रूसी सेनाभित्र दबिएको नेपालीको गुहार
रूसी सेनामा ‘फसेका’ आफन्तको उद्धारका लागि परिवारले सिंहदरबार ढकढक्याएको उहिल्यै हो, सरकारले गुहार नसुनेकैले नेपाली युवा विदेशी भूमिमा बिलाउन विवश भए।
गाडीको कोलाहलबीच हिंडाइको सुरमा मोबाइल बजेको थाहै पाएनछु। दुई ‘मिस्ड कल’ आइसकेछन्। गत साउन १८ को दिउँसो म सुन्धारास्थित सिभिल मलमा ओपनहेइमर फिल्म हेरेर माइतीघरतिर लम्कँदै थिएँ। अनि त्यो ‘कल’ गरेका थिए, गोरखाका एक दाजुले। रूसी सेनामा गएको छोरो हप्तौं सम्पर्कविहीन भएपछि उनी केही समययता मेरो सम्पर्कमा आएका थिए। तत्काल ‘कलब्याक’ गरें।
“रसियाबाट फर्केका एक भाइ छन्, सर। अर्की बहिनीको दाइ सम्पर्कविहीन छन्। हामी चाबहिलमा भेट्दै छौं। मिल्छ भने आउनू न,” उनले एकै सासमा भने।
म घर पुगेर तुरुन्तै चाबहिलतिर हान्निएँ। केएल टावर नजिकै धेरै बेर पर्खिएपछि उनीहरू आइपुगे। सबै जनाको अनुहार अँध्यारो देखिन्थ्यो। सबैभन्दा हतास गोरखाकी बहिनी थिइन्। रूसी सेनामा भर्ना भएका उनका दाजु जेठ २४ देखि सम्पर्कमा रहेनछन्। दाजुले पठाएको अन्तिम ‘भोइस मेसेज’ उनीसँग थियो, “हामीलाई जंगलमा लाँदै छ। म बाखमुटबाट फर्केपछि फोन गर्छु।”
युक्रेनी भूमि हो बाखमुट जुन अहिले रूसले कब्जामा लिएको छ। त्यो भूमि फर्काउन युक्रेन नाटो सेना समेतको सहयोगमा प्रयासरत छ। ड्रोनबाट निरन्तर मिसाइल बर्सिरहन्छ। युद्ध टुंगिने छाँट छैन। यसकै लागि रूसले नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, कंगो, सुडान सहित देशका नागरिकलाई ‘भाडाका सैनिक’ बनाएको छ। ड्रोन मार्फत चलिरहेको लडाइँमा उनीहरू पर्याप्त तालीम विनै खटिंदै छन्।
नेपालीहरूले आफन्तलाई जानकारी गराए अनुसार रूसी सेना सुरक्षित घेरामा रहन्छ, भाडाका सैनिक चाहिं अग्रमोर्चामा पठाइन्छन्। ‘रेड जोन’ पुगेपछि परिवारसँग तिनको सम्पर्क टुट्छ। युक्रेनी सेनाले मोबाइल ‘सिग्नल’ बाट सूचना पाउला भनेर फोन बोक्न बन्देज लगाइएको छ। शिविर फर्किएपछि पनि परिवारलाई एक कल फोन गर्न कमान्डरको दया चाहिन्छ।
ती बहिनीका अनुसार दाजु दुब्लो-पातलो कदका थिए। देब्रे हात सानैमा दुई पटक भाँचिएको थियो। एक्लो छोरालाई रूसी सेनामा जान परिवारको कुनै जोडबल थिएन। मेडिकल ल्याब विषय अध्ययन गरेका उनले कोभिड-१९ महामारीका वेला टेकुस्थित सरकारी प्रयोगशालामा काम गरे। महामारी सकिएपछि करार सम्झौता पनि सकियो।
दुई वर्षअघि मात्र बिहे गरेका उनी रोजगार नपाएपछि रूस गएका हुन्। विद्यार्थी भिसा लगाएका उनको ध्यान चाहिं काम गर्ने नै थियो। त्यहाँ एउटा कारखानामा जागीर पाए तर समयमा पैसा पाएनन् । केही समय हिउँ सोहोर्ने, फूल पसलमा ‘प्याकिङ’ को काम पनि गरे। तापनि सोचे जस्तो भएन। यही तनावले हुन सक्छ, त्यसपछि उनी सेनामा गए।
युद्धमा थुप्रै रूसी सैनिकले ज्यान गुमाइसकेका थिए। घाइते भएका र जागीर छोडेर भाग्नेहरूको संख्या बढ्दो थियो। सैन्य अभाव पूर्ति गर्न राष्ट्रपति भ्लादिमिर पुटिनले त्यहाँ रहेका विदेशीलाई पनि सशस्त्र बलमा भर्नाको बाटो खोल्ने नयाँ कानून पारित गराएका थिए। उनीहरूलाई लोभ्याउन सरकारले सेनामा काम गरेको एक वर्षमै रूसी नागरिकता दिने र परिवार सदस्यलाई पनि स्थायी आवासीय सुविधा दिने घोषणा गरेको थियो।
रूसले आवेदन दिने जति सबैलाई भर्ना गर्यो। शर्त अनुसार उनीहरूलाई तीन महीनाको तालीम दिने र भर्ना भएको ६ महीनापछि बिदा दिने भनिएको थियो। तर भर्ना भएको महीनादिन नबित्दै बन्दूक भिराएर बाखमुट आसपास खटाइयो। कतिलाई त दुई साताको तालीमपछि नै युद्धमा पठाइएको थियो।
ती बहिनीलाई रूसबाट अन्य नेपालीले दाजु रूसी भूमिमै ढलेको सुनाएका थिए तर जीवित रहे/नरहेको किटान गर्न सकेका थिएनन्। नेपाल सरकारले त खोजखबरै गरेको थिएन। तापनि उनी आश गरिरहेकै थिइन्, “कतै अस्पतालमा पो हुनुहुन्छ कि?”
उनीहरूसँगै तराईका एक भाइ पनि चाबहिल आइपुगेका थिए। रूसमा उनीसँग एउटै होस्टेलमा बसेका ६ साथी सेनामा भर्ती भएका रहेछन्। चाहना उनको पनि रहेछ तर भाँचिएको हात अपरेशन गर्नुपर्ने भएकाले छुटेछन्। लडाइँमा खटिएका साथीहरू दिनहुँ फोन गर्दै भक्कानिन थालेपछि भने उनी खंग्रङ्ङ परे। उनले साथीहरूको भनाइ उद्धृत गरे अनुसार तिनलाई भाग्न खोजे वा पठाएको ठाउँमा नगए १० वर्ष जेल हाल्ने भनी तर्साइएको रहेछ।
रूसी भाषामा लेखिएको सम्झौतापत्रमा तिनले जेलको प्रावधान विचार नगरीकनै हस्ताक्षर गरेका रहेछन्। “साथीहरू जसरी हुन्छ हामीलाई निकाल् भनी दिनदिनै फोनमै रुन्थे,” उनले सुनाएका थिए, “उनीहरू कुनै सैनिक घाइते भएर छटपटाउँदा कसैले उद्धार नगर्ने गरेको बताउँथे। किनकि त्यही ठाउँमा अर्को मिसाइल खसाउन विपक्षी सेना तमतयार बसेको हुँदो रहेछ।”
केही पहल भइहाल्ला कि भनी उनले साथीहरूको सहित उनीहरूले टिपाएका केही नाम समेटेर मस्कोस्थित नेपाली दूतावासमा निवेदन समेत दिएका रहेछन्। तर त्यहाँका कर्मचारीले रूसी समकक्षीसँग कुरा राख्न एक वर्षसम्म लाग्ने लाचार अभिव्यक्ति दिएछन्। त्यहाँबाट काम नहुने देखेपछि उनी नेपाल आएका रहेछन्।
अब गोरखाका ती दाइकै कुरा गरौं। माओवादी द्वन्द्वका कारण नेपाली सेनाको जागीर छाडेका उनका छोरा पनि सेना नै बन्न चाहन्थे। बेलायती र भारतीय सेनामा भर्ती हुने तीन पटकको प्रयास विफल भएपछि विद्यार्थी भिसामा रूस गएका रहेछन्। अनि लडाइँ शुरू भएपछि त्यहाँको सेनामा पसेका रहेछन्। युद्धग्रस्त क्षेत्रमा खटाइएको छोरो सम्पर्कमा आउन छाडेपछि दाजु तनावमा थिए। अहिले आफू जस्तै पीडामा परेकाहरू जम्मा गर्दै आफन्तको उद्धारका लागि एकस्वरले सरकारलाई घचघच्याउने बाटो खोजिरहेका थिए।
त्यसैले उनीहरूले मलाई समाचार लेख्नभन्दा सरकारी मान्छे भेटाइदिन आग्रह गरे। मैले त्यहींबाट प्रधानमन्त्रीको सचिवालयमा रहेका रमेश मल्ललाई सम्पर्क गरें। तर उनले यो विषयमा परराष्ट्रतिर जानुपर्ने भन्दै त्यति चासो दिएनन्। त्यसपछि परराष्ट्रमन्त्री एनपी साउदलाई फोन गरें। उनले भोलिपल्ट बिहान ११ बजे सबैलाई मन्त्रालय लिएर आउन भने। मन्त्रीले नै बोलाएपछि सकारात्मक काम हुने आशा बोकेर उनीहरू फर्किए।
सिंहदरबार पस्न उनीहरूसँग सरकारी परिचयपत्र थिएन। त्यसैले भित्र चिनजान भएकालाई अनुरोध गरेर पासका लागि नाम टिपाउनुपर्थ्यो। मैले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा कार्यरत उपसचिव मीरा आचार्यलाई अनुरोध गरें। उनले नाम टिपाइदिने वचन दिइन्। भोलिपल्ट म भित्र गएर पर्खिबसें। साढे ११ बज्यो, उनीहरू आइपुगेनन्। बुझ्दा उनीहरूसँगै मुगुबाट आएका मल्ल थरका एक व्यक्ति पनि मिसिएका रहेछन्। रूसी सेनामा गएका उनका आफन्त पनि सम्पर्कविहीन रहेछन्।
अहिले उनलाई ‘हाफ पाइन्ट’ लगाएर आएको भन्दै सिंहदरबार छिर्न रोकिएको रहेछ। मान्छे गेटमै अड्किएको थाहा पाएपछि संघीय मन्त्रालयमा कार्यरत कार्यालय सहयोगी वर्षादीको सुरुवाल लिएर दक्षिणी प्रवेशद्वार पुगे। तर मल्ल दाइ भित्र पस्न पाइने आश मारेर पूर्वी प्रवेशद्वार पुगिसकेछन्। तिनलाई भेट्दा १२ बजिसकेको थियो। उनीहरू बल्लतल्ल परराष्ट्र मन्त्रालय आइपुगे।
भित्र पसेपछि पनि मन्त्रीको सचिवालयले यता र उता भन्दै दिक्क बनायो। परराष्ट्रमन्त्रीको कार्यकक्ष माछा बजार जस्तै अस्तव्यस्त थियो। वडा तहदेखि केन्द्रसम्मका नेता-कार्यकर्ता झुम्मिएका थिए। हरेक कोठामा हुल देखिन्थ्यो। कसको काम कति महत्त्वपूर्ण हो, सोध्ने फुर्सद कसैलाई थिएन।
कतै ठाउँ नपाएपछि तराईका ती भाइ भुइँमै थचक्क बसे। अनि व्यंग्य कसे, “यो पनि हामीले तिरेको करबाट किनेको कार्पेट हो दाइ, राम्रो रहेछ।” उनले यसो भनिरहँदा मेरो दिमागमा विदेशबाट भित्रिने रेमिटेन्स आयो। देशमा रोजगार नपाएपछि विदेश गई ज्यानको बाजी लगाएर पठाइने रेमिटेन्स कुल अर्थतन्त्रको एकचौथाइ छ। विडम्बना अर्थतन्त्र धानिदिने तिनै नागरिकलाई आपत् परेका वेला सिंहदरबार प्रवेश गर्न दिइँदैन।
मन्त्री नभेटिएपछि सचिवालयमा रहेका हरि ओडारीलाई भेट्न भनियो। उनले मस्कोस्थित दूतावासका सुशील घिमिरेलाई फोन गरेर नेपालीहरूले दिएको निवेदन किन नलिएको भनी सोधखोज गरे। उता घिमिरे फोनमै आफूले केही गर्न नसक्ने बताइरहेका थिए। त्यसपछि ओडारी ‘किन सीधै मन्त्रालय आएको, पहिला कन्सुलर विभाग जानु पर्दैन?’ भन्दै पीडितप्रति नै खनिए। उनीहरू त बाटो देखाइदिने मान्छे पाए जहाँ पनि जान तयार थिए। तर मन्त्रालयले नै यति बेवास्ता गरेको मुद्दालाई विभागले कति गम्भीर रूपमा लिंदो हो र?
मस्कोस्थित दूतावासले नै पीडितहरू आश्वस्त हुने गरी खोजतलासको काम गरिदिन्थ्यो, आफ्ना नागरिकलाई त्यसरी भर्ती गरेकामा नेपाल सरकारले रूसलाई प्रश्न गर्थ्यो त उनीहरू सास्ती खेपेर सिंहदरबार किन धाउँथे र? दूतावासका तिनै घिमिरेलाई मैले पनि केही महीनाअघि रूसी सेनामा नेपालीहरू भर्ती भएको भनी सामाजिक सञ्जालमा फोटो-भिडिओ आइरहेकोबारे जिज्ञासा राखेको थिएँ। उनी तिनमा सत्यता नरहेको भन्दै पन्छिएका थिए।
रूसमै बस्ने गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीसँग पनि बुझ्न खोजेको थिएँ। तर उनले आफूलाई सामाजिक सञ्जाल हेर्ने फुर्सद नभएको भन्दै विषयवस्तुको गाम्भीर्य बुझ्नै चाहेनन्। यस्तै रवैया यहाँ परराष्ट्रमन्त्रीको सचिवालयमा देखिंदै थियो। राज्यको जिम्मेवार निकायका सदस्यहरू ‘जानी-जानी अवैध रूपमा किन रूसी सेनामा गएको त?’ भनी आफन्तका घाउमा नुनचुक हाल्दै थिए। उनीहरूले तत्काल त जवाफ फर्काएनन्। त्यहाँबाट निस्किएपछि भने, “देशमै रोजगारी हुन्थ्यो त मरिने ठाउँमा को जान्थ्यो र?”
हुन पनि हो। नागरिकको रोजगारी शासकको प्राथमिकता हुन्थ्यो त इराकमा अल-कायदाबाट १२ जना नेपालीको घाँटी रेटिंदैनथ्यो। अफगानिस्तानमा तालिवानको आत्मघाती विस्फोटमा नेपाली सुरक्षाकर्मीको शरीर उड्दैनथ्यो।
अहिले पनि रूसबाट लडेका बर्दिया, राजापुरका विवेक खत्री युक्रेनी सेनाको कब्जामा छन्। पक्षाघातले पीडित आमाको उपचारका लागि मेनपावरलाई १० लाख रुपैयाँ बुझाएर गएका थिए उनी। परिवारले उनको सकुशल रिहाइको अनुरोध गरिरहेछ। तर सरकारले सुनेको छैन।
गोरखाकी ती बहिनीले केही सातापछि मुश्किलले मन्त्री भेटेर निवेदन दर्ता गरिन्। त्यसपछि पनि परराष्ट्रका कर्मचारीलाई ताकेता गरिरहिन्। भदौ पहिलो साता बल्ल दाजुको पत्तो लाग्यो तर कुनै आश बाँकी नरहने गरी। नेपालस्थित रूसी दूतावासले उनका दाजु बाखमुटमा २८ जूनमा मारिएको विवरण पठायो। उनले बिलौना गरिन्, “अब मेरो त सबथोक सकियो।”
अहिले पनि काठमाडौंका म्यानपावर कम्पनीले लाखौं रकम असुलेर युवालाई पर्यटन भिसामा रूस पठाइरहेको गाइँगुइँ छ। अझ डरलाग्दो त खाडी मुलुक पुगेका कामदार पनि रूसी सेनामा भर्ना हुन गइरहेको खबर आइरहेछन्। सरकारले हालै रूसलाई नेपालीलाई भर्ती नगर्न, भर्ती भएकालाई फिर्ता पठाइदिन र क्षतिपूर्ति दिन भनेको छ। लुकिछिपी नेपालीलाई रूसी सेनामा पठाउने गिरोहलाई पक्राउ गरेको छ। तर यो काम त्यति वेला बल्ल भएको छ, जति वेला ६ जना नेपालीले ज्यान गुमाइसकेका छन्।