खराब नै हो र पूँजीवाद?
पूँजीवाद सबैभन्दा खुला, सामाजिक रूपमा गतिशील र सबै वर्गको सम्भावना उपयोग हुने पद्धति हो। यसरी बुझ्ने/बुझाउने नगरिएकाले नै यसको विरोध भइरहेको छ।
राजनीतिक वृत्तमा धेरै विरोध गरिने तर सामाजिक व्यवहारमा सबैले अवलम्बन गर्ने विषय बनेको छ अहिले पूँजीवाद। बुद्धिजीवी, चिन्तक र केही अर्थशास्त्री समेत पूँजीवादका आलोचक छन्। थोमस पिकेटीले पूँजीको केन्द्रीकरण हुने मुख्य चरित्रलाई आधार मानी आफ्नो पुस्तक एक्काइसौं शताब्दीको पूँजीवादमा यसको आलोचना गरेका छन्।
कुल सम्पत्तिमा माथिल्लो १० प्रतिशतको अंश विश्लेषण गर्दा उनले पूँजीवादले सम्पत्तिको केन्द्रीकरण भएको देखे। पूँजीको प्रतिफलको दर राष्ट्रिय आयभन्दा उच्च हुँदा सम्पत्तिको असमानता बढ्ने र यसको प्रभाव आधारभूत रूपमा लोकतन्त्रको विपरीत हुने पिकेटीको निष्कर्ष छ। एक प्रतिशत मानिसका हातमा विश्वको कुल २० प्रतिशत सम्पत्ति हुनु उनको तर्कलाई सिद्ध गर्ने आधार हो।
नोम चोम्स्कीले नवउदारवादको सापेक्षतामा पूँजीवादको धज्जी उडाएका छन्। कोभिड-१९ का वेला नवउदारवादमा पूँजीवादको क्रूर अनुहार देखिएको तर्क गर्ने उनी पूँजीवादले नाफा कमाउने बाहेक केही नगर्ने, पूँजीवादी नवउदारवाद हावी हुँदा सरकारले समेत केही गर्न नसक्ने जिकिर गर्छन्।
जर्ज मोरन्वयोटले त नवउदारवादको सिद्धान्त मानव जीवनलाई असर पार्न र अर्थको केन्द्र बदल्न जानीजानी प्रतिपादन भएको भनी विरोध गरेका छन्। उनका मतमा नवउदारवादले प्रयोग गर्ने भनिएको स्वतन्त्रता सुन्दा आकर्षक हुन्छ तर यो स्वतन्त्रता कुलीन वर्गका लागि मात्र हो न कि गरीबका लागि।
ड्यानी रोड्रिक नवउदारवाद बजारलाई सांस्कृतिक मान्यताभन्दा आर्थिक लाभ र सामूहिक क्रियाकलापभन्दा निजी प्राथमिकता दिने प्रणाली भन्छन्। जोसेफ स्टिग्लिजका अर्थमा यो नाफाको निजीकरण र घाटाको सामाजिकीकरण हुने अर्थप्रणाली हो। एमानुएल सेज र ग्राब्रिएल जुकरमेनले द ट्रिम्फ अफ जस्टिसमा धनी मानिस बाहेक अरू आर्थिक रूपमा कसरी ओह्रालो लागिरहेछन् भन्ने देखाएका छन्।
फ्रान्सिस फुकुयामाले पनि स्टेट विल्डिङमा राज्यलाई विस्थापन गर्ने धेरै कारकमध्ये एउटा बजार अर्थतन्त्र रहेको भन्दै घुमाउरो शैलीमा पूँजीवादको आलोचना गरेका छन्। कोभिड-१९ कै सन्दर्भ जोड्दै थोमस फर्गुसन र रोव जोन्सनले भनेका छन्- ‘अन्यत्र निःशुल्क भएको स्वास्थ्य सेवा अमेरिकामा अपवाद बन्छ भने बीमा कम्पनीमा एकोहोरो बीमा तिर्ने मानिस मात्र हुनु आश्चर्य होइन।’ यस्तो स्थितिमा कम्पनीहरूले गर्ने डकैती निस्तेज पार्न सहज नहुने उनीहरूको आशय छ।
तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले संसद्मा सभासदलाई जवाफ दिने क्रममा भनेका थिए, ‘म आफैं पनि नवउदारवादी व्यवस्थाको पक्षमा रहेको मान्छे होइन।... मैले यो व्यवस्थाले कायापलट गर्छ कहिल्यै भनिनँ। तर माननीयलाई के स्मरण गराउन चाहन्छु भने हाम्रो संविधानले राष्ट्रका सबै स्रोतहरूलाई केन्द्रित गरेर शतप्रतिशत राज्यनिर्देशित अर्थप्रणाली स्वीकार गर्दैन।’ लोकतन्त्र बहालीपछिका अर्थमन्त्री महेश आचार्य र रामशरण महतका शुरूका बजेटलाई छाड्दा नेपालका सबैजसो अर्थमन्त्री उदारवादी सिद्धान्तमा छैनन्।
राजनीतिक वृत्तबाट पूँजीवादको समानार्थीका रूपमा एलपीजी (उदारीकरण, निजीकरण र विश्वव्यापीकरण) को निकै आलोचना हुँदै आएको छ तर यथार्थमा यो प्रक्रियाबाट पर रहेर न अर्थतन्त्र विकास भएको छ न मुलुकले समृद्धि पाएको छ। विकसित अर्थतन्त्र पूँजीवादको आदर्श अभ्यासबाट समृद्धिको शिखरमा छन्। उदीयमान अर्थतन्त्रहरू पूँजीको व्यवस्थित प्रयोग र प्रोत्साहन मार्फत विकास, समृद्धि र न्याय प्राप्त गरिरहेछन् तर राजनीतिक कलेवरमा यही यथार्थलाई हाकाहाकी भन्न कतिपय राजनीतिकर्मी डराउँदै आएका छन्।
विशेषतः शासकीय क्षमता र राजनीतिक नेतृत्व कमजोर रहेका मुलुकमा पूँजीवादको आलोचना अल्पकालीन राजनीतिक अभीष्टको आधार भएको छ। त्यो कुरा स्वयम् नेताहरूलाई थाहा छ तर कामबाट गरीब र विपन्नको मन जित्न नसक्दा शब्दबाट जित्ने अभियानका रूपमा पूँजीवादको बेस्सरी विरोध भएको छ। कतिपय त नबुुझीकनै विरोध गर्नुपर्छ भन्ने आग्रहमा समग्रमा शब्दलाई नै बहिष्करण गरिरहेछन् त कतिपय नबुझीकनै समर्थन गरिरहेछन्। रबर्ट हेलब्रोनर भन्ने गर्छन्, “बजार संस्कृतिको प्रभावबाट आधा मनोरञ्जित र आधा चाहिं त्रस्त छौं।”
पूँजी उत्पादनको साधन हो। यसकै कारण व्यक्तिले वस्तुको स्वामित्व ग्रहण गर्छ र थप काम गर्न प्रोत्साहित हुन्छ। पूँजीवाद ज्यालादारी मजदूर, मशिन र प्रविधि प्रयोग गरेर बृहत् उत्पादन गर्ने तरीका हो। श्रम, विचार, प्रविधि र प्रयासबाट पूँजी प्राप्त हुन्छ। कसैले पूँजीको स्वामित्व ग्रहण गर्दैनथ्यो त समाज व्यवस्था नै सम्भव थिएन। रबर्ट ओवेन (१७७१-१८५५)ले कार्ल मार्क्सको पूँजीको व्याख्या गर्नुअघि व्यक्तिगत स्वामित्व उन्मूलन गरी सामूहिक खुशीका लागि शुरू गरेको ‘ओवेनी समाजवाद’ (युुटोपिया) सिद्धान्तमा मात्र सीमित भयो। अहिले ओवेनी समाजवाद सैद्धान्तिक आदर्शलाई मात्र काम लागिरहेको छ। व्यवहारमा खुशी र उत्साह मानव मनोविज्ञान र निजत्वमा रहन्छ।
पूँजी धनी व्यक्तिको स्वामित्वमा मात्र हुन्छ भन्ने जुन प्रचलित व्याख्या छ, त्यो नै गलत हो। पूँजीकृत वस्तुको सिर्जना जोकसैले गर्न सक्छ र आफ्नो अधीन राख्न सक्छ- कम्पनी, संस्था र सहकारीहरूले पनि। पूँजीवादीहरू यन्त्र चलाउन, प्रविधि र ज्ञान विकास गर्न मानिस भर्ना गर्छन् भन्ने गरिन्छ। कम्पनीको नाफा र मानिसको ज्यालालाई द्वन्द्वको आधार भन्ने गरिन्छ। तर ज्याला व्यवस्था पूँजीवादको अनिवार्य शर्त होइन। पूँजीवाद सबैभन्दा खुला, सामाजिक रूपमा गतिशील र सबै वर्गको सम्भावना उपयोग हुने पद्धति हो। यसरी बुझ्ने/बुझाउने नगरिएकाले नै पूँजीवादको विरोध भइरहेको छ।
व्यक्तिगत सम्पत्ति नै पूँजीवादको जड हो। पूँजीवाद वा वैयक्तिक सम्पत्तिको निर्मूलन गर्न सकिन्छ त? समाज व्यवस्था कायम गर्न यौनसम्पर्क, त्यसका निम्ति पत्नीप्रति एकल यौनाधिकार राख्ने सोच, पत्नी र सन्तानलाई संरक्षण गर्ने परम्पराले व्यक्तिगत सम्पत्ति (पूँजी) वादको विकास भएको हो जुन अरू प्राणीमा हुुँदैन। आचार्य रजनीशका अनुसार परिवार निजी सम्पत्ति सहित अस्तित्वमा आउँछ। निजी सम्पत्ति भंग हुन परिवार भंग हुनुपर्छ। तर यो सबैभन्दा पुरानो संस्था भत्काउन सहज छैन। “शोभियत संघमा पनि साम्यवाद भएन, सम्पत्तिको स्वामित्व उन्मूलन भएन। बरु व्यक्तिगत सम्पत्ति नाश गर्ने नाममा निजी स्वतन्त्रतामाथि अधिनायकत्व सिर्जना भयो। त्यो सर्वसाधारणलाई दुःख र व्यक्तिगत उत्साहको अपहरण थियो,” उनी भन्छन्।
पूँजीवादका आलोचकको कमजोरी भनेको समाजवादको आदर्शलाई पूँजीवादको यथार्थसँग तुलना गर्नु हो। सिद्धान्तलाई व्यवहारसँग तुलना गर्नु वैध होइन। सिद्धान्तलाई सिद्धान्तसँग र नतीजालाई नतीजासँग तुलना गर्दा नै पूँजीवादलाई किन खराब भनियो, केकस्ता कमजोरी हटाएपछि यो राम्रो देखिन्छ भन्ने उत्तर पाइन्छ।
सामाजिक न्याय र समानताको व्याख्या गर्ने सन्दर्भमा विचारकहरूको दृष्टिकोण फरक छ। यसमा प्रमुखतः उदारवादी धार र वामपन्थी धार रहेका छन्। मध्यधारका रूपमा होड्गेपोड्गे वा बाटिक सोसियलिज्म पनि विकास भएको छ। वामपन्थी धारले वितरण मार्फत समतामूलक समाजको खोजी गर्छ भने उदारवादी धारले आदर्श बजार मार्फत सामाजिक न्याय भन्छ। मध्यधारले भने नियोजित बजार वा उदारीकृत राज्यवादलाई अपनाउँछ। उपयोगितावादी जे एस मिल सामाजिक सन्तुष्टिको महत्तम सन्तुलनले सामाजिक न्याय ल्याउने धारणा राख्छन्।
जोहन राओल पुनर्वितरणलाई सामाजिक न्याय प्राप्त गर्ने सजिलो बाटो मान्छन्। मिलर ‘अल्छी र कम क्षमतावान्का तुलनामा कडा परिश्रमी र क्षमतावान्हरूले बढी लाभ लिन्छन्, त्यसैले व्यक्तिगत प्रयासको सापेक्षमा पूँजी प्रतिफललाई प्रोत्साहन गर्छ’ भन्ने शाश्वत तर्क राख्छन्। अमर्त्य सेन पनि व्यक्तिगत क्षमताकै कारण व्यक्तिले गरीबी टार्ने मान्यतामा छन्। गोर्डन ब्राउनले केही वर्षअघि बजेट प्रस्तुत गर्ने सन्दर्भमा भनेका थिए, “व्यक्तिले क्षमता अनुसारको अवसर पाउन समान रूपमा प्रतिस्पर्धी हुने समाज नै न्यायपूर्ण हो। त्यसैले वितरणभन्दा बजार सामाजिक न्यायको दिगो आधार हो।”
धन भने असमानतासँग अभिन्न रूपमा गाँसिएको हुन्छ। आदम स्मिथका भनाइमा जहाँ ठूलो सम्पत्ति हुन्छ, असमानता पनि ठूलो हुन्छ। धनकै मानकले बहुसंख्यकको पहिचान विपन्नका रूपमा हुन्छ। धनको अनुसरणले स्वतन्त्रताको विस्तार गर्छ। धनीहरूले स्वतन्त्रताको बढी नै उपयोग गर्दछन्। धन आफैं स्वतन्त्रताको कमाइ पनि हो। तर साम्यवादले निजी स्वतन्त्रताको अतिक्रमणमा अवसरलाई साँघुुरो बनाइदिन्छ।
साम्यवादको वास्तविक रूप आर्थिक जीवनलाई कर्मचारितन्त्रीकरण गर्नु हो। स्वतन्त्र हुने मानवीय स्वभावको नियन्त्रण उचित होइन। रबर्ट हेलब्रोनर भन्छन्, “मार्क्सका निमित्त व्यवहारका नियन्त्रणहरू सामाजिक सम्बन्ध हुन्, फ्रायड र उनका उत्तराधिकारीका निम्ति उनीहरूका बालसुुलभ नाताहरू हुन्। त्यसैले सामाजिक न्याय र अवसरको सामान्य उपलब्धताका लागि प्रभावकारी नीति र क्रियाशील राज्य चाहिन्छ।”
पूँजीवादका व्याख्याताहरू पूँजीले विश्वलाई यहाँ ल्याइपुुर्याएको तथ्यगत तर्क प्रस्तुत गर्छन्। आदम स्मिथको विशिष्टीकरण, डेभिड रिकार्डोको तुलनात्मक लाभ र उत्पादन दक्षता, लडविड भोन मिसेसको स्वतन्त्र कारोबारको लाभ, एफ एम हायकको स्वचालित व्यवस्था अवधारणा, मिल्टन फ्रायडम्यानको नियमको लागत, बुकानन र टलकको राजनीतिक प्रक्रियाको अदक्षता, गेरी वेकरको सामाजिक समस्याको आर्थिक समाधान मानवीय पूँजी, इज्राएल कर्जनरको गतिशीलताको प्रभाव, एच म्याक्लास्कीको आर्थिक वृद्धिको सिद्धान्तहरूले पूँजीवादको विश्लेषण र उपयोगिता उल्लेख गरेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषको संरचनात्मक सिद्धान्त, ब्रिटेनउड अवधारणा कुनै न कुनै रूपमा पूँजीवादको पैरवी नै हो। अन्तर्राष्ट्रिय सङ्गठन र मञ्चहरू विचारका केन्द्र बनिरहेका छन्।
पूँजीवादको उपल्लो तर्क अनुसार राजनीतिक सीमा समेत व्यक्तिगत आवश्यकताभन्दा माथि रहँदैन। हेल्ब्रोनर र बटलरका तर्कमा पूँजीवादले मानवीय सम्पत्ति र जीवनस्तरमा सुधार ल्याएको छ। सन् १८०० मा विश्वका जनसंख्याको प्रतिदिन/प्रतिव्यक्ति आम्दानी एकदेखि पाँच अमेरिकी डलरसम्म थियो। अहिले अमेरिकीहरूको औसत आय १०० गुणाभन्दा बढी भएको छ। पूँजीवादले महासमृद्धि प्राप्त गरे पनि यसको उछितो काढ्ने काम भने हुँदै आएको छ। जबकि आलोचकहरू पनि पूँजीवादकै उपलब्धि उपयोग गरिरहेका छन्। नोम चम्स्की, थोमस पिकेटी लगायतको आलोचना व्यावहारिक कमजोरी र अपवादको सामान्यीकरण हो भन्दा हुन्छ।
पूँजीवाद राजनीतिज्ञहरूको हस्तक्षेपबाट बेस्सरी विकृत छ। बुद्धिजीवीहरू पनि आफ्ना सिद्धान्त र विचार मार्फत यसलाई अस्पष्ट पार्न, अलमल्याउन त्यत्तिकै जिम्मेवार छन्। उनीहरू खास सन्दर्भमा घटना र व्यवहारलाई सामान्यीकरण गरेर सबै समय र सन्दर्भमा लागू गर्ने सिद्धान्त सिफारिश गरी सबैलाई अलमल्याउँछन्। आदम स्मिथले सामन्ती व्यवस्थापका विकल्पमा उदारवादको व्याख्या गरेका थिए। कार्ल मार्क्सले गरेको पूँजीको विश्लेषण औद्योगिक-आर्थिक क्रान्तिको अनुुभवमा आधारित श्रम शोषणको विकल्पमा, साम्यवादको अभीष्टमा थियो। किन्जले उदारवादको विकल्पमा कल्याणकारी राज्यवाद भने। निश्चित सामयिक परिवेशका ती व्याख्यालाई सार्वकालिक मान्नु त्रुटिपूर्ण छ।
पूँजीवादको व्याख्याका सन्दर्भमा एमन बट्लर र एफ एम हायकलाई बुुझ्नुपर्छ। नवउदारवादलाई सर्वप्रथम फ्रेडरिक एम हायक र लुडभिड भोन मिसेसले प्रतिपादन गरेका थिए। हायकले दी रोड अफ सर्फडम पुस्तकमा सरकारको व्यक्तिवाद सिध्याउने नीतिले अधिनायकवाद ल्याउने तर्क गरे। उनको अर्थमा नवउदारवाद वैयक्तिक आर्थिक स्वतन्त्रताको उच्चतम रूप हो।
मिसेसले पनि कर्मचारितन्त्र पुस्तकमा हायकको तर्कलाई समर्थन गर्दै सरकारले वैयक्तिक आर्थिक स्वतन्त्रतालाई आफ्नो संयन्त्र मार्फत अतिक्रमण गर्ने धारणा राखेका छन्। अस्ट्रियन आर्थिक विचारधाराका नेपाली अनुुयायी भोलानाथ चालिसे श्रम, लगानी र व्यवसाय गर्न राज्यको अनुमति लिनुपर्ने व्यवस्थाले व्यक्तिको निजी स्वतन्त्रता स्वतः अतिक्रान्त हुने सोच राख्छन्। उनको निष्कर्ष व्यक्तिगत स्वतन्त्रताको सीमाभन्दा माथि राज्य पनि हुँदैन भन्ने हो।
कट्टर आलोचकहरू नवउदारवादका अलोकप्रिय नीतिहरू मुलुक संकटमा परेको, जनता विक्षिप्त भएका बखत लागू गर्दा राम्रो हुने बताउँछन्। जस्तो कि पिनासोको कू, इराक युद्ध, क्याट्रिना आँधी आदिबाट ती मुलुकलाई तंग्य्राउन यसले ‘क्याप्सुल’ को काम गरेको थियो। तर चोम्स्की लगायतका मतमा कोभिडका समयमा यो झनै विफल सावित भयो। आलोचकमा पनि समवेत स्वर देखिंदैन। तर उनीहरू केमा चाहिं सहमत छन् भने नवउदारवादले ल्याउने राजनीतिक संकट आर्थिक संङ्टकभन्दा खतरनाक हुन्छ। राजनीतिक प्रणालीले पुलपुल्यएर लागू गर्ने नवउदारवादले अर्थतन्त्रप्रतिको राजनीतिक शक्ति कमजोर बनाइदिन्छ। राजनीतिक नागरिकभन्दा अर्थतन्त्रका उपभोक्ता शक्तिशाली हुन्छन्, राजनीतिक कार्यकारीभन्दा आर्थिक पात्रहरू प्रभावी हुन्छन्।
पूँजीवादका विरोधीहरू आर्थिक पूँजीको एकल रूप र यसका कमजोरीलाई उचालिरहेका छन्। तर एक्काइसौं शताब्दीमा पूँजीका विभिन्न रूप छन् जुन आर्थिक पूँजीभन्दा पनि महत्त्वपूर्ण हुन्छन्। मानवीय पूँजीले सबै प्रकारको पूँजीलाई अधीन राखेको हुन्छ। अमेरिकी अर्थशास्त्री गेरी वेकरले ‘मानवीय पूँजी’ शब्दको निर्माण गरी यसलाई ज्ञान र व्यक्तिगत गुणहरूको समष्टिमा उल्लेख गरेका छन्। मानवीय पूँजीले व्यक्तिलाई उत्पादक बनाउँछ। यसमा शिक्षा र सीप मात्र नभएर एकाग्रता र सुुस्वास्थ्य समेत पर्छन्। व्यक्ति स्कूल, कलेज, तालीम केन्द्र गएर वा अन्य सिकाइ परिवेश मार्फत उत्पादनशील बन्न व्यावहारिक र स्वभावजन्य सीप सिक्छ। मानवीय पूँजीको अवधारणाले परम्परागत रूपमा भनिएको श्रम र भूमिको श्रममूलक उत्पादनका साधनको विभाजनलाई पनि साँघुरो पार्छ।
एमन बट्लर उत्पादनका प्रक्रियामा रहने प्रणालीगत पूर्वाधार, प्रविधिलाई पनि पूँजीगत सम्पत्ति भन्न रुचाउँछन्। यसका लागि उनले फोर्ड मोटर कम्पनीलाई दृष्टान्त लिएका छन्। अग्रणी मोटर गाडी निर्माता हेनरी फोर्डले गाडी उत्पादनका लागि परम्परागत प्रविधिलाई नयाँ तरीका दिएका थिए। टेलिफोन सञ्जाल, आपूर्ति शृंखला आदि पनि बट्लरका भाषामा पूँजी हुन्। तिनीहरू सांगठनिक पूँजीमा दरिएका छन्। आजभोलि सामाजिक, बौद्धिक, संवेगात्मक जस्ता स्वरूपमा पूँजीको विस्तार भएको छ। एआईको जमानामा मार्क्स, वेकर, स्मिथ, रिकार्डो, बट्लर आदिले बताएको पूँजीको अर्थवत्ता फैलिएको छ। जोसेफ स्टिगलिज, ड्यानी रोड्रिक लगायत बुुझाइको नयाँ आयतन खोज्नमा गतिशील छन्। चोम्स्की, पिकेटीहरूको व्याख्या विश्लेषण स्वभाविक रूपमा गतावधिक हुने नै भए।
बट्लर अरूको मेहनतको फल चोरेर मात्रै पूँजी संकलन गर्न सकिन्छ भन्ने आलोचकको भनाइप्रति नै आलोचक छन्। कुनै जमाना थियो होला, जहाँ सामन्ती, शोषक, राजाहरू अरूको मेहनतको प्रतिफल शोषण गर्थे, पूँजी जम्मा गर्ने कुरामा एकाधिकार पनि थियो। तर आधुनिक समाज जहाँ लोकतन्त्र र अर्थतन्त्रमा उदारवाद छ त्यहाँ शोषण विरुद्धको हक संविधानमै लिपिबद्ध छ, एकाधिकार विरुद्ध प्रतिस्पर्धाको वातावरण छ। तर प्रतिस्पर्धा गर्दा स्वार्थी आचरणको विकास हुन्छ।
‘स्वार्थी व्यक्तिले परोपकारीलाई परास्त गर्छ। तर व्यक्तिको निजत्व र सामाजिक संस्था अन्तर्विरोधी नभएर एकअर्काका पूरक हुन्छन्,’ एक्काइसौं शताब्दीमा मार्क्सवादको कार्यपत्रमा बाबुराम भट्टराई भन्छन्। उनका अनुसार निजत्वको प्रधानता पूँजीवाद, सामाजिक सम्बन्धको प्रधानता समाजवाद/साम्यवाद र निजत्व र सामाजिक सम्बन्धको समुच्चता वैज्ञानिक समाजवाद हो जसलाई उनले राजनीतिक प्रणालीको अभीष्ट भन्न खोजेको देखिन्छ।
आजभोलि शोषण विरुद्धको संघर्षभन्दा व्यक्ति आफू असान्दर्भिक र गतावधिक भइएला कि भनी आफ्नै सशक्तीकरणका लागि संघर्षरत छ। यस अवस्थामा पूँजीको शोषण निकै साँघुरो अवधारणा हो। पूँजीवादको विश्वव्यापी लहर चलाउने अदृश्य हात मानिएका कर्पोरेट ‘गुरिल्ला’ हरूका प्रमुख प्रशासकीय अधिकृतहरूको डाभोस भेलाले उनीहरू शेयर मालिकको नाफा सुरक्षित गर्नेभन्दा उपभोक्ताको न्याय र स्वादका लागि प्राथमिकतामा रहने घोषणा जारी गरेका थिए।
सरकारसँग सहभागिता त कर र रोजगारीमा छँदै छ, समाजसँग संस्थागत सामाजिक जिम्मेवारीको साझेदारी पनि छ। त्यसैले पूँजीपतिहरू इतिहासका शासक र बेइमान व्यवसायी जस्ता चोर्न पल्केका पात्र पटक्कै होइनन्। त्यसो हुँदो हो त पूँजीको सिर्जना र प्रसारले सामाजिक मान्यता किन पाउँथ्यो र?