‘अर्काकी मान्छे’
साढे तीन दशकदेखि सामाजिक न्यायका क्षेत्रमा क्रियाशील विना सिलवाल सबै क्षेत्रमा महिलाको अर्थपूर्ण उपस्थितिका लागि छोरीलाई अंश र वंशमा समान अधिकार हुनुपर्ने बताउँछिन्।
आमनिर्वाचन २०७९ को चुनावी प्रचारका क्रममा गण्डकी प्रदेशका नेताहरू खगराज अधिकारी, सुरेन्द्र पाण्डे, महादेव गुरुङ र हरिबहादुर चुमान एकै मञ्चमा थिए। दर्शकदीर्घाबाट प्रश्न लिने क्रममा एक जनाले सोधेको प्रश्नले नेताहरू अकमकिए भने सामाजिक सञ्जालमा प्रशंसा भयो।
त्यो प्रश्न थियो, ‘संविधानमा ३३ प्रतिशत महिलाका लागि भनेर लेख्नुभयो, ५१ प्रतिशत लेख्नुभएन, हामीले खोजेनौं। तर त्यही ३३ प्रतिशत ल्याउन पनि केले रोक्यो? तपाईंहरूको पार्टीमा महिला थिएनन् भनेको भए हामीले ल्याइदिन्थ्यौं नि! अनि फेरि तपाईंहरू समानताको र अधिकारको कुरा गर्दै हाम्रो अघि आउँदै हुनुहुन्छ। अलिकति पनि अप्ठ्यारो लाग्दैन?’
त्यो प्रश्न सोध्ने व्यक्ति थिइन्, महिला, बालबालिका अधिकारको क्षेत्रमा पोखरामा परिचित नाम विना सिलवाल। पोखरा र आसपासका क्षेत्रमा महिलामाथि भएका हिंसाका घटनामा पीडितको सहयोगी बनेर उभिन्छिन्, सिलवाल। हिंसापीडित महिलाको आकस्मिक उद्धारदेखि न्यायिक प्रक्रियामा उनले वकालत गर्दै आएकी छन्।
अधिकारकर्मी सिलवालको प्रमुख नारा नै छ, महिलाले अंश र वंशमाथि समान अधिकार पाउनुपर्छ। त्यसका लागि उनले पैरवी गर्दै आएकी पनि छन्। “अब महिलाको अंश र वंशमाथिको अधिकार पाउनुपर्छ। संविधानले छोराछोरी समान हुन्, लिंगका आधारमा विभेद गर्न पाइँदैन भनेको छ,” उनी प्रश्न गर्छिन्, “अनि महिलालाई अंश र वंशबाट नै किन वञ्चित गर्ने?”
जसरी छोराले आमाबुबाको अंश पाउँछन्, त्यसैगरी छोरीले पनि अंश पाउनुपर्ने उनको मत छ। त्यस्तै, जसरी बुबाले छोराछोरीलाई सजिलै आफ्नो नामले नागरिकता दिलाउन सक्छन्, त्यसैगरी आमाले पनि छोराछोरीलाई आफ्नो नामबाट नागरिकता दिलाउन सक्ने व्यवस्था हुनुपर्ने उनको भनाइ छ। अनि मात्रै छोरीलाई अघि बढ्न सजिलो हुने उनी बताउँछिन्।
सिलवाल ३७ वर्षदेखि विभिन्न गैरसरकारी संघसंस्थामा आबद्ध भएर सामाजिक क्षेत्रमा क्रियाशील छन्। २२ वर्षदेखि कोपिला नेपाल संस्थाकी कार्यकारी निर्देशकका रूपमा काम गर्दै आएकी छन्। यो संस्थाले महिला, बालबालिकासँगै अपांगता भएका व्यक्तिको सशक्तिकरण र हकअधिकारका लागि पैरवी गर्दै आएको छ।
सामाजिक न्यायको अंकुरण
धादिङको बेनिघाटमा मध्यमवर्गीय किसान परिवारमा जन्मिएकी उनी नौ सन्तानमध्ये कान्छी थिइन्। आमाले ४५ वर्षको उमेरमा उनलाई जन्म दिएकी थिइन्। आफू हुर्किएको परिवेशले उनमा सामाजिक न्यायको चेत अंकुरण गरायो।
चार वर्षकै उमेरमा भएको जेठी दिदीको विवाहबारे सुन्दै आएकी थिइन्। त्यसले पनि उनलाई पिरोल्थ्यो।
गाउँ नजिकैका चेपाङ बस्तीका आमाहरू डोकाडालो बेच्न घरमा आएको परिवेश उनको मस्तिष्कमा ताजै छ। “म चार वर्ष जतिकी थिएँ, सबैलाई घरको मकै र मोही दियौं। झ्यापी आमैले चपाउन सक्नुभएन रे!” झ्यापी चेपाङले गरेको माया अझै पनि स्मरण गर्दै उनी भन्छिन्, “मलाई ठ्याक्कै याद छैन। आमा भन्नुहुन्थ्यो- मैले चुलोमा राखेको पुवा ल्याएर झ्यापी आमैलाई दिएँ रे!”
त्यसपछि झ्यापीले गरेको माया भने उनलाई याद छ। झ्यापी आमैले आशिष दिंदै भनेकी थिइन् रे- मलमल फलफल लाउन पाएस्, पैतालामा धूलो नलाएस्! झ्यापी आमैको अनुहार याद नभए पनि उनले काखमा लिएर गरेको माया भने सम्झिन्छन्।
घरमा आमाबुबाले नै सबै छोराछोरीलाई पढ्न जोड दिए। त्यसको पनि एउटा कारण छ। बुबा गगनकान्तले आफन्तलाई एक हजार रुपैयाँ ऋण दिए। एक वर्षपछि ‘सय रुपैयाँ मात्रै हो’ भन्दै आफन्तले जिद्दी गरे। अक्षर नचिन्दा हप्की खाएपछि गगनकान्तमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतना जागृत भयो।
घरका दाजु मात्रै होइनन्, भाउजू र छोरी धादिङबाट हिंडेरै काठमाडौं पुगेर पढेको स्मरण छ उनीसँग। घर र सामाजिक परिवेशले उनलाई सधैं पढ्न र अरूलाई सहयोग गर्न सिकायो। बुबाले त नाम नै राखिदिए, ‘अर्काकी मान्छे’ अर्थात घरपरिवारलाई भन्दा अरूलाई सघाउने।
समान अधिकार, अर्थपूर्ण उपस्थिति
उनी १२ वर्षकी हुँदा उनको परिवार धादिङबाट चितवनको भण्डारामा बसाइँ सर्यो। चितवनमा एसएलसी दिने बित्तिकै उनले विवाह गरिन्, आफैंले मन पराएको मान्छे प्रकाशराज वाग्लेसँग। बिहेपश्चात् दुवै जना काठमाडौं गए। दुवैले पढ्दै काम गर्न थाले। प्रकाशराज पनि गैरसरकारी क्षेत्रमा नै आबद्ध छन्।
उनी भने घरभन्दा बढी फिल्डमा खटिन्थिन्। यसमा उनलाई साथ दिए प्रकाशराजले। दुई छोरीकी आमा सिलवाल कान्छी छोरी जन्मिनुभन्दा तीन दिनअघिसम्म फिल्डमै खटिएर काम गरेको सम्झिन्छिन्। “डेलिभरीका लागि अब जाने भनेपछि तीन दिन अघिसम्म फिल्डको काम सकेर फर्किएँ। आफ्ना सबै काम सकेपछि बल्ल अस्पताल गएर बच्चा भयो,” उनी भन्छिन्।
उनी आफूलाई ‘दुःख पाउने भाग्यमानी महिला’ भन्न रुचाउँछिन्। धेरै दुःख पाइन् तर उनले पाएका अवसर पनि थोरै महिलाले मात्रै पाएका छन्। “मलाई यो गर या नगर भन्ने कोही भएन। मैले गर्ने काममा रोकटोक भएन,” सिलवाल भन्छिन्।
नेपालका विकट गाउँ पुगिन्, महिलाका समस्या सुनिन्, सीप सिकाइन्। दुई-तीन दशकअघि घर बाहिर काम गर्ने महिला कमै हुन्थे। सरकारी कार्यालय, प्रहरी, पत्रकार, निजी संस्थामा पनि महिला निकै कम थिए। “१७ पुरुष कर्मचारी, म एक्ली महिला थिएँ काम गर्ने,” उनी हाँस्दै भन्छिन्, “अहिले त जुनसुकै क्षेत्रमा पनि महिलाको संख्या बढेको छ। साहसिक महिला भेटिन्छिन्।”
सबै क्षेत्रमा महिलाको उपस्थिति बढ्दै आएको देखेर उनी सकारात्मक पनि छिन्। “राजनीतिमा पनि महिला आएका छन्,” उनी भन्छिन्, “अवसर पाएका छैनन् तर पनि महिलाको उपस्थिति त छ।” सबै क्षेत्रमा समान अधिकार सुनिश्चित हुँदा मात्र महिलाको अर्थपूर्ण उपस्थिति हुने उनको तर्क छ।
न्यायले मिल्ने ऊर्जा
उनको काम देखेर कतिपय मान्छे कार्यालयमै भेट्न आउँछन् भने कतिपयले फोन मार्फत सम्पर्क गर्छन्। तीमध्ये कतिपय न्याय माग्न आएका हुन्छन् भने कतिपय न्यायका लागि सहयोग गरेको भन्दै धम्की दिन समेत आउँछन्। तर उनी डगमगाएकी छैनन्।
धम्कीसँग त उनी डराउँदिनन्, खिन्न भने हुन्छिन्। महिलाका लागि बनेका कानून बलियो हुँदाहुँदै पनि हिंसा पीडकलाई नै बचाउन समाज लागिपरेको देख्दा दुःख लाग्ने गरेको उनी सुनाउँछिन्।
जति धम्की आउँछ, उति नै उनी महिला हिंसा विरुद्धको आवाज सशक्त बनाउँछिन्। हिंसामा परेका महिलाले न्याय पाउँदा सामाजिक न्यायमा वकालत गर्न प्रेरणा मिल्छ, उनलाई। आफूले सकुन्जेल सामाजिक न्यायका लागि लडिराख्ने बताउँदै सिलवाल भन्छिन्, “हिंसाबाट पीडित छोरीहरूले न्याय पाएको क्षणले ऊर्जा दिन्छ।” यही ऊर्जाले उनलाई सामाजिक न्यायका क्षेत्रमा ३५ वर्षदेखि बाँधिराखेको छ।