एनसेलको शेयर खरीदबिक्री प्रक्रिया रोक्न लेखा समितिको निर्देशन
संघीय संसद्को सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरीदबिक्री प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिएको छ।
बुधबार बसेको लेखा समितिको बैठकले एनसेलको शेयर खरीदबिक्री प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिने निर्णय गरेको हो। समितिका सभापति ऋषिकेश पोखरेलको अध्यक्षतामा बसेकाे बैठकले नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृति नलिई शेयर खरीदबिक्री प्रक्रिया अघि बढाएको देखिएकाले रोक्नुपर्ने निर्णय गरेको छ।
समितिको निर्णयमा भनिएको छ, ‘हालै भएको भनिएको प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गतको एनसेलको ८० प्रतिशत शेयरको खरीदबिक्री वा हक हस्तान्तरणको सम्बन्धमा विस्तृत रूपमा अनुसन्धान गरी निष्कर्षमा पुग्नुपर्ने भएकाले अनुसन्धान गरी निष्कर्षमा नपुगुन्जेलको अवधिभरका लागि यस शेयर खरीदबिक्री कारोबार सम्बन्धी कार्यलाई यथास्थितिमा राख्न (रोक्न) तथा यस विषयमा वास्तविकता तथा यथार्थता पहिचान गर्नका लागि ३० दिनभित्र कार्यसम्पादन गर्ने गरी तत्काल स्वतन्त्र अनुसन्धान गर्न गराउन समितिको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ।’
त्यस्तै, लेखा समितिले एनसेल खरीदबिक्रीका विषयमा ४८ घण्टाभित्र सत्यतथ्य जानकारी गराउन पनि सरकारलाई निर्देशन दिएको छ। ‘यस शेयर खरीदबिक्री सम्बन्धमा भएका कामहरूको विस्तृत विवरण र नेपालमा प्रत्यक्ष वैदेशिक लगानी जोखिमयुक्त रहेको भन्ने भनाइ सम्बन्धमा सरकारको धारण यथाशीघ्र (४८ घण्टाभित्र) सार्वजनिक गर्न समितिको यो बैठक नेपाल सरकारलाई निर्देशन गर्दछ,’ निर्णयमा भनिएको छ।
आजै बसेको संघीय संसद्को अर्थ समितिले पनि एनसेलको शेयर खरीदबिक्री प्रक्रियाका विषयमा यथार्थ जानकारी सहित विवरण १५ दिनभित्र पेश गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो। समितिले प्राधिकरणका अध्यक्षलाई छलफलका लागि बोलाएर जानकारी लिएको थियो।
प्राधिकरणसँगको छलफलपछि समितिले एनसेल खरीदबिक्रीको वास्तविकता सहितको सम्पूर्ण विवरण १५ दिनभित्र लिखित रूपमा पेश गर्न निर्देशन दिएको सभापति सन्तोष चालिसेले बताए। “आजको छलफलका क्रममा उठेका विषय र एनसेलको स्वामित्व खरीदबिक्रीका सन्दर्भमा विस्तृत अध्ययन सहित जानकारी पेश गर्न निर्देशन दिने निर्णय भएको छ,” सभापति चालिसेले भने।
समितिको बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियाटा लिमिटेडले शेयर खरीदबिक्री सम्बन्धी कागजात संकलनको क्रममा रहेकाले चाँडै त्यसबारे जानकारी उपलब्ध गराउने भनी पठाएको पत्र प्राप्त भएको जानकारी गराएका थिए। यो कारोबार शंकास्पद देखिएकाले प्राधिकरणले सूक्ष्म रूपमा अध्ययन थालिसकेको पनि अध्यक्ष खनालको भनाइ छ।
मलेशियन कम्पनी आजियाटा ग्रूप बर्हाडले गत मंसीर १५ मा एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेच्ने निर्णय गरेको थियो। त्यसयता यसको कानूनी प्रक्रियाको वैधता र आर्थिक पारदर्शितामाथि प्रश्न उठिरहेको छ। सार्वजनिकस्तरबाट विरोध भएपछि संसदीय समितिहरूले चासो देखाएका हुन्।
यो पनि पढ्नुहोस्: एनसेलका विषयमा भइरहेको विवाद के हो?