख्नेहरूले पनि सोचिरहेका र अवलोकन गरिरहेका हुन्छन्। यत्तिकै बस्यो अनि लेख्यो भन्ने हुँदैन। तर हामीकहाँ बालसाहित्य लेख्नेहरूलाई खासै गनिंदैन। मिडियाले पनि बालसाहित्य र यो लेख्नेलाई ठाउँ दिएको पाइँदैन। बालसाहित्यको त किताब आउँदा पनि समाचार आउँदैन, चर्चा गरिंदैन।
बालसाहित्य लेख्न कस्तो सन्दर्भ सामग्रीको अध्ययन गरिन्छ? तपाईं के गर्नुहुन्छ?
सन्दर्भ सामग्री र अध्ययन एकदम आवश्यक पर्छ। मेरो सन्दर्भमा, के विषयमा लेख्न खोज्दै छु, मूल पात्र के हो र कहाँको परिवेश छ, कथामा कुन कुन मौसम आउँछन् भन्नेले फरक पार्छ। ती तय भइसकेपछि त्यस सम्बन्धी जानकारी र तथ्य अध्ययन, संकलन गर्छु। नाक कसरी ठाडो हुन्छ किताबमा तराईको परिवेश छ। त्यसमा वैशाख लाग्न अघिको याममा बाटोमा बुबा र छोरी हिंडिरहेका हुन्छन्। छोरी बनेकी पात्रले फूल टिप्दै हिंडेको कुरा छ। त्यो मौसममा कुन फूल फुल्छ भनेर उल्लेख गर्न अध्ययन चाहिन्छ।
अर्को उदाहरण, हालै अनूदिता बस्नेत लिखित ह्वेल राजा किताब प्रकाशन भएको छ। त्यहाँ सीहर्सको चित्र छ। पोथी सीहर्स र भाले सीहर्समध्ये कसको शरीर ठूलो हुन्छ भन्ने हेरेर, अध्ययन गरेर हामीले बनाएका थियौं। सामान्यतया पोथी सीहर्सको पेट ठूलो होला भन्ने लाग्छ तर भाले सीहर्सको पेट ठूलो हुने रहेछ। भर्खरै म प्रधानमन्त्री बन्न सक्छु किताब निकाल्यौं, जहाँ तथ्यगत कुरा छ। बालसाहित्यमा त झनै अनुमानितभन्दा तथ्यपरक कुरा नै राख्नुपर्छ।
यति मेहनत गरेर लेखिने बालसाहित्य कत्तिको पढिन्छ? अभिभावकले आफ्ना छोराछोरीका लागि किताबमा कति लगानी गर्छन्?
हामीकहाँ बालबालिकाका लागि किताब किनिदिने चलन खासै छैन। शहरी क्षेत्रका थोरै मात्र अभिभावकले छोराछोरीका लागि किताब नियमित किन्छन्। किताबको महत्त्व बुझेका अभिभावकले पनि आफ्ना लागि मात्र किताब किन्ने गरेको देखिन्छ। बालसाहित्यका कस्ता किताब आएका छन् र के लेखिंदै छन् भन्नेमा चासो राखिंदैन। तर छोराछोरी पढ्दैनन्, खालि मोबाइल चलाएर बस्छन् भनेर गुनासो गर्ने तिनै अभिभावक हुन्छन्।
बालबालिकामा पढ्ने बानी अभिभावकले नै बसाल्ने हो। पढ्ने बानी बसेपछि बिस्तारै उनीहरूले आफ्नो रुचिको विषयका किताब छानेर पढ्न थाल्छन्। त्यसैले पहिले उनीहरूलाई सकेसम्म धेरै किताब पढाउनुपर्छ। दाँत माझ्न, शर्टको टाँक लगाउन, मोजा लगाउन सिकाए जस्तै अध्ययन गर्न पनि सिकाउनुपर्छ। अभिभावकले सँगै बसेर पढाउनुपर्छ। एक पटक चित्र, अर्को पटक रङ देखाएर कुरा गर्ने, पछि पात्रबारे चर्चा गर्दै कथा पढाउने, उत्सुक बनाउने। त्यसपछि उनीहरू पढ्न रमाउन थाल्छन्।
सँगै बसेर पढ्दा अभिभावक र बालबालिकाबीचको भावनात्मक सम्बन्ध कसिलो पनि हुन्छ। तर हाम्रोमा यस्तो अभ्यास कम छ।
बालबालिकाले अभिभावकसँगै बसेर पढ्न पाएनन् भने के हुन्छ?
सँगै बसेर पढ्दा बालबालिकाले कुनै कुरा नबुझेमा अभिभावकलाई तुरुन्तै सोध्न सक्छन्। तर छेउमा कोही भएन भने उनीहरूले शब्दको अर्थ थाहा नभएमा वा विषयवस्तु नबुझेमा पढ्दापढ्दै छाड्न सक्छन्। त्यो कुरा उनीहरूले जीवनभर नसिक्न सक्छन्।
सँगै पढ्दा अभिभावकले पनि आफ्ना छोराछोरीलाई केकस्ता विषयवस्तु र कति कुरा थाहा छ भनेर जान्ने मौका पाउँछन्।
बालबालिकालाई यति वर्षको भएपछि बालसाहित्य पढाउन शुरू गर्नुपर्छ भन्ने कुनै निश्चित उमेर हुन्छ?
यो ठाउँविशेष अनुसार हुँदो रहेछ। यूरोप, अमेरिकामा पुस्तौंपुस्तादेखि किताब पढेरै हुर्केका हुन्छन्। त्यहाँ त गर्भावस्थामै कथा पढेर सुनाउँछन्। बच्चा जन्मेपछिको केही समय पनि पढेर सुनाउने, त्यसपछि पाना पल्टाउन मात्र पनि सिकाउने। त्यसपछि रङ र चित्रहरू देखाउने, एउटा मात्र शब्दका किताब पढाउने गरिन्छ।
तर हामीकहाँ त शिक्षामा पहुँच भएको इतिहास नै लामो छैन। त्यसमा पनि लैंगिक र जातिगत रूपमा शिक्षामा पहुँच फरक फरक समयमा भयो। अहिले पनि मधेशी दलित महिलाको पहिलो पुस्ता विद्यालय जाँदै छ। यो स्थितिमा पठन संस्कृतिमा यो वा त्यो भएन भनेर टिप्पणी गर्न सान्दर्भिक हुँदैन।
अहिलेको अवस्थामा कुन उमेरदेखि पठन संस्कृति बसाउने भन्ने विषयले शहरी क्षेत्रका सीमित मानिसलाई छुन्छ। सरकारले कक्षा १ मा भर्ना हुने उमेर ५ वर्ष तोकेको आधारमा त्यो समयपछि त अध्ययन गराउनैपर्छ। त्यसमा पनि पहुँच भएसम्म कथा पढेर भए पनि बालबालिकालाई सुनाऔं।
नेपाली बालसाहित्यका किताबमा विषयगत विविधता कम छ भनिन्छ नि!
विषयमा विविधता त चाहिन्छ। पहिले पहिले नेपाली बालसाहित्यमा नैतिक शिक्षा दिने र उपदेशात्मक सामग्रीको बाहुल्य थियो। अहिले त्यसभन्दा केही फराकिलो आयाममा लेखिए पनि विषयगत विविधताको हिसाबले हामी पछाडि नै छौं। विज्ञान, संस्कृति र भूगोलबारे बताउने सामग्री कम छन्।
यसो भनेर सबै किताब फूल, जून र ताराका बारेमा मात्र छन् भनेको हैन। यीभन्दा फरक विषयमा पनि लेखिएका छन्। यसका साथै, विदेशी किताबको नेपाली अनुवाद पनि प्रशस्त उपलब्ध छन्। यसबाट हाम्रा बालबालिकाले विदेशी संस्कृति पनि जान्ने मौका पाइरहेका छन्।
हामीले बालबालिकालाई तथ्य-प्रमाणमा आधारित सामग्री पढाउनुपर्छ। यस्तै, भौगोलिक, सांस्कृतिक, धार्मिक, जातीय र भाषिक विविधताको कुरा सिकाउनुपर्छ, जसमा हामी चुकिरहेका छौं। नेपालमा १२३ भाषा बोलिन्छन्। तर त्यो भाषा बोल्ने को हुन् भनेर हामीले चिनाउन सकेका छैनौं। हिमाल, पहाड र तराई त भन्छौं तर तिनको फरक विशेषताबारे कमै लेखिन्छ। मुख्य कुरा, सानैदेखि एकअर्काका भाषा, धर्म र संस्कृतिलाई सम्मान गर्ने सामग्री बालबालिकालाई अनिवार्य चाहिन्छ।
तपाईंलाई बालसाहित्यमा लेख्न मन लागेको विषय के छ?
मलाई काल्पनिक दुनियाँको किताब लेख्न मन छ। तर ममा त्यो क्षमता छैन। नेपाली बालसाहित्यको क्षेत्रमा त्यस्ता किताबको कमी छ। यस्ता किताबले बालबालिकालाई कल्पनाशील र जिज्ञासु बनाउँछन्। काल्पनिक संसारका कुराले उनीहरूलाई रमाइलो गराउँदै पढ्ने बानी पनि विकास गराउँछ।
अन्त्यमा, बालसाहित्य बाहेकको लेखनमा के गर्दै हुनुहुन्छ?
म लेखिरहेकी छु। एउटा कथासंग्रह र तीन वटा लामो कथा तयार छन्। तर अहिले विभिन्न भौगोलिक स्थानका फरक परिवार संरचनाका बालबालिकाबारे १० वटा सिरीजका किताबको तयारीमा व्यस्त छु। मलाई बालसाहित्य बाहेकका किताब ढिलो आए भन्ने चिन्ता छैन। बिस्तारै अघि बढ्ने हो।
(सम्पादन : जीवन कार्की, भाषा : प्रद्युम्न खनाल)
किताबका कुराका थप सामग्री: